आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको पूर्वाधार विकासमा साउदीको चासो, मन्त्री ज्वालासँग छलफल

बुधबार, ०६ भदौ २०८०, २२ : १९
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ । बुधवार भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरब रोजगारीको गन्तव्य भएको बताउँदै अब भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा पनि साझेदारी गर्नुपर्ने बताए ।

“साउदीमा नेपालीको श्रमले ठूलो भौतिक विकास भएको छ, त्यहाँको स्रोत, साधन र प्रविधि नेपालको भौतिक विकासमा आवश्यक छ”, मन्त्री ज्वालाले भने, “साउदी अरबमा करिब चार लाख नेपाली कामदारले श्रम गरिरहेका छन् । उनीहरूले पनि केही दक्षता पाएकै छन्, त्यो दक्षता भौतिक विकासमा लगाउन हामी तयार छाै, त्यसका लागि साउदी सरकारको सहयोग हामीलाई आवश्यक छ ।” 

साउदी सरकारले साउदी विकास कोषमार्फत नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गरेको भन्दै मन्त्री ज्वालाले विकास परियोजना बढाउन आग्रह गरे । “नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुँदैछ, त्यसका लागि विकासलाई तीव्रता र दिगोपना सुनिश्चित गर्न पूर्वाधार क्षेत्रमा थप लगानी र सहायता आवश्यक छ”, मन्त्री ज्वालाले भने ।

 साउदी राजदूत हमिदले नेपालको पूर्वाधार तथा यातायातका क्षेत्रमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए । “पूर्वाधार विकासमा साझेदारी गर्न हाम्रो देश तयार छ, तर त्यसका लागि ठोस प्रस्ताव नेपाल सरकारले दिनुपर्यो”, राजदूत हमिदले भने । साउदी अरेबियाले वर्ल्ड एक्पो, २०३० आयोजना गर्नका लागि उम्मेदवारी दिएको छ ।

साउदीसँगै दक्षिण कोरिया र इटालीले पनि आयोजनाका लागि उम्मेदवारी दिएका छन् । तर नेपालले साउदी अरबलाई सहयोग गर्ने निर्णय गरिसकेको मन्त्री ज्वालाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप