बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा

सोमबार, ०२ असार २०८२, ०६ : ५४
सोमबार, ०२ असार २०८२

सारांश

  • पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले फिफा क्लब विश्वकपमा एट्लेटिको म्याड्रिडलाई ४-० ले पराजित गर्यो।
  • खेलमा फाबियन रुइज, विटिन्हा, सेन्नी मायुलु र ली काङ-इनले गोल गरे भने एट्लेटिकोका क्लेमेंट लेंग्लेट दोस्रो पहेँलो कार्ड पाएर बाहिरिए।
  • पीएसजीले अब ब्राजिलियन क्लब बोताफोगोसँग खेल्नेछ भने एट्लेटिको म्याड्रिडले सिएटल साउन्डर्ससँग प्रतिस्पर्धा गर्नेछ।

पासाडिना । च्याम्पियन्स लिगको ऐतिहासिक जितपछि फिफा क्लब विश्वकपमा आफ्नो पहिलो जित दर्ता गर्दै पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले एट्लेटिको म्याड्रिडलाई ४–० ले पराजित गरेको छ।

पासाडिनाको रोज बाउल रंगशालामा सम्पन्न खेलमा लुइस एनरिकको टोलीले स्पेनिश क्लबलाई पुरै खेलभरि दबाबमा राख्यो। खेलको १९औँ मिनेटमा फाबियन रुइजले एट्लेटिकोका गोलकिपर जान ओब्लाकलाई दूरीबाट जबरजस्त प्रहार गरेर छल्याउँदै गोल गरेर खाता खोल्न सफल भए। पहिलो हाफको इन्जुरी समयमा विटिन्हाले काउन्टर अट्याकमा गोल गर्दै अग्रता दोब्बर बनाए। 

दोस्रो हाफको सुरुवातमै ख्विचा ख्वारात्सखेलियाले दिएको शक्तिशाली प्रहारलाई ओब्लाकले उत्कृष्ट बचाउ गर्दै स्कोर थपिन दिएनन्। त्यसपछि एट्लेटिकोले खेलमा फर्कने प्रयास गरेको थियो। 

जुलियन आल्भारेजले गरेको गोलले आशा जगाएको थियो, तर कोकेले डेजिरे डुएलाई लडाएको ठहर गर्दै रेफ्रीले त्यो गोल रद्द गरिदिए। त्यसपछि खेलको ७०औँ मिनेटतिर क्लेमेंट लेंग्लेटले धेरै बोलेर दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिए, जसले एट्लेटिकोको आशामा ठूलो धक्का पुग्यो।

खेलको अन्त्यतिर पीएसजी अझ बलियो देखियो। एट्लेटिकोले डिफेन्स क्लियर गर्न नसकेपछि सेन्नी मायुलुले मौका सदुपयोग गर्दै गोल गरे। त्यसपछि ली काङ-इनले पेनाल्टीमार्फत चौथो गोल गर्दै खेललाई ४–० मा समाप्त गरे।

अब पीएसजीले शुक्रबार ब्राजिलियन क्लब बोताफोगोसँग भिड्नेछ र लगातार दोस्रो जितको लक्ष्य राख्नेछ। त्यही दिन एट्लेटिको म्याड्रिडले सिएटल साउन्डर्ससँग खेल्नेछ, जहाँ जित मात्रले उनीहरूलाई नकआउट चरणमा पुग्ने आशा जीवित राख्न सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप