बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

६२८ जना महिलासहित ३ हजार ९१६ जना सैनिक दीक्षित

मङ्गलबार, २६ भदौ २०८०, १९ : ००
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । २०७९ मङ्सिर १ गतेदेखि नेपाली सेनाका ४१ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम सोमबार समापन भएको छ । तालिमबाट देशभर ३ हजार २८८ जना पुरुष तथा ६२८ जना महिला गरी कुल ३ हजार ९१६ जना सैनिकहरू दीक्षित भएका छन् ।

तालिम समापनका अवसरमा सैनिक जवानहरूले बेग्लाबेग्लै तालिम केन्द्रहरुमा अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए । श्री नं १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी सरोज प्रताप राणा र श्री नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले  कवाज निरीक्षण गर्नुका साथै सम्बोधन तथा उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए । तालिमरत शिक्षार्थीहरूको परिवारजनहरूको उपस्थितिमा तालिमको समापन कार्यक्रमहरू सञ्चालन भएको थियो ।

श्री नं १ सैन्य तालिम केन्द्रमा आयोजित समारोहलाई सम्बोधन गर्दै बलाधिकृत रथी सरोज प्रताप राणाले नेपाली सेना जस्तो गरिमामय संस्थामा सिपाही दर्जामा नियुक्त भएको सुखद घडीमा  तालिमे सिपाहीहरूलाई बधाई दिँदै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहँदै कर्मठ, बफादार, ईमान्दार, अनुशासित एवं नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालना गर्न तथा जस्तोसुकै विषम् परिस्थितिमा समेत विचलित नभई आफ्नो कर्तव्य पथमा अडिग रहन निर्देशन दिए ।

यसअघि भदौ गते प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पुरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्ने क्रममा तालिम सम्पन्न गर्ने सैनिकहरुलाई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही हुन लागेकोमा बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप