शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य/ जीवनशैली

के पछि पनि हुन सक्छ डेंगु ?

शुक्रबार, ०८ साउन २०८३, ०७ : २८
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • डेंगु एक पटक निको भएपछि जीवनभर सुरक्षा प्राप्त नहुने र फरक सेरोटाइपबाट पुनः संक्रमण हुन सक्ने स्वास्थ्य विज्ञानीहरूले बताएका छन् ।
  • डेंगुका चार फरक सेरोटाइप छन् र एउटाबाट संक्रमण भएपछि त्यसैविरुद्ध मात्र दीर्घकालीन प्रतिरक्षा विकसित हुन्छ, जसले गर्दा अर्को सेरोटाइपबाट पुनः संक्रमणको जोखिम रहन्छ ।
  • दोस्रो पटकको डेंगु संक्रमण केही व्यक्तिमा पहिलोभन्दा बढी घातक हुन सक्ने भएकाले ज्वरो घटेपछि देखिने चेतावनी संकेतहरूलाई बेवास्ता नगरी तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

हरेक मनसुनमा उच्च ज्वरो लिएर आउने अधिकांश बिरामीहरूको प्रायः एउटै प्रश्न हुन्छ, ‘डाक्टर, मलाई केही वर्षअघि डेंगु भएको थियो । फेरि डेंगु त हुन सक्दैन नि ?’

केही दिनपछि परीक्षणको रिपोर्टमा डेंगु पुष्टि भएपछि उनीहरू फेरि अर्को प्रश्न सोध्छन्, ‘म त अब प्रतिरक्षित (इम्युन) भइसकेको थिएँ भन्ने सोचेको थिएँ ।’

यो सोच स्वाभाविक भए पनि डेंगुबारे फैलिएको सबैभन्दा ठुलो भ्रममध्ये एक हो । ठेउला (चिकेनपक्स) जस्ता केही रोगमा एक पटक संक्रमण भएपछि जीवनभर प्रतिरोधात्मक क्षमता विकसित हुन्छ । तर डेंगुमा भने एक पटक निको हुँदैमा जीवनभर सुरक्षा प्राप्त हुँदैन ।

यदि पछि डेंगु भाइरसको अर्को प्रकार (सेरोटाइप) बाट संक्रमण भयो भने व्यक्तिलाई फेरि डेंगु हुन सक्छ । अझ महत्त्वपूर्ण कुरा, दोस्रो पटकको संक्रमण केही व्यक्तिमा पहिलोभन्दा बढी घातक पनि हुन सक्छ । यसको अर्थ सबैलाई दोस्रो पटक डेंगु हुँदा गम्भीर अवस्था आउँछ भन्ने होइन, तर लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्नु भने खतरनाक हुन सक्छ ।

किन डेंगु एकभन्दा बढी पटक हुन सक्छ ?

डेंगु चार फरक तर आपसमा सम्बन्धित भाइरसका प्रकार (सेरोटाइप) बाट हुन्छ । ती हुन् ः डिईएनभि–१, डिईएनभि–२, डिईएनभि–३ र डीईएनभी–४ ।

एउटा सेरोटाइपबाट संक्रमित भएपछि त्यसै प्रकारको भाइरसविरुद्ध मात्र दीर्घकालीन प्रतिरक्षा विकसित हुन्छ । बाँकी तीन प्रकारविरुद्ध भने हुँदैन । त्यसैले पछि अर्को सेरोटाइपबाट संक्रमण भएमा व्यक्तिलाई फेरि डेंगु हुन सक्छ । भारतलगायत दक्षिण एसियाली देशहरूमा एकै समयमा धेरै सेरोटाइप सक्रिय रहने भएकाले पुनः संक्रमण असामान्य होइन ।

दोस्रो पटक डेंगु किन बढी गम्भीर हुन सक्छ ?

पहिलो संक्रमणपछि शरीरले त्यस भाइरसविरुद्ध एन्टिबडी उत्पादन गर्छ । तर दोस्रो पटक फरक सेरोटाइपले संक्रमण गर्दा ती एन्टिबडीले भाइरसलाई पूर्ण रूपमा नष्ट गर्न सक्दैनन् । बरु कतिपय अवस्थामा उनीहरूले भाइरसलाई शरीरका केही प्रतिरक्षा कोषभित्र प्रवेश गर्न सहयोग गर्छन् । यसलाई एन्टिबडी–निर्भर प्रवद्र्धन (एन्टिबडी–डिपेन्डेड इन्याचमेन्ट–एडिई) भनिन्छ ।

यसका कारण शरीरमा अत्यधिक सूजन (इन्फ्लामेसन) हुन सक्छ, रक्तनलीहरूबाट प्लाज्मा चुहिन सक्छ, रक्तचाप घट्न सक्छ, छाती वा पेटमा तरल पदार्थ जम्न सक्छ, रक्तस्राव हुन सक्छ, डेंगु शोक सिन्ड्रोम वा अन्य अंगहरूमा असर पर्न सक्छ ।

यद्यपि सबै दोस्रो संक्रमण गम्भीर हुँदैनन् । धेरै बिरामी सामान्य उपचारबाट पूर्ण रूपमा निको हुन्छन् । तर पहिले डेंगु भइसकेका व्यक्तिले पुनः लक्षण देखिएमा विशेष सतर्कता अपनाउनुपर्छ ।

ज्वरो घट्न थालेपछि नै सबैभन्दा जोखिमपूर्ण समय सुरु हुन्छ

धेरैले ज्वरो कम हुन थालेपछि रोग निको हुँदैछ भन्ने सोच्छन् । तर डेंगुमा यसको ठीक उल्टो हुन सक्छ । रोग लागेको तेस्रोदेखि सातौं दिनसम्म, विशेषगरी ज्वरो घट्न थालेपछि, सबैभन्दा जोखिमपूर्ण अवस्था सुरु हुन्छ । यही समयमा प्लाज्मा चुहिने, रक्तस्राव हुने वा शोकको अवस्था आउने सम्भावना बढी हुन्छ ।

त्यसैले यस अवधिमा चिकित्सकको नियमित निगरानी अत्यन्त आवश्यक हुन्छ ।

यी चेतावनी संकेतलाई कहिल्यै बेवास्ता नगर्नुहोस्

डेंगुका प्रारम्भिक लक्षणहरूमाः उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, शरीर तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, छालामा दाना आउने हुन सक्छ । तर लगातार बान्ता हुने, पेट अत्यधिक दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बान्ता वा दिसामा रगत देखिने, अत्यधिक निद्रा लाग्ने वा बेहोसजस्तो हुने, सास फेर्न गाह्रो हुने, हातखुट्टा चिसो हुने, बेचैनी बढ्ने, पिसाब कम लाग्ने जस्ता लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।

यी लक्षणलाई घरमै बसेर उपचार गर्ने प्रयास गर्नु हुँदैन ।

प्लेटलेट मात्रै सबै कुरा होइन

धेरैले डेंगुको गम्भीरता प्लेटलेट घटेको आधारमा मात्र आँकलन गर्छन् । यद्यपि प्लेटलेट महत्त्वपूर्ण भए पनि उपचारको निर्णय त्यसैमा मात्र निर्भर हुँदैन । चिकित्सकहरूले बिरामीकोः शरीरमा पानीको मात्रा, रक्तचाप, हेमाटोक्रिट, प्लाज्मा चुहिएको अवस्था अदिको समग्र स्वास्थ्य अवस्था समेत मूल्याङ्कन गरेर उपचारको निर्णय गर्छन् ।

कतिपय बिरामीको प्लेटलेट निकै कम भए पनि अवस्था स्थिर रहन्छ भने कतिपयमा प्लेटलेट धेरै नघटे पनि गम्भीर जटिलता देखिन सक्छ ।

लामखुट्टेको टोकाइबाट जोगिनुनै सबैभन्दा प्रभावकारी उपाय

एक पटक डेंगु भइसकेपछि पनि अर्को सेरोटाइपबाट संक्रमण हुन सक्ने भएकाले सावधानी घटाउनु हुँदैन । त्यसैले डेंगुबाट बच्नः लामखुट्टे भगाउने औषधि (रिपेलेन्ट) प्रयोग गर्ने, पूरा बाहुला भएका कपडा लगाउने, झ्याल–ढोकामा जाली प्रयोग गर्ने, घर तथा वरपर पानी जम्न नदिने जस्ता उपाय प्रभावकारी मानिन्छन् ।

एक पटक डेंगु भएर निको हुँदैमा जीवनभरका लागि प्रतिरक्षा विकसित हुँदैन । फरक सेरोटाइपबाट दोस्रो पटक संक्रमण हुन सक्छ र केही अवस्थामा त्यो पहिलो संक्रमणभन्दा बढी गम्भीर पनि हुन सक्छ । तर समयमै परीक्षण, पर्याप्त झोलिलो पदार्थ सेवन, चेतावनी संकेतको पहिचान र विशेषगरी ज्वरो घट्न थालेको अवस्थामा चिकित्सकीय निगरानीमा रहे अधिकांश बिरामी सफलतापूर्वक निको हुन्छन् ।

सतर्कता, समयमै उपचार र सही जानकारी नै डेंगुविरुद्धको सबैभन्दा प्रभावकारी सुरक्षा हो ।

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप