बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला

शुक्रबार, २६ साउन २०८०, २३ : ००
शुक्रबार, २६ साउन २०८०

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा आज अजिङ्गर फेला परेको छ । करिब २२ केजी तौल भएको अजिङ्गर त्रिशूली नदी किनार नजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए ।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका  फिस्लिङ जोड्ने नयाँ बनेको पक्की पुल नजिकै गोरखातर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको उनले जानकारी दिए ।
“तीनवटा घिस्रने जनावरमध्येमा उद्धार गरिएको अजिङ्गर (पाइथन) एउटा हो”, वनअधिकृत गोपालीले भने, “यो संरक्षित जनावर अन्तर्गत पर्दछ ।” कच्ची सडक नजिकै खसेको पहिरोमा उक्त अजिङ्गर भेटिएको वन अधिकृत गोपालीले बताए ।
“स्थानीयवासीले जानकारी दिएपछि वडाध्यक्ष तुलबहादुर गुरुङले हामीलाई अजिङ्गर  भेटिएको भनेर कार्यालयमा खबर गर्नुभयो”, वन अधिकृत गोपालीले भने, “कार्यालयबाट तत्काल कर्मचारी गएर अजिङ्गरको उद्धार गरिएको हो ।”

उनले फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको बताए । उद्धार गरिएको अजिङ्गरलाई अहिले सबडिभिजन वन कार्यालयमा राखिने र कहाँ छोड्ने भन्ने बारेमा शनिबार मात्र टुङ्गो लाग्ने उनको भनाइ छ ।

“सोही स्थानमा छोड्ने कि चितवनमा लगेर राख्ने भन्ने बारेको निष्कर्षमा पुगिसेकका छैनौँ”, उनले भने, “भेटिएको अजिङ्गरको बासस्थानको क्षेत्र ठूलो रहने गरेको फेला पारिएको क्षेत्रमा पनि यसको बासस्थान हुन सक्छ ।”

वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेको अजिङ्गरको उद्धार गरेका हुन् । स्थानीयवासीले पहिलो पटक त्यस क्षेत्रमा अजिङ्गर फेला परेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप