बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नागपञ्चमी पर्व किन मनाउने ?

सोमबार, ०४ भदौ २०८०, १४ : २२
सोमबार, ०४ भदौ २०८०

हामी वैदिक सनातन धर्म मान्नेहरू यो चराचर जगत्मा रहेका हरेक प्राणीको सम्मान गर्छौँ । ती प्राणीमध्ये नाग वा सर्पको धेरै महिमा रहेको पाइन्छ । सर्पको राजालाई नाग भनिन्छ । ज्योतिषशास्त्र वा शुक्ल यजुर्वेदका अनुसार पञ्चमी तिथिका स्वामी नागदेवता मानिएको छ । यसैले हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नेपालमा नागपञ्चमी पर्व मनाइन्छ । 

नाग र नागिनीप्रतिको श्रद्धा र विश्वासको यो पर्व यस वर्ष भाद्र ४ गते सोमबार परेको छ । त्रिलोक चौध भुवनमध्ये नागलोकलाई पाताललोक भनिन्छ । त्यस लोकमा राजा–प्रजा सबै नाग नै हुन्छन् । भनिन्छ, नागहरू कश्यप ऋषि र कद्रूका सन्तति हुन् भने गरुड पनि उनै कश्यप ऋषि र अर्की पत्नी विनिताका छोरा हुन् । एकपटक कद्रूले खेलमा हराएका कारण गरुडकी आमा विनितालाई दासी बनाइछिन् ।

आफ्नी आमालाई दासी बनाएका कारण गरुणले विष्णुको तपस्या गरे र प्राप्त वरदानले नागहरूलाई मार्न लागे । गरुडले आफूहरूलाई मार्न लागेकाले नागहरूले शिवजीको तपस्या गरे र आफ्नो समस्या बताए । तब शिव खुसी भएर नागका राजा वासुकीलाई आफ्नो गहना तथा शिवलिङ्गको सुरक्षाकर्मीका रूपमा धारणा गरेको पाइन्छ । नागकन्या पनि शिवजीका छोरीहरू भन्ने पाइन्छ । मानसरोवरमा शिवका पाँच जना छोरीहरू मनसादेवी (हरिद्वार), उलुपी नागलोक अर्जुनकी श्रीमती), बर्बरिककी श्रीमती र अरु दुईको पनि नाम पाइएन । 

गरुण वाहन विष्णुजीले उनै शेषनागको शय्यामा बस्छन् । श्रीकृष्णले यमुना नदीमा वासुकी नागको शिरमा बसेर कालीय दमन गरेको कुरा उल्लेख छ । यसैगरी मथुराको कारागारमा जन्मेका श्रीकृष्णलाई रातिमा वासुदेवले गोकुलमा लैजान क्रममा यमुना तार्दा तिनै नागले बालक कृष्ण राखेको टोकरी संरक्षण गरेको र श्रीकृष्णका दाजु बलराम, रामका भाइ लक्ष्मण र योगशास्त्रका प्रणेता पतञ्जली पनि शेषनागका अंशावतार हुन् भनेको पाइन्छ । यसले गर्दा नाग शिव र विष्णुको प्रतीक मानिन्छ । यसै गरी शेषनागलाई दश दिक्पालमध्येका एक मानिन्छन् ।

ऋग्वेद, शुक्लयजुर्वेद र अन्य धर्मग्रन्थमा पनि नाग वा सर्पको धेरै नै महिमा उल्लेख गरेको पाइन्छ । यस्ता कुरा प्रतिनिधिमूलक रूपमा उदाहरणका लागि केही संस्कृतका श्लोक तल उद्धरण गरिएको छ :

मम माता च विनता नागैर्दासीकृता हरे । यथाहं देवताञ्जित्वा चामृतं ह्यानयामित ।।४८

दास्याद्विमोक्षयाष्यामि यथाहं वाहनस्तव । महाबलो महावीर्यः सर्वज्ञ नागदारणः ।४९

श्रीगरुड महापुराण द्वितीय अध्याय गरुडोत्पत्ति ४७ ५६

 

नमस्त्तु सर्पेब्भ्यायेकेचपृथिवीमनु । येकेअन्तरिक्षेयेदिवितेब्भ्यो सप्र्पेब्भ्योनमः।। शु.य.१३।०६।

याऽषवोयातुधानानांयेवाव्वनस्पतिरनु ।येऽवावटेषुशेरतेतेब्भ्य सप्पेब्भ्योनमः ।। शु.य.१३।०७

मीरोचने दिवोयेवा सूर्यस्य रश्मिषु । येषामप्सु सदस्कृतन्तेब्भ्य सर्पेभ्योनमः ।। शु.य.१३।०८

 

नागेन्द्रहाराय त्रिलोचनाय भस्मरागाय महेश्वराय ।

नित्याय शुद्धाय दिगम्बराय तस्मै न काराय नमः शिवाय । नम शिवाय, पञ्चाक्षरी मन्त्र

जटा टवी गलज्जलं  प्रवाहपावि तस्थलेगलऽव लम्ब्य लम्बितां  भुजङ्गतुङ्ग मालिकाम । शिव ताण्डवस्तोत्र 

वाहनं वृषभो यस्य वासुकि कण्ठभूषणम् । वामे शक्तिधरं देवं व काराय नमो नमः।।५।। नम शिवाय, षडाक्षरी मन्त्र

नागपञ्चमीकोे दिन नागको पूजा गर्नाले सर्पका राजा नाग देवता खुसी हुन्छन् । त्यसैले नागपूजा गरे यस्तो कीराहरूको डर हुन्न भनिएको पाइन्छ । नाग र सर्पमा भिन्नता खोज्दा दैवी शक्ति भएकालाई नाग र नभएकालाई सर्प भनेको पाइयो । नाग, सर्प वा यस्तै घस्रने कीराहरूले मानिस वा अरु जीवात्माहरूलाई दुःख नदिऊन् भनी यो नाग पञ्चमी पर्वमा नाग वा सर्प, खजुरो, बिच्छी, माकुरो, नागकन्या आदि जस्ता कीराहरूको साथै चन्द्र, सूर्य, शंख, चक्र गदा, पद्मको पनि चित्र बनाई सनातनी हिन्दूहरूका घर–घरमा टाँस्ने गरिन्छ । र गाईको दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामा टाँस्ने र पूजा पनि गरिन्छ । नागको चित्रका तल वा माथि प्रमुख अष्टकुल नागहरूको नामको श्लोक लेख्ने पनि चलन छ ।

अनन्त, बासुकी, पद्म, महापद्मश्च तक्षक । कुलीर, कर्कट, शङ्ख अष्टौनागा प्रकृर्तिता ।।

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तो जैमिनिश्चैव पञ्चैते बज्रवारका ।।

नागको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने, आगलागी नहुने, घरवरिपरि पानीका स्रोत भइरहने र सर्प वा त्यस्तै घस्रने कीराहरूको डर समेत नहुने धार्मिक विश्वास रहेको छ । यसै सिलसिलामा घरको ढोकामा नाग टाँसेर ‘अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी । एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते ।।’ भनी नागको प्रार्थना गर्दै नागसम्बन्धी कामन्त्रहरू पाठ गरिन्छ । नागमन्त्रहरू पाठ गर्न सम्भव नभए ‘ॐ कुरुकुल्ये हुँ फट् स्वाहा’ मन्त्रको जप वा नाग गायत्रीको मन्त्र ‘ॐ नव कुलाय विध्महे विषदंन्ताय धीमही तन्नो सर्पः प्रचोदयात्’ भनी एक माला (१०८ पटक) जप गरिन्छ । यो नागमन्त्रको तीन माला जप गर्दा नाग देवता प्रशन्न हुन्छन् भन्ने विश्वास छ । नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रियकर हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चन्दन, सेतो कमलको फूलको, लाभा, गाईको दूध प्रयोग गरिन्छ । नाग पञ्चमीमा घरमा नाग टाँस्नुका साथै नाग स्थानमा नागको पूजा गरिने चलन  छ । सो दिन नागको व्रत बसेर सूर्यास्त भएपछि खीरको प्रसाद बनाई नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी प्रसाद वितरण गर्ने र आफूले समेत ग्रहण गर्ने चलन पाइन्छ । नागको व्रतमा नुन तथा चिल्लो परिकारको प्रयोग गरिँदैन । 

सनातन हिन्दू धर्मका प्रायः सबै चाड पर्वहरू मनाउनुको पछाडि कुनै न कुनै रहस्य वा विज्ञान लुकेको हुन्छ भनिएको छ । सोही अनुसार पर्वको महत्त्व पनि त्यत्तिकै देखिन्छ । 

वास्तुशास्त्र अनुसार नयाँ घर बनाउँदा घरको जग खन्ने बेला नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रीय विधान छ । नागको शिर विचार गर्दा पात्रोहरूमा भाद्र, आश्विन र कार्तिकमा पूर्व, मंसिर, पुस, माघमा दक्षिण, फागुन, चैत र वैशाखमा पश्चिम र जेठ, असार र साउनमा उत्तर दिशामा रहन्छन् भनी लेखेको पाइन्छ । नागको शिरमा खन्दा आफूलाई पीडा, पछाडि खन्दा परिवार अर्थात् सन्ततिलाई दुःख हुने, जाँघमा खने अनावश्यक व्यय हुने र पेटमा खने सर्वत्र सफलता पाइन्छ भनी उल्लेख छ । भूमिमा नागदेवताको बसोबास हुने र जमिन खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा खन्न वा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैन । यही मान्यता अनुसार श्रीपञ्चमीका दिनमा हलसारो र नाग पञ्चमीका दिन मैजारो गर्ने धार्मिक मान्यता रहेको पाइन्छ । अर्को मान्यता यो पनि छ कि यस दिनदेखि वर्षायाम समाप्त भई हिउँद सुरु हुने मान्ने गरिन्छ ।

नागलाई वर्षाका देवता मानिन्छ र यी खुसी भएमा धनधान्य, मणिमाणिक्य, पशुधन, गहना आदिले भरिभराउ हुन्छ भन्ने मान्यता रहेको पाइन्छ भनाइ जे जसो भए पनि नागको पूजा गर्दा घर नागस्थानवरिपरि सरसफाइ गरिन्छ । यसले गर्दा सर्पको डर नहुने हुन्छ । अर्को कुरा साउन–भदौ या वर्षा याममा धेरै वर्षा हुने र तुरुन्तै घाम लागे पछि बाफिलो गर्मी र जमिन तातो हुनाले सर्प वा नागहरू बाहिर निस्कने गर्छन् । यसो हुँदा यो समयमा सर्पदंशका घटना बढी भएका देख्न र सुन्नमा आएको पाइन्छ । यस्ता सर्पका विभिन्न प्रजातिमध्ये नेपालमा गोमन करेत बढी विषालु मानिन्छ ।

नाग वा सर्पहरूले वातावरणमा भएको विषलाई श्वासका रूपमा खिचेर लिने हुनाले यिनलाई पवनासन पनि भन्ने गरिन्छ । पानीका मुहानहरूमा नाग वा सर्पको वास हुने हुनाले त्यहाँ फोहोर गर्न हुँदैन, फोहोर भए वा गर्नेलाई नागले दुःख दिन्छन् भन्ने धार्मिक विश्वास पनि रहेको छ । यसरी पानीका मुहान् र वातावरण स्वच्छ राख्न पनि यिनीहरूले सघाएको पाइन्छ । 

नागपञ्चमीका सम्बन्धमा धेरै कथा, कथन, ऋचा, श्लोक र उदाहरण हुन सक्छन् । तसर्थ आगामी नागपञ्चमी पर्वका विषयमा सामान्य जानकारी यति नै मात्र उल्लेख गर्दै यो लेख यहीँ अन्त्य गरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप