मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दिमागलाई कसरी राख्ने तेज ? विश्वका सबैभन्दा वृद्ध डाक्टरको सल्लाह

सोमबार, २९ साउन २०८०, १६ : ०३
सोमबार, २९ साउन २०८०

डाक्टर हावर्ड टकर । उनी पछिल्लो सात दशकभन्दा बढी समयदेखि बिरामीको उपचारमा तल्लीन छन् । उनी अहिले १०१ वर्षका भए तरपनि उनले आफ्नो व्यावसायिक जीवनबाट अवकाश लिएका छैनन् । यो उमेरमा पनि उनी हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म बिरामीको उपचार गर्छन् । उनीहरूलाई सुझाव दिन्छन् । डा. टकर एक न्युरोलोजिस्ट हुन् । हालै उनले दिमागलाई तेज बनाउने तरिकाबारे जानकारी दिए । टकर आफैँ पनि यो तरिका अपनाउँछन् । 

डेली मेलको रिपोर्ट अनुसार अमेरिकाको क्लिवल्यान्डमा जन्मिएका डाक्टर टकर डाक्टर मात्रै होइनन् । ६० वर्षको उमेरमा उनले ओहियो बार परीक्षा पास गरेका थिए । त्यसपछि उनी कानुन विद्यालयमा भर्ना भए । उनी लगातार शोध गरिरहन्छन् । विशेष गरी न्युरोलोजीबारे  । यसो गरेर उनी मस्तिष्कलाई व्यस्त बनाउन चाहन्छन् । उनको सामाजिक जीवन पनि उत्कृष्ट छ । डा. टकरका अनुसार उनी र उनकी श्रीमती सारा धेरैजसो श्रीमती र साथीभाइसँग खाना खान बाहिर जान्छन् । सारा ८९ वर्षकी भइन् । उनी पनि एक मनोचिकित्सक हुन् । स्मरण रहोस्, डाक्टर टकरलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले सबैभन्दा वृद्ध डाक्टरको सम्मान दिएको छ ।

उपचार गर्नु जीवनको उद्देश्य

डा. टकरले आफ्नो लामो जीवनको राज साझा गर्दै सीएनबीसीसँग भने, ‘मलाई हरेक पल व्यस्त रहन मन पर्छ । मेरो कामका लागि पनि यो जरुरी छ किनभने न्युरोलोजीमा दैनिक नयाँ चिज आइरहन्छन् । यसको समीक्षा निकै आवश्यक हुन्छ । उनले भने, ‘दिनरात बिरामीको बीचमा बस्नु, उनीहरूको उपचार गराउनु मेरो उद्देश्य हो, जीवनको उद्देश्य पनि यही हो । त्यसैले काम गर्दा मजा आउँछ । ’

कोभिडको समयमा पनि उनले निकै सक्रिय भएर बिरामीको सेवा गरेको कुरा धेरैका लागि अपत्यारिलो छ । यसबारे गिनिज बुकसँग कुरा गर्दै उनले भने, ‘म जे गर्छु, त्यसमा साँच्चै मलाई प्रेम छ । कोभिडका बेला अस्पतालमा आफ्ना बिरामीको उपचार गर्न जानु पक्कै पनि सहज थिएन । एक डाक्टरको रूपमा आफ्ना बिरामीको हेरचाह गर्नु मेरो जिम्मेवारी हो ।’

किताब दिमागलाई तेज राख्ने कुन्जी

डाक्टर टकरले भने, ‘स्वस्थ जीवनका लागि सामाजिक हुन निकै महत्त्वपूर्ण छ । सामाजिक सम्पर्क बलियो भएका मानिसहरू लामो समय र स्वस्थ जीवन बाँच्छन् । दुर्भाग्यले मेरो उमेरका थुप्रै नजिकका साथी, परिवारका सदस्य र सहकर्मीको निधन भइसकेको छ । तर म भाग्यमानी छ कि मलाई अहिलेसम्म केही पनि भएको छैन ।’

‘हामी हप्तामा कम्तीमा एक पटक आफ्ना छोरी, उनका श्रीमान्, छोरा, उनकी श्रीमतीसँग डिनरमा जान्छौँ । हामी साथीभाइ र सहकर्मीसँग नयाँ रेस्टुरेन्टमा खानाको मजा लिन्छौँ । यसले मानसिक स्वास्थ्य उत्कृष्ट हुन्छ । ’

डा. टकरका अनुसार उनी एक उत्साही पाठक पनि हुन् । उनी रहस्यमय उपन्यास र जीवनी पढिरहन्छन् । उनी भन्छन्, ‘राम्रा किताब पढ्दा तपाईंको मस्तिष्क जवान रहन्छ । यो तपाईंको दिमागलाई तेज राख्ने कुन्जी हो ।’

सय वर्ष पुगिसक्दा पनि अवकाश नलिने डा. टकरले भने, ‘मेरो अहिल्यै नै अवकाशको कुनै योजना छैन । मलाई के लाग्छ भने सेवानिवृत्ति लामो उमेरको दुस्मन हो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप