लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत

समाचार सारांश
- नेपाली क्रिकेट टोलीले सन् २०१६ मा लर्ड्समा मेलबर्न क्रिकेट क्लब (एमसीसी) लाई पराजित गर्दै ऐतिहासिक जित हासिल गर्यो।
- खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २१७ रन बनायो भने एमसीसीले १७६ रन मात्र बनाउन सक्यो, जसमा नेपाल ४१ रनले विजयी भयो।
- ज्ञानेन्द्र मल्लले ३९ रन बनाए भने सागर पुन र बसन्त रेग्मीले बलिङमा ३-३ विकेट लिए, जसले नेपाललाई जित दिलायो।
काठमाडौँ । विश्व क्रिकेटका ठुला हस्तीहरूलाई लन्डनको लर्डस्मा क्रिकेट खेल्दै जित निकाल्ने सपना नै हुन्छ ।
त्यसका लागि सबै देशहरूले टेस्ट मान्यता या विश्वकप क्रिकेटमा कुनै खेल लर्डस्मा हुन जरुरी हुन्छ ।
लर्डस् मैदान टेस्ट क्रिकेटका लागि बढी प्रख्यात छ । नेपाली क्रिकेट टोलीले पनि लर्डस्मा देशका लागि जित निकाल्ने योजना नबनाएको होइन, तर लर्डस्मा क्रिकेट खेल्न टेस्ट मान्यता या विश्वकप क्रिकेटको कुनै खेल लर्डस्मा हुनुपर्छ । यही नै सबैभन्दा सहज पाटो हो। अन्य टेस्ट मान्यता प्राप्त गरेका टोलीहरूलाई पनि लर्डस्मा जीत निकाल्ने सपना हुन्छ ।
तर, टेस्ट मान्यता नपाएको नेपाली टोलीले लर्डस्मा ऐतिहासिक जीत निकालिसकेको छ ।
नेपालले सन् २०१६ मा लर्डस्मा मेलबर्न क्रिकेट क्लब (एमसीसी) सँग ५० ओभरको मैत्रीपूर्ण खेल खेलेको थियो । लण्डनमा रहेका नेपाली समर्थकको साथसँगै हौसला लिएर खेलेको नेपालले मेलर्बन क्रिकेट क्लबमाथि ४१ रनको सहज जित निकालेको थियो ।
खेलमा एमसीसीले टस जितेर पहिले फिल्डिङ गरेको थियो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो ।
नोपलका लागि ज्ञानेन्द्र मल्लले ६३ बलमा सर्वाधिक ३९ रन बनाएका थिए । त्यस्तै कप्तान पारस खड्काले ३०, शरद भेषवाकरले २७ रन बनाउँदा सागर पुनले २६ रनको योगदान दिएका थिए । एमसीसीका लागि चाड ब्यारेट र किथक डचले दुई–दुई विकेट लिएका थिए । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको एमसीसीले ४७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
उक्त खेलमा नेपाल ४१ रनले विजयी भएको थियो । एमसीसीका लागि जर्ज एडेयरले १०० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै रिचर्ड विल्किसनले २० र स्टिभन कल्याकरले १६ रन बनाउनुबाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका लागि सागर पुन र बसन्त रेग्मीले समान तीन–तीन विकेट लिए । त्यस्तै सोमपाल कामीले एक विकेट लिँदा शक्ति गौचन र सन्दीप लामिछानेले एक–एक विकेट लिएका थिए ।