सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थिरताका निम्ति सबै वाम एकै ठाम !

बिहीबार, ०७ भदौ २०८०, १२ : ०९
बिहीबार, ०७ भदौ २०८०

कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा अन्तराष्ट्रिय कम्युनिस्ट घोषणापत्र लेखेपछि विश्वव्यापी चर्चा र बहस हुँदै अगाडि बढेको कम्युनिस्ट आन्दोलन अगाडि बढ्यो । उन्नाइसौँ शताब्दीको पेरिस कम्युन हुँदै बिसौँ शताब्दीको पहिलो दशकतिर समाजवादी सत्ता सञ्चालन गर्ने अवस्थामा आइपुग्यो । 

दोस्रो विश्वयुद्धको अन्त्यसँगै धेरै नवस्वाधीन राज्यहरू समाजवादी सत्तासँग आकर्षित भए । त्यसपछि भने विश्वमा समाजवादी आन्दोलनको लहर नै चल्यो । ती कति सफल भए कति असफल भए, त्यसको आआफ्नै इतिहास र महत्त्व छ । सोभियत सङ्घको विघटनपूर्वसम्म पनि विश्वको एक तिहाइ भूभागमा समाजवादी सत्ता सञ्चालनमा थिए । 

आजको समयसम्म पनि संयुक्त राष्ट्रसङ्घमा भिटो पावर भएको चीनसहितका देशहरूले आफ्नो विशेषताको लोकतन्त्रसहितको समाजवादी सत्ताको अभ्यास गरिराखेको छ । यसले विश्वकै ध्यान केन्द्रित गरिरहेको अवस्था छ । सन् १९६० को दशकपछि नयाँ समाजवादी राज्यहरूको स्थापना हुन नसकेको कुरा साँचो हो तर समाजवादी सत्ताको स्थापनाको प्रयत्न विभिन्न तवरबाट विश्वका कम्युस्टिहरूले गरिरहेकै छ । 

पूर्वी युरोपमा स्थापना भएको समाजवाद सोभियत सङ्घको विघटन भएसँगै विश्व कम्युनिस्ट आन्दोलनमा ठुलो धक्का लाग्न पुग्यो । त्यसपछि विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा नै चलिराखेको छ । त्यसको ऐतिहासिक प्रभावबाट नेपालको कम्युनिस्ट आन्दोलन पनि अछुतो रहने कुरा भएन । विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको अवस्थामा नेपालमा भने वर्तमान सन्दर्भमा पनि कम्युनिस्ट आन्दोलन विभाजित तर उर्वरायुक्त र आकर्षणमय नै देखिन्छ ।

नेपालमा कम्युनिस्ट आन्दोलनले सात दशकभन्दा बढीको अवधि पार गरिसकेको छ । खास गरी नेपालका सन्दर्भमा वाम र कम्युनिस्ट आन्दोलनलाई समानार्थी रूपमा बुझ्ने नै गरिएको छ । २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएपश्चात् यो अवधिसम्म वामपन्थी शक्तिहरू सशस्त्र र शान्तिपूर्ण दुवै सङ्घर्षको अनुभवसहित अगाडि बढिरहेको छ । 

सात दशकको दौरानमा नेपाली कम्युनिस्ट आन्दोलनले राणा शासनको अन्त्य, निरङ्कुश राजतन्त्र र एकात्मक राज्यसत्ताको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नसम्म सफल भएको छ । सामन्तवादको अन्त्य गरी जननिर्वाचनमार्फत आफ्नो प्रतिनिधि र सरकार चुन्ने अधिकार जनतालाई दिनसम्म कम्युनिस्ट आन्दोलनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । आजसम्मका हिंसात्मक र शान्तिपूर्ण तरिकाहरू अपनाइएको जनसङ्घर्षमा प्रजातान्त्रिक, कम्युनिस्ट, वामपन्थी र देशभक्तहरूले कहिले एक्लाएक्लै त कहिले संयुक्त रूपमा आन्दोलनको नेतृत्व गरेकै हो । प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्दै आएको वामपन्थी र प्रजातान्त्रिक शक्तिहरू नै आजको नेपालको निर्णायक राजनीतिक शक्तिहरू हुन् । 

विशेष गरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा वैचारिक धारहरू निर्माण भएसँगै नेपालमा पनि त्यसको प्रभाव स्वतः परेपछि आन्दोलन विभाजित भयो । अझै २०१७ सालको पञ्चायती कुसँगै तत्कालीन पार्टी महासचिव डा. केशरजङ्ग रायमाझी दरबार छिरेपछि कम्युनिस्ट आन्दोलनको औपचारिक विभाजनले ऐतिहासिक शृङ्खलाको सुरुवात ग¥यो । त्यो आजपर्यान्त चलिराखेको छ । यसले गर्दा नेपालको राजनीतिक अस्थिरताको प्रमुख कारण वाम आन्दोलनलाई देखाउने बलियो तथ्य बनेको छ । हुन पनि सबै वामपन्थीहरूको ठुलो त्याग, तपस्या, बलिदान र मेहनतले नेपाली भूगोल वाममय बनेको छ । वाम आन्दोलनलाई माया र समर्थन गर्ने शक्तिशाली जनमत छ, ऐतिहासिक कालखण्डमा ठूला–ठूला योगदान गरेका पुराना पाका नेतृत्वहरू छन्, भर्भराउँदा युवा नेताहरू उत्तराधिकारीका रूपमा तैनाथ छन् । हजारौँ लाखौँको सङ्ख्यामा पार्टी र आन्दोलन भनेर लागेका पूर्णकालीन कार्यकर्ता छन् । वर्तमान संसद्भित्रकै अङ्कगणित हेर्दा पनि लगभग लगभग बहुमतको अवस्थामा वामपन्थीहरू नै छन् र सडकको मोर्चामा पनि वामपन्थीको एकल शक्ति नै देखिन्छ ।

यसरी हेर्दा स्पष्ट बहुसङ्ख्यक जनता कम्युनिस्ट आन्दोलनका समर्थक छन् । तर ती समर्थकहरूको प्रतिनिधित्व गर्ने आआफ्नै राजनीतिक पार्टीहरू छन् र ती आशावादी जनमत विखण्डित र विभाजित भएका छन् । यसले घाटा देश, जनता र आन्दोलनलाई भएको छ । राजनीतिमा सधैँ एउटै प्रकारको शक्ति सन्तुलन रहिरहन्छ भन्ने हुँदैन । जनताको मनोविज्ञान पनि आवश्यकताले समयसापेक्ष परिवर्तन भइरहन्छ । यसलाई रोकेर रोक्नै सकिँदैन । किनभने समय गतिशील छ । त्यसैले सही समयमा जनताको आकाङ्क्षा र मनोभावनालाई सम्बोधन गर्न सक्ने वाम आन्दोलन भएन भने यो रहर लाग्दो जनमत भोलि अर्काे बनिदिने सम्भावना हुन पनि सक्छ ।

आज कम्युनिस्ट पार्टीहरूसँग गर्विलो इतिहास छ । जनता छन्, देशका जल्दाबल्दा मुद्दाहरू छन्, समाजलाई समाजवाद हुँदै साम्यवादको यात्रामा लैजाने सपना पनि छ । तर मौजुदा नोकरशाही दलाल पँुजीवादसँग लड्ने भरपर्दाे हतिहार छैन, राजनीतिक कार्यक्रम छैन । किनभने भिन्न भिन्न आकार र स्वरूपका कम्युनिस्ट पार्टीहरूले आआफ्ना बेग्लाबेग्लै कुरा भनिरहँदा जनता कन्फ्युजनमा परेका छन् र विभाजित बनेको छ । त्यसैले वाम आन्दोलनले परिणाममुखी आकार लिन सकिराखेको छ्रैन ।

समय सन्दर्भ बदलिएको छ । जनताको राजनीतिक सामाजिक चेतना विकसित भएको छ । नयाँ युवा पुस्ताले धेरै धैर्य गरेर परिणाम कुरी बस्ने परिस्थिति छैन । टाठाबाठा र पढेलेखेका अनि बलिया हातपाखुरा भएकाहरू सपना खोज्दै लाखौँको सङ्ख्यामा समुद्रपारि पुगिराखेको छ । जनताका आवश्यकता र सोचाइहरू तीव्रतामा परिवर्तन भइराखेको छ । केही समय अगाडि मात्र एउटा अन्तर्राष्ट्रिय पश्चिमा सञ्चार माध्यामले नेपाल असफल राज्य भनेर लेखेको छ । यो परिस्थितिमा नेपालका कम्युनिस्टहरूले लम्बिँदो सङ्क्रमणलाई अन्त्य गर्ने उपायतिर नजाने हो भने पार्टी आन्दोलन बचिराख्छ त ? इतिहासले मात्र वाम आन्दोलनको साख जोगाइराख्न सक्छ त ? प्रश्न साह्रै गम्भीर प्रकारले नै उठ्नेवाला छ । 

कम्युनिस्ट पार्टी र त्यसका अगुवाहरूको आआफ्नै योगदान र अनुभव पक्कै छन् । हाल दर्जनभन्दा बेसी कम्युनिस्ट पार्टीहरूले आफ्नो आफ्नो कार्यक्रमसहित अस्तित्व धानिराखेकै छन् । सबैले देशमा वैदेशिक हस्तक्षेप भएको कुरा, दलाल पँुजीवादले राष्ट्रिय अर्थतन्त्रलाई गाँजेको कुरा, देशमा आर्थिक, सामाजिक र राजनीतिक समस्या छ भन्ने कुरा स्वीकार गरेकै छ र यो सामाजिक व्यवस्थाभन्दा अगाडि बढेर समाजवादी व्यवस्थामा पुग्नुपर्छ भन्ने सबैको साझा मत नै छ । तर एकीकृत कम्युनिस्ट आन्दोलनको निर्माण हुन सकिराखेको छैन । वर्तमान नेपाली समाजको वर्ग विश्लेषण र चारित्रिक विशेषताहरूको सम्बन्धमा सबै पार्टीको आनको तान र वारपारको बुझाइ रहेको पनि पाइँदैन । कसैको साझा र कोहीको नजिक नजिककै बुझाइ रहेको पाइन्छ । रणनीतिक विषयमा पार्टीहरूको विमति देखिँदैन तर कार्यनीतिक विषयमा भने आफ्ना आफ्ना तर्कहरू छन् । यस्ता हजारौँ तर्कहरूका बाबजुद अनुभवले के पुष्टि गरिदिएको छ भने सिद्धान्त, तर्क र व्यवहारको सन्तुलनबिना आन्दोलनले गति लिन सक्दैन र सामाजिक रपान्तरण पनि हुन सक्दैन ।

अहिले देशको आवश्यकताले, बदलिँदो राजनीतिक समीकरण र सन्तुलनले एकीकृत कम्युनिस्ट आन्दोलनको माग गरेको छ । उसो त नेपालका कम्युनिस्टहरू आपसमा ठुलो अन्तर्विरोधसहितको सङ्घर्ष र विभाजन अनि एकता प्रक्रियालाई सँगसँगै लाने विषयमा अभ्यस्त नै छन् । अब हिजोका तीता, टर्रा, अमिला विषयलाई बहसको विषय बनाएर समय बर्बादी गर्ने र विगतलाई सम्झेर भविष्य बिगार्नेभन्दा पनि ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै नयाँ आधारमा नयाँ एकता कायम गर्ने दिशामा अगाडि बढ्नुको विकल्प देखिँदैन । एकीकृत वाम आन्दोलनमा नै देश र जनताको भलो छ र पार्टी र सिङ्गो आन्दोलनको भविष्य छ ।

बरु एकताको प्रारम्भिक बिन्दु र एकताको बलियो रसायनको सामूहिक खोजी गर्न जरुरी छ । हिजो वैचारिक बेमेलका कारण कतिपय सन्दर्भमा व्यक्तिगत टकरावका कारण, निषेधात्मक प्रवत्तिका कारण, समय समयमा राजनीतिमा घटिरहने केही घटनाक्रमहरूलाई बुझ्ने सन्दर्भमा देखिने फरकपनाका कारण र स्वार्थ समूहहरूको आन्तरिक लडाइँका कारण पार्टी विभाजन भएका छन् । इतिहासबाट शिक्षा लिँदै एकताका नयाँ सम्भावनाको खोजी गर्नु नै समाजवादी व्यवस्था चाहने जनताहरूको प्रतिनिधित्व गर्छु भन्ने वाम पार्र्टीहरूको दायित्व हुन आउँछ । 

नेपाली विशेषताको समाजवादमा जाने सैद्धान्तिक सहमति सबैको छ । बरु यसलाई मूर्त र समृद्ध गर्न मेहनत गर्नु पर्दछ । समाजवादमा पुग्ने बाटो के हुने भन्ने बारेमा सङ्घर्ष, प्रतिस्पर्धा र सहकार्य यो तीन विधिमा खुला बहस गर्दा त्यति असजिलो हुने पनि देखिँदैन । कम्युनिस्ट पार्टीमा सबैभन्दा जटिल बन्दै आएको विषय नेतृत्वको प्रश्नलाई एउटा समयसापेक्ष विधि बनाएर हल गर्दा उपयुक्त होला । इतिहासको सम्मान हुने, क्षमताहरूलाई अवसर प्राप्त हुने र नयाँ पुस्तालाई आन्दोलनमा भविष्य देखाउने नेतृत्व प्रणालीको विकासको कुनै विकल्प नै छैन ।

सामूहिक नेतृत्व वा एकल नेतृत्व, आवधिक नेतृत्व, चक्रीय प्रणाली, उमेरको हदबन्दी, सरकार र पार्टीको नेतृत्वको सन्दर्भ वा एकल जिम्मेवारी जस्ता विविध आयामहरूमा सबैको अस्तित्व स्वीकार गर्ने गरी सङ्गठनमा नयाँ विधिको विकास गरेर साङ्गठनिक क्षेत्रमा देखा पर्दै आएको अन्तरविरोधहरूको हल गर्न नसक्ने विषय पनि त छैन । अरू दुनियाँमा सम्भव हुने नेपालमा सम्भव नहुने पनि त होइन । तसर्थ असीको दशकलाई वाम एकताको दशक, समाजवादको दशक बनाउने हो भने एकीकृत वाम आन्दोलन अनिवार्य छ ।

नेपाली समाजमा समाजवाद यति लोकप्रिय बनेको छ । वामपन्थी आन्दोलनभन्दा बाहिरका नयाँ पुराना सबै राजनीतिक शक्तिहरू समाजवादलाई स्वीकार गर्नुपर्ने बाध्यात्मक अवस्थामा छन् । समाजवादको विरोध गर्ने हो भने पार्टी नै चल्न नसक्ने अवस्था छ । यस्तो वातावरण बेनेको अवस्थामा समाजवादकै लागि जेलनेल भोगेका नेताहरू, हजारौँको सङ्ख्यामा बलिदान गरेका पार्टीहरूले बुद्धि नपु¥याउने हो भने यो सुनौलो अबसरले वामपन्थीलाई छाड्नेछ । इतिहासले वर्तमानका नेतृत्वहरू र पार्टीहरूलाई धिक्कार्नेछ । तसर्थ नयाँ पुस्ताको भविष्यसँग जोडिएको आन्दोलन भएको हुनाले एकीकृत कम्युनिस्ट आन्दोलनको बहस हामीले किन नगर्ने ? शक्तिशाली कम्युनिस्ट आन्दोलन र समाजवादी गणतन्त्रको नारा हामीले किन नलगाउने ? सबैले आआफ्नो अहङ्कार छोड र विकेन्द्रित जनमतलाई केन्द्रित गर किन नभन्ने ? आन्दोलन कसैको पेवा हुन सक्दैन, समाजवादमा जाने जनताको चाहनालाई सम्मान गर किन नभन्ने ?

त्यसैले हामीले भाग शान्तिको कुरा छाडौँ । म कहाँ हुन्छु भन्ने हिसाब किताब नगरौँ । हिजोका आग्रह पूर्वाग्रहका कुरा छाडौँ । हामी धेरैतिर छरिएका छौँ । एक ठाउँमा आउने प्रयत्न गरौँ र शक्ति सञ्चिति गरौँ । सबैतिर आशावादको सञ्चार गरौँ । समाजवादमा पुग्न र दलाल पँुजीवादसँग लड्ने नयाँ हतियारको विकास गर्न नयाँ पुस्ताले एक स्वरले नारा लगाऔँ– सबै वाम एकै ठाम !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काजी गुरुङ
काजी गुरुङ
लेखकबाट थप