जेठमा आउन लागेका यी ६ फिल्मले कस्तो गर्लान् व्यवसाय ?

समाचार सारांश
- वैशाखमा रिलिज भएका फिल्मले खासै राम्रो व्यापार गर्न सकेनन्, जेठका फिल्मको परीक्षा बाँकी छ।
- जेठमा 'के घर के डेरा: घर नम्बर २' र 'हेल्लो काशिराम' एकै दिन रिलिज हुँदै प्रतिस्पर्धामा उत्रिनेछन् ।
- राजेश हमालको 'नरसिंहा अवतार' जेठ ९ गते रिलिज हुनेछ, अन्य फिल्मसँग जुध्ने सम्भावना कम छ।
- जेठमा 'महाभोज', 'जन्ते बाख्रो' र 'भाइरल गोर्खे' जस्ता विभिन्न विधाका फिल्महरू प्रदर्शनमा आउँदैछन्।
काठमाडौँ । वैशाखमा नेपाली फिल्मको व्यवसाय खासै उत्साहजनक रहेन । ‘भूठान,’ ‘खेल,’ ‘झिल्को,’ ‘जार’ र ‘उनको स्वीटर’ गरेर ५ फिल्म प्रदर्शन आएको वैशाखमा ‘उनको स्वीटर’बाहेक अरूले गतिलो व्यवसाय गर्न सकेनन् ।
गत २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको ‘उनको स्वीटर’ले सुरुवाती व्यवसाय राम्रो गरेको छ । यद्यपि एक साताको व्यापार हेर्नै बाँकी छ । फिल्म प्रदर्शनरत छ ।
व्यावसायिक रूपमा अपेक्षाकृत फिल्म ‘भूठान,’ ‘झिल्को’ र ‘जार’ले पनि आशातीत दर्शक पाउन सकेनन् । यस्तैमा जेठमा ६ वटा फिल्म आउँदै छन् । ती फिल्महरू सामाजिक, हास्यप्रधान, धार्मिक र राजनीतिक विषयका छन् ।
‘के घर के डेराः घर नम्बर २,’ ‘हेल्लो काशिराम,’ ‘नरसिंहा अवतार,’ ‘महाभोज,’ ‘जन्ते बाख्रो’ र ‘भाइरल गोर्खे’ फिल्ममा जेठमा आउँदैछन् ।
शुक्रबार फिल्म रिलिज हुने परम्परा छ । जेठमा पाँच शुक्रबार परेका छन् । अर्थात् कुनै नै कुनै फिल्म भिड्ने पक्का छ ।
जेठको पहिलो शुक्रबार (२ गते) ‘के घर के डेराः घर नम्बर २’ र ‘हेल्लो काशिराम’ प्रदर्शनमा आउने तयारीमा छन् । यी दुवै फिल्म व्यावसायिक प्रतिस्पर्धामा एक अर्काेसँग जुध्न लागेका हुन् । ‘के घर के डेराः घर नम्बर २’ नकिम उदीन, शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठले बनाएका हुन् भने ‘हेल्लो काशिराम’का निर्माता पीबी थापा हुन् ।
जेठको दोस्रो शुक्रबार भने राजेश हमाल अभिनित बहुप्रतीक्षित (जेठ ९ गते) ‘नरसिंहा : अवतार’ रिलिजको तयारीमा छ । अर्थात् योसँग कुनै पनि फिल्म जुध्ने अवस्था देखिएको छैन । फिल्मका निर्माता नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने हुन् ।
त्यस्तै, तेस्रो शुक्रबार (१५ गते) ‘महाभोज,’ चौथो शुक्रबार (२३ गते) ‘जन्ते बाख्रो’ र पाँचौँ शुक्रबार (३० गते) ‘भाइरल गोर्खे’ रिलिजको तयारीमा छ । अहिलेसम्म यी सबै फिल्मले पनि सिंगल रिलिज अवसर पाएको देखिन्छ । तर रिलिज मितिसम्म अर्काे थपिँदैन भन्ने अवस्था पनि छैन । कारण, फिल्म रिलिजको चाप बढ्दो छ । ‘महाभोज’ हिमाल कडरिया, ‘जन्ते बाख्रो’ सन्तोष गौतम र ‘भाइरल गोर्खे’ विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवरले निर्माण गरेको फिल्म हो ।
- व्यावसायिक अपेक्षा कस्तो ?
जेठमा रिलिजमा आउन लागेका ‘के घर के डेराः घर नम्बर २,’ ‘हेल्लो काशिराम,’ ‘नरसिंहा अवतार,’ ‘महाभोज,’ ‘जन्ते बाख्रो’ र ‘भाइरल गोर्खे’ सबैको व्यावसायिक अपेक्षा उच्च छ । किनभने यी फरक–फरक कथावस्तु, चर्चित कलाकारहरूको अभिनय र अनुभवी निर्देशकका फिल्म पर्छन् ।
‘के घर के डेराः घर नम्बर २’ दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म हो । खनाल थुप्रै सफल फिल्म दिएका राम्रा र अनुभवी निर्देशक हुन् । साहित्यकार बुद्धिसागरको लेखन रहेको फिल्ममा चलेका कलाकार खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे लगायतको अभिनय छ । डेरामा बस्ने र घरबेटीबिचको हास्यपूर्ण द्वन्द्व फिल्ममा देख्न पाइन्छ ।
‘हेल्लो काशिराम’ रीम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको फिल्म हो । विश्वकर्मा लामो समयदेखि फिल्म क्षेत्रमा छन् । यसअघि पनि उनले आधा दर्जन बढी फिल्म बनाइसके ।
सामाजिक व्यङ्ग्यमा आधारित फिल्ममा दिलीप रायमाझी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई, अर्जुन गुरुङ, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीलगायत कलाकारहरूको अभिनय छ । फिल्ममा अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा देखिनेछिन् ।
‘नरसिंहा अवतार’ दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म हो । फिल्ममा हमालसँगै सरोज खनाल, नीति शाह, प्रशान्त ताम्राकार, नीर शाहलगायत चर्चित कलाकारको अभिनय छ । एक्सन–सोसल ड्रामा फिल्मले धार्मिक दृष्टिकोणबाट दर्शकलाई आकर्षित गर्ने अपेक्षा छ । अभिनेता हमाल ८ वर्षपछि यसैमार्फत फिल्ममा फर्किएका हुन् ।
त्यस्तै ‘महाभोज’ निर्देशक दिनेश राउतले बनाएको फिल्म हो । गाउँ समाजको राजनीति, भ्रष्टाचार र जनताका संघर्षमाथि केन्द्रित ‘महाभोज’मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत राम्रा कलाकारले भरिएको छ ।
‘जन्ते बाख्रो’ पनि सिमोस सुनुवार निर्देशित फिल्म हो । कमेडी कथा बताइएको फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ । गरिबी, सपनाको पछाडि दौडिरहेको जीवन र समाजका विविध पक्षलाई फिल्मले कथा बनाएको छ ।
‘भाइरल गोर्खे’ सामाजिक सञ्जालमा भाइरल बन्ने चाहनाले मानिसको जीवनमा पर्न सक्ने प्रभावको कथामा बनेको फिल्म हो । निगम श्रेष्ठ निर्देशित फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेललगायत अनुभवी कलाकारको अभिनय छ ।
जेठमा रिलिज हुने फिल्मले राम्रो व्यवसाय गर्न सक्ने वितरक रोहित कट्टेलले बताए । ‘यो जेठमा संयोग कस्तो छ भने, रिलिज आउन लागेका सबै फिल्म निर्देशक र कलाकार राम्रा छन्,’ कट्टेलले भने । दर्शकले यो महिना भेराइटी कथा हेर्नसमेत पाउने उनको धारणा छ ।