बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
नाडा अटो शो २०२३

‘नाडा अटो शो’ का मुख्य आकर्षण : २२ लाखको टाटा टियागोदेखि जिम्नीसम्म

दर्जनभन्दा बढी नयाँ मोडल, कसले के ल्याए ?
बुधबार, २७ भदौ २०८०, १९ : २०
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको १५ औँ संस्करणको बृहत् ‘नाडा अटो सो २०२३’ को रौनक तीव्र छ । भदौ २६ देखि ३१ गतेसम्म ६ दिन चल्ने अटो सोको आज दोस्रो दिन हो । 

अटो सोमा विभिन्न खालका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे विश्व प्रख्यात अटोमोबाइल ब्रान्डले भाग लिएका छन् भने अटो सोमा अवलोकनकर्ता (भिजिटरहरू) को समेत बाक्लो उपस्थिति देखिएको छ । जसमा ब्रान्डहरूले आफ्ना सस्तो मूल्यका गाडीदेखि महँगा र हाई लग्जरियस् मोडलका कारसमेत प्रदर्शन गरिरहेका छन् । अटो सोमा सामान्य १३ लाख मूल्यदेखि करोडमाथिका गाडीसमेत देख्न सकिन्छ । 

यस्तो छ अटो सोमा भाग लिएका चार पाङ्ग्रे सवारी ब्रान्डले प्रदर्शन गरिरहेका दर्जन बढी नयाँ मोडलहरू :

टाटा टियागो ईभी 

सिप्रदी ट्रेडिङले हालसम्मकै सस्तो मोडलका रूपमा अटो सोमा टियागो ईभी उतारेको छ । १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री क्षमतामा उपलब्ध टियागोलाई कम्पनीले २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजारसम्म मूल्य निर्धारण गरेको छ । जुन अटो सोको हट केक बन्न पुगेको छ ।

नेक्सन ईभी म्याक्स एक्स जेट प्लस 

कम्पनीले एसयूभी ईभीमा यसअघिकै टाटा नेक्सनको निरन्तरता ४०.५ किलोवाट ब्याट्री क्षमता र ४५३ किलोमिटर रेन्जमा नेक्सन ईभी म्याक्स एक्स जेट प्लससमेत अटो सोमा उतारेको छ । यसको सुरुवाती मूल्य ४५ लाख ९९ हजार रूपैयाँ रहेको छ ।

पन्च पेट्रोल 

१.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध टाटा पन्च पेट्रोल एसयूभी कार हो । ८६ बीएच पावरयुक्त इन्जिनले ११३ एनएम टर्क प्रदान गर्छ । गाडीमा ५ स्पिड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध छ भने यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गरिएको छ ।

पन्ज पुर, एड्भेन्चर एमटी, अकम्पलिस एमटी र क्रिएटिभ एमटी गरी चारवटा भेरियन्टमा उपलब्ध टाटा पन्जको मूल्य क्रमशः ३३ लाख ९९ हजार, ३७ लाख ४९ हजार, ४० लाख ४९ हजार र ४३ लाख ४९ हजार रूपैयाँ तोकिएको छ ।

हुन्डाई एक्सटर 

हुन्डाईको नयाँ उत्पादन एसयूभी एक्सटर अटो सो प्रदर्शनीमा राखिएको छ । हुन्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माइक्रो एसयूभी एक्स्टरलाई अटो सोको मुख्य प्रोडक्टका रूपमा लन्च गरेको हो । 

१.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध एक्सटर एसयूभीमा नै सबैभन्दा सस्तो पेट्रोल गाडी रहने बताइएको छ । तथापि कम्पनीले यसको मूल्य सार्वजनिक गरेको छैन । न्यु एक्सटरको मूल्य ४० लाखदेखि ४४ लाख हारहारी तोकिने अनुमान गरिएको छ ।

सुजुकी

अटो सोमा सुजुकीका ४ वटा मोडल प्रदर्शनीमा राखिएका छन् । सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोर्टसले नेक्स्ट जेनेरेसनले जिम्नी, फ्रोन्क्स, ग्रान्ड भिटारा र न्यु ब्रेजा प्रदर्शनीमा राखेको हो । यी चारवटै मोडल नेपालका लागि नयाँ भए पनि अवलोकनकर्ताहरूको रोजाइ र चासो भने न्यु जिम्नीमा देखिएको छ । 

जिम्नी 

अल्टिमेट अफ रोड एसयूभी जिम्नीको ५९ लाख ९९ हजार रूपैयाँ रहेको छ ।

फ्रोन्क्स

यस्तै अर्को न्यु मोडल फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । कम्पनीले १ लाख नगद छुट र १ लाख एक्सचेन्ज बोनसको दसैँ अफर ल्याएको छ । फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी कार हो । 

किया एक्सलाइन 

कियाको आधिकारिक बिक्रेता कम्पनी कन्टिनेन्टल ट्रेडिङले किया स्पोर्टेजको ५ औँ जेनेरेसन मोडल नेपाल ल्याएको छ । कम्पनीले स्पोर्टेजको टु ह्विल ड्राइभ सिस्टमसहितको टप भेरियन्ट एक्सलाइन नाडा अटो सोमा सार्वजनिक गरेको हो । 

नेपालमा मनपराइएको एसयूभीमध्येको एक स्पोर्टेजको एक्सलाइन भेरियन्ट निकै फिचर लोडेड छ । टु ह्विल ड्राइभ सिस्टम र ६ स्पिड अटोमेटिक गियरबक्समा उपलब्ध नयाँ स्पोर्टेजमा २.० लिटर क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५६ पीएस पावर र १९२ एनएम टर्क प्रदान गर्छ । कम्पनीले एक्सलाइनको बजार मूल्य १ करोड २५ लाख ९० हजार निर्धारण गरेको छ ।

महिन्द्रा स्कोर्पियो एन 

महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नी ग्रुप अन्तर्गतको अग्नी इन्कर्पोरेटले परिमार्जित न्यु स्कोर्पियो एन सार्वजनिक गरेको छ । २.२ लिटर फोर सिलिन्डर डिजेल इन्जिनमा उपलब्ध क्लासिक स्कोर्पिओ एनको बजार मूल्य ८० लाख ५० हजार रूपैयाँदेखि १ करोड २४ लाख रूपैयाँसम्म तोकिएको छ । कम्पनीले सोही उत्पादन स्कर्पियो एनलाई नाडा अटो सो २०२३ मा प्रदर्शन गरिरहेको छ । 

एमजी

एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ड मोटर्सले खास दुईवटा नयाँ ईभी मोडल नाडा अटो सो विशेषका रूपमा प्रदर्शनी गरिरहेको छ । कम्पनीले मिनी ईभीका रूपमा कमेट र एसयूभीमा न्यू एमजी–४ लाई प्रदर्शनीमा उतारेको हो ।

कमेट ईभी 

१७.३ किलोवाट ब्याट्रीका साथमा ३१.२६ किलोवाटको मोटर जडित कमेट ईभीलाई कम्पनीले १७ लाख ९९ हजार रूपैयाँदेखि २० लाख ९९ हजार रूपैयाँमा उपलब्ध गराएको छ । 

एमजी–४ 

यस्तै ५१ किलोवाट आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर जडित एमजी–४ को बजार मूल्य ४१ लाख ४९ हजार रूपैयाँदेखि ५८ लाख ९९ हजार रूपैयाँसम्म तोकिएको छ । एमजी–४ भिन्न २ भेरिएन्टमा उपलब्ध छ । यस कारले एक पटकको फूल चार्जमा ४३५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । 

सेरेस

पहिलो पटक नेपाल भित्रिएको चिनियाँ अटोमोबाइल ब्रान्ड सेरेसका दुईवटा ईभी मोडल सेरेस–३ र मिनी ईभी ई–१ अटो सो प्रदर्शनीमा राखिएका छन् ।

सेरेस–३ 

सेरेसका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धिले अटो सोको अवसर पारेर सेरेस ब्रान्डलाई नेपाली बजारमा भित्र्याएको हो । अटो प्रदर्शनीमा राखिएको एसयूभी सेरेस–३, ९९ किलोवाट पिकपावरका साथमा ५२.७ किलोवाट ब्याट्री क्षमतामा आएको छ । एक पटकको फुल चार्जमा गाडीले ४०५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसको मूल्य ४७ लाख ९९ हजार रूपैयाँदेखि ४९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।

मिनी ईभी ई–१ 

कम्पनीले मिनी ईभीमा ई–१ मोडलको तीनवटा भेरियन्ट बजारमा उतारेको छ । १३ किलोवाट ब्याट्री क्षमतामा उपलब्ध ई–१ को सुरुवाती मूल्य १३ लाख ९९ हजार रूपैयाँ तोकिएको छ भने टप भेरियन्टको मूल्य १७ लाख ९९ हजार रूपैयाँ पर्ने कम्पनीले जनाएको छ । 

बीवाईडी

बीवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इङ्कले अटो सोमा खास दुईवटा नयाँ मोडल प्रदर्शनीमा राखेको छ । कम्पनीले न्यून बीवाईडी सेल र डल्फिनलाई प्रदर्शनीमा राखेको हो । 

बीवाईडी डल्फिन 

७० किलोवाट मोटर पावरसहित ४४.९ किलोवाट ब्याट्री क्षमतामा उपलब्ध बीवाईडी डल्फिन इलेक्ट्रिकमा ह्याचब्याग सेग्मेन्टको कार हो । १८५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको कारले एक पटकको फुल चार्जमा ३४० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । आकर्षक मूल्यमा सार्वजनिक गरेको बीवाईडीलाई कम्पनीले ३९ लाख ८० हजार रूपैयाँमा नै उपलब्ध गराएको छ । 

सिल 

बीवाईडीले डल्फिनको साथसाथै प्रिमियम ईभी मोडल सिललाई समेत अटो सोमा उतारेको छ । यद्यपि तत्काल यो मोडल नेपाली उपभोक्ताहरूले किन्न पाउने छैनन् । नाडा अटो सोका लागि नै ल्याइएको यो मोडलको बजार मूल्य १ करोड ५ लाख हाराहारी पर्ने कम्पनीले जनाएको छ । 

निसान

नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नाडा अटो सो, २०२३ का अवसरमा आफ्ना तीनवटा नयाँ मोडलका गाडी सार्वजनिक गरेको छ । कम्पनीले निसान जेरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ इलेक्ट्रिक, नाभारा प्रो फोर एक्सका साथमा म्याग्नाइटको नयाँ एएमटी भेरियन्ट ‘निसान म्याग्नाइट एएमटी ईजेट–सिफ्ट’ सार्वजनिक गरेको हो । 

निसान लिफ्ट ४० किलोवाट आवरको लिथिनियम आयन ब्याट्रीयुक्त ईभी कार हो । न्यु युरोपियन ड्राइभिङ साइकल (एनईडीसी) मापदण्डका अनुसार उक्त ब्याट्रीले फुल चार्जमा ३११ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ । यस्तै १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा गाडीलाई कुदाउन सकिने कम्पनीको दाबी छ । यसको मूल्य भने तोकिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप