आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले पुँजीपतिहरूलाई छानिछानी लखेटिरहेको छ : अध्यक्ष ओली

आइतबार, २४ भदौ २०८०, १८ : ३६
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पुँजीपतिहरूलाई छानिछानी लखेटिरहेको आरोप लगाएका छन् ।  

मीनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरुमाथि सरकारले छानिछानी दुःख दिने काम गरेको ओलीको जिकिर थियो । 

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय पुँजीको निर्माणमा योगदान दिइरहेका गुरुङ र यति होल्डिङ्सविरुद्ध गायत्री मन्तर जपेजस्तो जपेर लखेट्ने काम गरिरहेको बताए । 

यति होल्डिङलाई खेद्नेहरु दलाल पुँजीवादीहरु भएको भन्दै ओलीले यस्ताहरुको विरोध गर्न पाउने अवस्था समेत मुलुकमा नरहेको बताए । सरकारको गलत कार्यको विरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दे उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादहरुले मुलुकमा तमासा देखाइरहेको बताए । उनले धनिपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको भनि सरकारलाई प्रश्न समेत गरे ।

अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्रलाई सहकारीको अर्थ नै थाहा नभएको टिप्पणी समेत गरे । कांग्रेस सहकारीको पक्षमा नरहेको र माओवादी केन्द्र सुनजस्तो मोटो रकम जम्मा गर्ने धन्दामा रहेकाले उसलाई त्यसबारे कुनै मतलब नै नभएको ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि पनि व्यक्त गरे । ठूला पुँजिपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिवलाई भने ऋण दिँदै नदिएको अध्यक्ष ओलीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप