आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदीप गिरिले सारा समस्याको समाधान मार्क्सवादमा देख्नुहुन्थ्यो : घनश्याम भुसाल

सोमबार, ०४ भदौ २०८०, १५ : ३०
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरि अविभाजित व्यक्ति भएको बताएका छन् ।

काठमाडौँको प्रज्ञा भवनमा स्कुलअफ डेमोक्रेशीद्वारा प्रदीप गिरिको स्मृतिमा सोमबार आयोजित ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषय कार्यक्रम भुसालले भन्ने र गर्ने कुरा पनि स्वर्गीय गिरि अविभाजित व्यक्ति भएको बताए ।

प्रदीप गिरिबाट समाजका लागि लिने कुरा लिन नसकिएको उनको भनाइ छ । ‘उहाँले मलाई आफ्नो आश्रममा जाऔँ भन्नु भएको थियो । त्यहाँ गएर विभिन्न विषयमा छलफल गर्ने र सबै रेकर्ड गर्ने मैले सोचेको थिएँ,’ भुसालले भने, ‘तर, उहाँबाट पाउनुपर्ने कुरा गुम्यो । मलाई पश्चात्ताप छ । मुलुकको सर्वाधिक बौद्धिक मध्येको एउटा व्यक्ति हो । सिद्धान्त र इतिहासमा कमाण्ड भएको मान्छे हामीले गुमाएको हो ।’

स्वर्गीय गिरि एसियामा औलामा गन्न सकिने मार्क्सवादी भएको उनले बताए । ‘हाम्रो पार्टीमा कांग्रेसलाई ल्याएर मार्क्स पढाउने भन्ने कुरा भयो । जवाफमा मैले उहाँ जत्ति मार्क्स जान्ने एसियामा औलामा गन्न सकिने मान्छे होलान् । मैले त्यसरी बुझ्थेँ । उहाँ मार्क्सवादी हुनुहुन्थ्यो । उहाँले सारा समस्याको समाधान मार्क्सवादमा देख्नुहुन्थ्यो । स्वयः मार्क्समा पनि समस्या देख्नुहुन्थ्यो । त्यसको खोजीका लागि भौतारिराख्नु भएको थियो । मैले बुझेको प्रदीप गिरि यही हो,’ उनले भने ।

सारा समस्याको समाधान मार्क्सवादमा छ भनेर गिरि आफैले बोलेको भुसालले दाबी गरे । उनले भने, ‘यो उहाँले नै बोलेको कुरा हो । कयौं माक्र्सवादीहरुले माक्र्सवादको खोल ओढेर गैरमाक्र्सवादी भइरहेको बेलामा, अकैबाटो लिइरहेको बेलामा प्रदीप गिरि अविभाजित मान्छे हो । भन्ने र गर्ने कुरा पनि उहाँ अविभाजित व्यक्ति हो ।’

गिरिको समाजवाद, मार्क्सवाद र स्वतन्त्रता सबै श्रम जीविकाप्रति निशर्त प्रतिबद्धताबाहेक केही पनि थिएन भन्ने कुरा आफू प्रष्ट रहेको भुसालले बताए । ‘संविधानमा किन हस्ताक्षर गर्नु भएन भन्दा मधेसकाप्रति मेरा केही प्रतिबद्धता छन् । जसकारण मैले संविधानमा हस्ताक्षर गर्नु हुँदैन थियो । जस्तो गर्छौँ, त्यस्तै बोल्ने कुरामा मात्र प्रदीप गिरिबाट सिक्यौं भने राजनीतिमा ठूलो योगदान हुन्थ्यो,’ उनले भने ।

भुसालले अगाडि भने, ‘प्रदीप गिरि हुँदा वैद्धिक रुपमा अहिलेभन्दा बढी सुरक्षित छु जस्तो लाग्थ्यो । अप्ठ्यारो पर्‍यो भने प्रदीपजी हुनुहुन्छ भन्ने लाग्थ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप