शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निबन्ध : साधनको रूप र रङ्ग

आइतबार, ०३ भदौ २०८०, १० : १३
आइतबार, ०३ भदौ २०८०

समस्या, समाधान र समाधानका साधन अलग भए पनि यिनीहरू अन्योन्याश्रित हुन्छन्, एक अर्कोमा निर्भर गर्छन्, एक अर्कोमा निर्भर गरेर रहेका हुन्छन् । यिनीहरूका न यस्तै रूप हुन्छ भन्न सकिन्छ न आकृति नै यस्तै हुन्छ भनेर देखाउन सकिन्छ । जस्तो समस्या हुन्छ त्यस्तै समाधान हुन्छ । अनि जस्तो समाधान हुन्छ त्यसको साधन पनि त्यस्तै हुन्छ । जति समस्या त्यति नै समाधान । अनि जति समाधान त्यति नै समाधानका साधन । त्यसैले यिनीहरूलाई यस्तै हुन्छन् भनेर किटानी गर्न पनि सकिन्न र यति नै हुन्छन् भनेर गणना गर्न नसकिने भएकाले यस्तै हुन्छन् भनेर देखाउन पनि सकिन्न । उदाहरणका लागि साधनलाई नै लिन सकिन्छ । 

जस्तै रूप भनेको आकृति हो, रङ्ग भनेको वर्ण । रूपले होचो, अग्लो, मोटो, पातलो, ठुलो, सानो कस्तो छ भनेर देखाउँछ, रङ्गले सेतो, कालो, रातो, हरियो, नीलो, खैरो कस्तो छ भन्ने बताउँछ । हरेक चीजलाई आफू भएको सिद्ध गर्न, आफूलाई देखाउन यी दुई अत्यावश्यक हुन्छन् । अन्यथा अनुभवसम्म गर्न त सकिन्छ तर देख्न र देखाउन सकिन्न । यसको अर्थ हो संसारमा रूप र रङ्ग नभएका कुनै पनि चीज छैनन् । सबैको एकएक रूप र रङ्ग हुन्छन् । त्यसैले नै उसलाई कस्तो छ भनेर देखाउने गर्छ । 

कल्पना गरौँ एक छिन कि कसैको रूप पनि थिएन रे, रङ्ग पनि थिएन रे । त्यतिबेला उसको अवस्था कस्तो होला ? के ऊ थियो पनि भन्न सकिएला ? के उसलाई देखाउन सकिन्थ्यो होला ? देख्न सकिन्थ्यो होला ? पक्कै सकिँदैन । जसको रूप नै छैन, रङ्ग नै छैन कसरी बताउने ? कसरी देखाउने ? देख्ने र देखाउने त कुरै छाडौँ उसको अस्तित्व सिद्ध गर्नै गाह्रो पर्छ । 

प्रश्न गर्न सक्नुहुन्छ त्यसो भए हावालाई के भन्ने त ? हावा देखिँदैन तर पनि उसको अस्तित्व त छ नि होइन र ? हो, सही भन्नुभयो हावा देखिन्न, देख्न सकिन्न तर पनि उसको अस्तित्व छ । यस्ता नदेखिने धेरै चीज छन्, जसको अस्तित्व छ, हुन्छ । बिउ देखिन्न, प्राण देखिन्न, आत्मा, ईश्वर, मृत्यु, जीवन, स्वयं प्रकृति यस्ता धेरै चीज देखिँदैनन् तर उनीहरूको अस्तित्व छ, छ मात्र होइन धेरै छ । तैपनि देख्न सकिन्न, देखिँदैनन् किन थाहा छ ? किनकि तिनीहरूका आफ्नै रूप र रङ्ग छैन । त्यसैले ती सबै अनुभवगम्य मात्र हुन्छन्, देख्न र देखाउन सकिन्न तर साधनलाई भने देखिन्छ, देखाउन सकिन्छ तर यस्तै हुन्छ र यति नै हुन्छ भने भन्न सकिन्न । साधन प्रत्यक्ष देखिने चीज हो किनकि उसको रूप पनि हुन्छ, रङ्ग पनि हुन्छ तर यस्तै हुन्छ भनेर भन्न भने सकिन्न । कसैले साधनको रूप कस्तो छ भनेर   सोध्यो भने के भन्नुहुन्छ ? के भन्न सक्नुहुन्छ ? हुन्न मरिकाटे सक्नुहुन्न । 

यस्तो किन हुन्छ थाहा छ ? किनकि यो समस्यामा भर पर्ने कुरा हो, साधनको स्वरूप र रङ्गमा भर पर्ने कुरा हो । उसको आफ्नो छुट्टै रूप र रङ्ग छैन । त्यसैले उसलाई यस्तै हुन्छ भन्न पनि सकिन्न र यति नै हुन्छन् भन्न सकिन्न । समस्या जस्ता हुन्छन् साधन त्यस्तै बन्छन्, सधान जस्तो हुन्छ उसको रूप र रङ्ग पनि त्यस्तै हुन्छ । यस अर्थमा उसको रूप र रङ्ग अनन्त छन् भन्नु मनासिब हुनेछ । वेदले ईश्वरलाई हजार हात, हजार शिर, हजार पाउ भएको भनेको छ । यसको अर्थ हो यो अनन्त छ । रूप र रङ्गमा पनि यही नियम लागू हुन्छ । उसको रूप पनि छ, रङ्ग पनि छ । त्यसैले उसलाई देख्न र देखाउनसम्म सक्नुहुन्छ तर यति नै हुन्छन् भनेर किटान गर्न भने सक्नुहुन्न । 

मानिलिनुस् कुनै चीज खाँदै हुनुहुन्थ्यो । घाँटीमा अड्कियो । यो समस्या भयो । त्यसलाई निकाल्न अप्रेसन गर्नुभयो । यो साधन भयो । साधन कस्तो थियो ? सायद कैँची चक्कु थिए । तिनका रूप पनि थिए रङ्ग पनि थिए । यतिसम्म त ठिकै थियो तर त्यस्तै अर्को समस्या समस्या समाधान गर्ने साधनको रूप र रङ्ग भने त्यस्तै हुँदैनन् । मानिनिलिनुस् खेतमा सिचाई गर्न नजिकैको खोलाबाट कुलो काटेर पानी ल्याउनुभएको थियो तर पैरो गएर कुलो पुरियो, खेतमा पानी जान पाएन यो समस्या भयो । पहिरो हटाउन के गर्नुहुन्छ ? कुट्टो, कोदालो, पिक यस्तै प्रयोग गर्नुहुन्छ होइन ? हो, यो साधन भयो । यसको पनि रूप र रङ्ग पाउनुहुन्छ तर अर्को समस्या समाधान गर्ने साधनको रूप र रङ्ग यस्तै हुँदैन । 

मानौँ नदी तर्दै हुनुहुन्थ्यो । नदी ठुलो थियो, त्यत्तिकै तर्न सक्नुभएन । डुङ्गा वा जहाज प्रयोग गर्नुभयो तर भइदियो के भने त्यो पनि डुबिदियो र तपाई मर्नु न बाँच्नुको अवस्थामा पुग्नुभयो । यो समस्या भयो । यतिबेला अन्य डुङ्गा वा जहाज उद्धार गर्न आए । ती साधन भए । तिनको आफ्नै रूप र रङ्ग पनि थिए तर अर्को समस्या समाधान गर्ने साधन यही हुँदैन । अर्कै हुन्छ । अर्कै हुनेछ भने उसको रूप र रङ्ग पनि पक्कै अर्को हुनेछ । एवंरीतले केलाउँदै जानुभयो भने हरेक कुरामा यही नियमले काम गरेको पाउनुहुनेछ । अब तपाईँ नै भन्नुस् उसको रूप र रङ्ग कस्तो हुन्छ भन्ने ? कस्तो हुन्छ, कस्तो । समस्या र साधन जस्तो हुन्छ वा जस्तो थियो त्यस्तै हुन्छ । त्यसैले यसलाई समस्यामा निर्भर गर्छ भन्नुपरेको हो । अनि भन्नुपरेको हो आफैँमा उसको रूप र रङ्ग हुँदैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप