सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

नव अभिनेत्रीलाई दर्जन प्रश्न

‘कर्माको त बिहे भइसक्यो, तर पनि अवसर मिल्यो भने उहाँसँगै डेट जान्छु’
शनिबार, २७ साउन २०८०, १६ : ३६
शनिबार, २७ साउन २०८०

फिल्म ‘जुलेबी’की अभिनेत्री हुन् मोनिका थापा । उनले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । एन्थोलोजी जनरामा निर्माण भएको फिल्ममा ४ महिला पात्रको मुख्य भूमिका छ । ती मध्यकी एक हुन् उनी । फिल्म भदौ १ गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा अहिले उनको चर्चा र व्यस्तता दुवै बढेको छ ।

केही सट फिल्म र विज्ञापन अभिनय अनुभवसहित फिल्ममा होमिएकी थापा ‘जुलेबी’ले आफूलाई अभिनयमा स्थापित गर्नेमा ढुक्क छिन् । अस्कर कलेजमा फिल्म अध्ययनसहित अभिनयमा होमिएकी थापाको पेन्टिङ र गायनमा समेत रुचि छ । सफल र भर्सटायल अभिनेत्री बन्ने लक्ष्य लिएकी थापालाई रातोपाटीकर्मीको एक दर्जन प्रश्नः

monika thapa (11)

डेब्यु फिल्म ‘जुलेबी’ रिलिज हुँदैछ । प्रचारको चटारो कति छ ?

–प्रचार प्रसारको दौडधुप एकदमै धेरै छ । किनकि मेरो यो डेब्यु फिल्म हो । फिल्म क्षेत्रका लागि म र मेरो लागि यो क्षेत्र नयाँ भयो । आफ्नो अभिनय सबैले हेरुन् भनेर सबैलाई फिल्मको जानकारी दिन मिहिनेत गरिरहेकी छु ।

फिल्म रिलिज मिति नजिकिँदै गर्दा डर, खुसी के लाग्दो रहेछ ?

–फिल्म रिलिज हुने विषयले एकदमै एक्साइटेड छु, निकै नर्भस पनि । पहिलो फिल्म, दर्शकले आफ्नो अभिनयलाई कसरी लिने हुन् । के भन्ने हुन् भन्ने छ । राम्रो हुन्छ, सबैले मन पराउँछन् भन्ने आस लिएकी छु । ट्रेलर र गीतको प्रतिक्रिया पनि राम्रो आएकोले फिल्मप्रति उत्साहित छु ।

फिल्ममा तपाईंलाई कस्तो भूमिकामा देख्न सकिन्छ ?

– मैले तृष्णा भन्ने केटीको भूमिका निर्वाह गरेकी छु । टिनएज केटीमा हुने चुलबुले बानी, प्रेमको तिर्खा लगायतको विषय मेरो पात्रले झल्काउँछ ।

अभिनय अनुभव कस्तो रह्यो ?

–अनुभव एकदमै सम्झनयोग्य र रमाइलो रह्यो । फिल्ममा काम गर्दै गर्दा निर्देशकले गाली गर्ने हुन् कि, अभिनय गर्न नसक्ने हो कि, सिनियरले हेप्ने हुन् कि भन्ने विभिन्न चिन्ता र डर थियो । 

निर्देशक गणेशदेव दाइले एकदमै सहज रूपमा काम गराउनु भयो । सबै अनुभवी कलाकारले धेरै राम्रो ब्यवहार गर्नुभयो । उहाँहरुसँग काम गर्ने इनर्जी धेरै थियो । उहाँलाई देखेर मलाई पनि काम गर्न हौसला मिल्यो ।

अभिनयमा रहर सानैदेखि नै थियो ?

– मेरो बुबाआमाको जापानमा हुनुहुन्छ । म एचएम (होटल म्यानेजमेन्ट)की विद्यार्थी हुँ । एचएमको अनुभव पनि लिन्छु, त्यहीबाट अस्ट्रेलियाको लागि प्रयास गर्छु भनेर जापान गएकी थिए । त्यहाँ रेस्टुरेन्टमा काम गर्ने क्रममा गेष्ट, वेटर  लगायतले मोडलिङ गर्न सुझाए ।

कतिपयले तपाईं मोडल हो भन्दै आफ्नो ब्राण्डका लागि फोटो सुट गर्न बोलाउन थाले । त्यसले मेरो पनि अभिनयमा मोह पलायो । 

भारत गएर अभिनयका लागि संघर्ष गर्छु भन्ने सोच थियो । दाइले जे गर्नुपर्छ, नेपालमै गर्नुपर्छ भनेपछि नेपाल आएर फिल्म कलेज अस्करमा भर्ना भए । 

कलेज अध्ययन सिलसिलामा कलेज प्रोजेक्ट, विज्ञापनलगायत अभिनय गर्दा झन् यो प्रति मोह बढ्दै गयो । कलाकारिताबाट धेरै जीवन बाच्न सकिने रहछ भन्ने बुझे । त्यही समय फिल्म ‘जुलेबी’को अडिसन भइरहेको छ । त्यहाँ ५ हप्ता अडिसन दिएपछि फिल्ममा छानिएँ ।

monika thapa (8)

फिल्म अभिनयमा निरन्तरता दिने हो कि, पुग्यो ?

–फिल्म अभिनयलाई नै निरन्तरता दिने सोच छ । अहिलेसम्म अर्काे फिल्म त हात परेको छैन । यो फिल्म रिलिज भएपछि पाउँछु भन्ने विश्वास छ ।

भविष्यको योजना के छ ?

–फिल्म अध्यायन थालेदेखि एचएम (होटल म्यानेजमेन्ट) छोडे । फिल्म क्षेत्रमा सफल र भर्सटाइल अभिनेत्रीको रूपमा चिनिन चाहन्छु । फरक फरक चरित्रमार्फत छाप छोड्ने र चिनिने विचार छ ।

monika thapa (7)

ग्ल्यामर फिल्डमा आउनु भएको छ । फेसनमा रुचि त पक्कै होला ?

–रुचि छ । फेसनेवल भएर हिँड्न मन लाग्छ । त्यसैमा ध्यान दिनुपर्छ, त्यसैमा लाग्नुपर्छ भन्ने छैन । मेरो मनपर्ने पहिरन कुर्था, सुरुवाल र वान पिस हो । वान पिसमा म हट एण्ड ब्युटीफुल देखिन्छु ।

तत्काल अभिनय गर्न मन लागेको हिरो ?

–अभिनयमा आउनु् अगाडि देखि नै अभिनेता कर्मा निकै मन पथ्र्याे । अव उहाँसँग अभिनय गर्न पाए हुन्थ्यो भन्ने छ । कर्माको अभिनय र व्यक्तित्व दुबैबाट म प्रभावित छु ।

monika thapa (5)

तपाईंको आफ्नै मन पर्ने वानी ?

म एकदमै फ्रयाङ्क केटी हुँ । सबैसँग बोल्न, खेल्न रुचाउने खालकी छु । सजिलै सबैसँग घुलमिल गर्न सक्छु ।

प्रेम त परेको होला नि ?

नाई, अहिलेसम्म छैन ।

रोजेको व्यक्तिसँग डेट जाने अवसर मिल्यो भने ?

–अभिनेता कर्माको त बिहे भइसक्यो । तर पनि रोजेको व्यक्तिसँग डेट जाने अवसर मिल्यो भने कर्मासँगै जान्छु ।  किनभने उहाँको पर्सनालिटी र अभिनय दुवै मनपर्छ । डेटमा उहाँसँग अभिनयको धेरै कुरो सिक्न पाउँछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप