माओवादी बैठक : नेतृत्वको आलोचना हुँदैन भन्नेलाई जवाफ
प्रज्ञाभवन कमलादीमा नेकपा (माओवादी केन्द्र) को चौथो पूर्ण बैठक भव्यतापूर्वक सम्पन्न भइसकेको छ । केन्द्रीय समिति तथा आयोगका पदाधिकारी र सदस्यसहित झन्डै सात सयको उपस्थिति रहेको बैठक नेपाली राजनीतिको एउटा नयाँ स्पष्ट मार्गचित्र कोर्दै सम्पन्न भएको छ । हरेक बैठकका आफ्नै अर्थ र महत्त्व हुन्छन् । यसपटकको बैठकलाई विगतका बैठकको निरन्तरताभन्दा भिन्न अर्थ र महत्त्व बोकेको बैठकको रूपमा लिनुपर्छ ।
अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र त्यसमाथिको व्यापक बहस र छलफलसहित सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको छ । पार्टीको आगामी कार्ययोजना साथै कार्यविभाजन स्पष्ट रूपमा बैठकले पारित गरेको छ ।
आजको भू–राजनीतिक अवस्था, माओवादी आन्दोलनको स्थिति, नेपालको कम्युनिस्ट आन्दोलन र सरकारको नेतृत्व गरिरहेको विशिष्ट परिस्थितिमा सम्पन्न यो बैठकले लिएका निर्णय बहुआयामिक ढंगले हेरिनुपर्छ ।
नेपाली राजनीतिमा शान्ति प्रक्रिया थालनी, संविधान लेखन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, सामाजिक न्याय र रूपान्तरण साथै विकास र समृद्धिको अभियानमा अविच्छिन्न निर्णायक भूमिका माओवादी पार्टी र नेतृत्वको रहेको कुरा स्पष्टै छ । माओवादी आन्दोलनमा देखापरेको टुटफुट र विभाजनले सांगठनिक रूपमा कमजोर बन्दै गएको अर्को यथार्थ पनि हाम्रासामु छ नै । सांगठनिक रूपले माओवादी पाटी क्षयीकरणको यो नै अन्तिम बिन्दु हो । यही अवस्थाबाट उठेर फेरि माओवादी पार्टीले नेपाली राजनीतिमा एउटा नयाँ र विशाल आकार ग्रहण गर्ने विश्वास यो बैठकमा पैदा भएको छ ।
पार्टी र नेतृत्वले पटकपटक भन्दै आएको र निरन्तर भनिरहनुपर्ने सवाल भनेको विचार र राजनीति नै हो । मार्क्सवाद–लेनिनवाद–माओवाद हाम्रो सैद्धान्तिक मार्गदर्शन हो । मार्क्सवाद आफैँमा एउटा सरल विज्ञान हो । यो विज्ञानलाई हरेक कम्युनिस्टले आफ्नो समकालीन विश्व परिस्थिति, आन्तरिक अवस्था र आफ्नो सामर्थ्यको विचार गरेर प्रयोग गर्छन् । मूलतः यो श्रमजीवी वर्गलाई सत्तामा पुर्याउने र सोही वर्गको सेवा गर्ने एउटा स्पष्ट विचार हो ।
यो विचारलाई बुझ्ने र लागू गर्ने सवालमा दुईथरी अति देखापरेको छ । आफूलाई कम्युनिस्ट भन्ने एकथरीले मार्क्स, लेनिन र माओले जे गरेका थिए, ठिक त्यही र त्यस्तै गर्नुपर्छ भन्दै सिद्धान्तको कुरा गरेर बसेका छन् । अर्काथरी कम्युनिस्ट कस्ता छन् भने सिद्धान्तमा जे भने पनि व्यवहारमा त्यो कुरा सम्भव छैन भन्दै बिचौलियाको भूमिकामा पुगेर वर्ग समन्वयको बाटो अँगालिरहेका छन् । यस्ता गलत मान्यता विपरीत माओवादी पार्टी आजको विश्व–परिवेश, सूचना प्रविधिमा भएको अभूतपूर्व प्रगति, भूमण्डलीकरण, जलवायु परिवर्तन र त्यसले उत्पन्न गरेको परिस्थिति सबैलाई हेरेर ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ भन्ने स्पष्ट मार्गचित्रका साथ अघि बढिरहेको छ ।
विचारधारासँगै जोडिएको अर्को पाटो नेतृत्वको प्रश्न हो । विरोधीले व्यापक रूपमा भन्ने गरेका र पार्टीभित्र पनि यदाकदा उठ्ने गरेको प्रश्न हो, कमरेड प्रचण्डको अविच्छिन्न नेतृत्व । यसमा यो बैठकले अझ बढी जोड दिएर छलफल गर्यो र उचित निष्कर्षमा पुग्ने कार्य गर्यो । नेपालमा सशस्त्र संघर्ष र क्रान्तिको कुरा केवल कल्पना मात्रै हो भन्ने परिस्थितिमा प्रचण्ड नेतृत्व विकास भएको थियो । यो समस्याको हल गरेसँगै नेपाली राजनीतिमा कमरेड प्रचण्ड एउटा भिन्न नेतृत्वको रूपमा स्थापित भएको तथ्य भेटिन्छ ।
बैठकको अर्को सबल पक्ष भनेको जीवन्त आलोचना हो । माओवादी पार्टीमा नेतृत्वको आलोचना हुँदैन भन्नेहरूका लागि यो बैठकले एउटा गतिलो जवाफ दिएको छ । बैठकमा उठेका आलोचनात्मक प्रश्न मिडियामा व्यापक रूपमा आएका पनि छन् ।
जहाँ असम्भव भनिन्छ, जहाँ चुनौती ठानिन्छ, जहाँनिर अन्यौलता देखिन्छ, जुन बिन्दुबाट अकर्मण्यता महसुस गरिन्छ, ठिक त्यही ठाउँमा देखापर्छ, प्रचण्ड नेतृत्व । यसर्थ नेपाली राजनीति र विशेषगरी माओवादी पार्टीमा कमरेड प्रचण्ड एउटा गतिशील नेतृत्वको रूपमा स्वीकार गरिएको छ । पार्टीभित्र मात्रै होइन, नेपालमा क्रियाशील सबै पार्टी र अन्तर्राष्ट्रिय जगत्ले पनि चिनेको, पत्याएको र विश्वास गरेको नेता कमरेड प्रचण्ड नै हो । यसर्थ माओवादी पार्टीले सगर्व प्रचण्ड नेतृत्व अविच्छिन्न रूपमा स्थापित गरेको छ । प्रचण्ड नेतृत्वमा एउटा कमजोरी थियो, उत्तराधिकारी निर्माणको । यो बैठकले उत्तराधिकारी निर्माण र नेतृत्व निर्माणसम्बन्धी परम्परागत माओवादी अभ्यासलाई तोड्ने निर्णय गरेको छ । अब कार्यकर्ताबाट निर्वाचित नेतृत्व र जनताबाट अनुमोदित नेता भएको पार्टीको रूपमा माओवादी पार्टी अघि बढ्नेछ ।
बैठकको अर्को सबल पक्ष भनेको जीवन्त आलोचना हो । माओवादी पार्टीमा नेतृत्वको आलोचना हुँदैन भन्नेहरूका लागि यो बैठकले एउटा गतिलो जवाफ दिएको छ । बैठकमा उठेका आलोचनात्मक प्रश्न मिडियामा व्यापक रूपमा आएका पनि छन् । ती सबै सत्य त होइनन्, तर त्योभन्दा भिन्न तरिकाले पार्टीलाई रूपान्तरणको उद्देश्यसहित पार्टीको विचार नीति, नेतृत्व र कार्यशैलीप्रति गम्भीर आलोचनात्मक विषय उठान भएका थिए ।
विचारमा स्पष्ट नभएको, कार्यदिशा स्पष्ट नभएर अल्झिरहेको, पार्टीभित्र नातावाद हाबी भएको, विभेदकारी व्यवहार भएको, महिला र दलितका एजेन्डा उचित ढंगले सम्बोधन नभएको, मधेसमा देखिएका समस्या समाधान गर्न गम्भीरताका साथ पहल नगरिएको, पार्टीभित्र गुटउपगुट मौलाएकाजस्ता थुप्रै आलोचना भएका थिए । सँगसँगै पार्टी नेतृत्वले लिएको राजनीतिक पहलकदमी, सरकारमार्फत गरिएका सुशासन, विकास र समृद्धिका सकारात्मक कार्यको खुलेर प्रशंसा भएको थियो । भ्रष्टाचारविरोधी अभियान अझै तीव्रताका साथ अगाडि बढाउन सुझाव दिएको थियो ।
बैठकले सिङ्गो पार्टीलाई एउटै विचार, एउटै नेतृत्व र एउटै लयमा हिँडाउने गरी अभियानको कार्यक्रम तय गरेको छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ नामक अभियानमार्फत सम्पूर्ण नेता कार्यकर्तालाई जनताको घरघरमा पुगेर पार्टीप्रति नयाँ आशा, भरोसा र विश्वास जगाउन कोसिस गरिने भएको छ । पार्टी नेता तथा कार्यकर्ताबाट भएका कमी–कमजोरीको आत्मालोचना गर्दै र देशको विकास र समृद्धिका लागि पार्टीले खेलेको भूमिका स्पष्ट गर्दै जनतालाई रूपान्तरित माओवादी पार्टी संगठनमा गोलबन्द हुन अपिल गरिनेछ ।
पार्टीले लिएको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’सम्बन्धी कार्यदिशाबारे आमजनतालाई प्रशिक्षित गरिनेछ । सरकारले गरेका सकारात्मक कामको आवश्यक व्याख्यासहित आमजनतालाई नयाँ नीतिका बारेमा समेत प्रशिक्षित गरिनेछ । यसले माओवादी पार्टीलाई स्पष्ट विचारका साथ बलियो सांगठनिक जग बसाल्न मद्दत गर्नेछ । माओवादी पार्टीलाई कमजोर पार्न गरिएका सबै खाले भ्रम र दुष्प्रचारको खेती सखाप पार्ने लक्ष्य राखिएको छ ।
जहाँ असम्भव भनिन्छ, जहाँ चुनौती ठानिन्छ, जहाँनिर अन्यौलता देखिन्छ, जुन बिन्दुबाट अकर्मण्यता महसुस गरिन्छ, ठिक त्यही ठाउँमा देखापर्छ, प्रचण्ड नेतृत्व । यसर्थ नेपाली राजनीति र विशेषगरी माओवादी पार्टीमा कमरेड प्रचण्ड एउटा गतिशील नेतृत्वको रूपमा स्वीकार गरिएको छ ।
माओवादी पार्टीलाई हेर्ने परम्परागत दृष्टिकोण र बुझाइ स्वयं माओवादीले नै बदल्नका लागि प्रयत्न गर्नुपर्छ । समाजवाद स्थापना गर्ने नेपाली बाटो नै माओवादी पार्टीले अँगाल्नुपर्छ । यो बाटो भनेको रुस, चीन, क्युबा, भियतनाम, उत्तरकोरियाको जस्तो होइन । समाजवादी विचारधारा बोकेका नेपालका सबै कम्युनिस्टलाई गोलबन्द गर्दै अघि बढ्ने बाटो हो । शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो हो । सुशासन, विकास र समृद्धिको मार्गमा आम जनताको साथमा अघि बढ्ने बाटो हो । शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी साथै मानव अधिकारका विश्वव्यापी मान्यतालाई अंगीकार गर्ने बाटो हो । उत्पीडित जाति, क्षेत्र, लिंग र समुदायका समस्या अन्त्य गर्नका लागि निरन्तर पहलकदमी लिने बाटो हो । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका साथ भारत चीन र नेपाललाई सँगसँगै अघि बढाउने त्रिदेशीय साझेदारीको बाटो हो । अब अल्झनुपर्ने, अलमलिनुपर्ने, झुक्किनुपर्ने कुनै ठाउँ छैन । समाजवादको नेपाली बाटोमा जनताको समृद्धिको सपना साकार पार्ने उद्घोषका साथ अघि बढ्ने नीति यो बैठकले थप परिष्कृत गरेको छ ।
माओवादी पार्टीको इतिहास निकै उतार–चढावपूर्ण छ । नेपालमा कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनले छिन्नभिन्न भएको अवस्थामा एउटा सानो पार्टी र नेतृत्वले जोखिम उठाएर जनयुद्धको सुरुवात गरेको थियो । जनयुद्धका दौरान पनि पार्टी संगठन बेलाबेला कमजोर र बलियो हुने गरेकै थियो । शान्ति प्रक्रिया, संविधान लेखन र संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक, समावेशी लगायत उपलब्धिसहित समाजवादका आधार तयार गर्ने यात्रा तय गर्दै गर्दा यसपटक पनि पार्टी संगठन कमजोर बन्न पुगेको हो ।
पार्टीको मूल वैचारिक राजनीतिक कार्यले पूर्णता पाउन नसक्दा यो परिस्थिति निर्माण भएको हो, तर गत वर्ष सम्पन्न आठौँ महाधिवेशन र यो चौथो बैठकसम्म आउँदा विचार, राजनीति र कार्यदिशाले मूर्त रूप लिँदै आएको छ । यसले गर्दा अब संगठनले थप गति लिने निश्चित छ । यो बैठक केवल माओवादी पार्टीलाई रूपान्तरित गर्ने, संगठित गर्ने र विस्तार गर्ने मात्र नभएर सिङ्गो देशलाई विकास सुशासन र समृद्धिको यात्रामा अघि बढाउन एउटा कोसेढुङ्गा साबित हुने देखिन्छ । सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षले नेतृत्व गरेको सरकार र पार्टीको एकीकृत र सन्तुलित परिचालनले देशलाई आत्मनिर्भर अर्थतन्त्रको विकाससहित सामाजिक रूपान्तरणको लक्ष्य हासिल गर्दै समाजवादको आधार तयार गर्ने संविधानको मर्मलाई दरोसँग आत्मसात् गर्ने र व्यवहारमा परिणत गर्ने विश्वास गर्न सकिन्छ ।