आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देशहरुसँग सम्बन्ध बिस्तारका लागि खेलकुद उत्तम माध्यम : मन्त्री लिम्बू

शुक्रबार, ०८ भदौ २०८०, १८ : ३०
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद हरेक देशसँग सम्बन्ध सुधार गर्ने र देशको पहिचान उच्च बनाउने उत्तम माध्यम भएको बताएका छन् । 

नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा आयोजित ‘आऔं खेल खेलौं’ खेलकुद दिवस उद्घाटनका अवसरमा मन्त्री लिम्बूले खेलकुदको महत्वबारे धारणा राखेका हुन् । महाराजगञ्जस्थित प्रहरी एकेडेमी मैदानमा एकदिने प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री लिम्बूले उद्घाटन गरेका थिए । सो खेलकुद दिवस उद्घाटनका अवसरमा मन्त्री लिम्बूले खेलकुदको माध्यमबाट युवालाई अगाडि बढाउन सक्ने उल्लेख गर्दै बालबालिकालाई त्यसतर्फm प्रोत्साहित गर्नुपर्ने बताए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो । समावेशी र तन्दुरुस्त समाजको लागि एक माध्यमको रूपमा खेलकुद भन्ने नाराका साथ यो कार्यक्रम आयोजना भएको हो ।

खेलकुद दिवसमा नेपाल र भारत दुवै देशका परम्परागत खेल खो–खो, कबड्डी, पानढुंगे (सटोलिया), रुमाल लुकाई र टग अफ वार (तान डोरी) खेलाइएको थियो । यी खेलहरूमा विभिन्न नौ विद्यालयका सातदेखि १२ कक्षासम्मका १ सय २० भन्दा बढी विद्यार्थीहरू, सहभागी भए । उद्घाटनको अवसरमा भारतीय दूतावास र नेपालका सेलिब्रिटीबीच भएको डोरी तान प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिता दूतावासले नेपाली चलचित्रका नायक निखिल उप्रेती र तेक्वान्दोका खेलाडी दीपक विष्ट सम्मिलित सेलिब्रिटीको टोली २–१ ले हरायो ।  

शुक्रबार नै प्रहरी प्रशिक्षण केन्द्रमा भएको कबड्डीमा नेपाल पुलिस क्लबले भारतीय दूतावासको टोलीलाई हराएको थियो । शुक्रबार नै कार्यक्रम समापनको अवसरमा सहभागी टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

नेपाल तथा भारतमा खेलिने मौलिक एवं परम्परागत खेलकुदको जगेर्ना गर्दै नयाँ पुस्तालाई यी खेलबारे अभ्यस्त गराउन भारतीय दूतावास काठमाडौँ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले पहिलोपटक आयोजना गरेको हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप