आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेम्वाङले हडबडाउँदै ओलीलाई भनेका थिए–डरलाग्दो स्थिति छ, संविधान जारी भएन भने सबै बरबाद हुनेछ

बिहीबार, २८ भदौ २०८०, २० : १८
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष स्व. सुवास नेम्वाङसँगकाे स्मृति सम्झिएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले नेम्वाङसँगको आठ वर्षअघिको स्मृति सम्झिएका हुन् । 

अध्यक्ष ओलीले नेम्वाङलाई बिदाइ गरेर आर्यघाटबाट फर्केपछि डायरीको पाना पल्टाउँदा आठ वर्षअघिको कठिन बेलाको दृश्य आँखा अगाडि आएको उल्लेख गरेका छन् । 

ओलीका अनुसार त्यो समयमा नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको र सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । 

सधैँ शान्त रुपमा प्रस्तुत हुने नेम्वाङ त्यो दिन कडारुपमा प्रस्तुत भएको उल्लेख गर्दै ओलीले नेम्वाङ हडबडाउँदै आफूसँग डरलाग्दो स्थिति बनेको र तीन गते संविधान जारी गर्नबाट रोकियो भने सबै बरबाद हुने बताएको भनेका छन् ।  

यस्तो छ ओलीको स्टाटसः

प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठिन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौँ । अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो । विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समूहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए । नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा रहन नदिने एउटा प्रहार खेपिरहेका थियौँ ।

संविधानसभामा सधैँ शान्त रुपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडा रुपमा प्रस्तुत हुनुभएको थियो । दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दबाब थियो । भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आउनुभयो । उहाँले अलि हडबडाउँदै भन्नुभयो- ‘डरलाग्दो स्थिति छ, ३ गते संविधान जारी गर्नबाट रोकियो भने संविधानमात्रै होइन, सबै बरबाद हुनेछ । यस्तो भयो भने त देश नै सकिन्छ ।’

उहाँ असोज ३ गते संविधान जारी गर्न संसदमा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ । ‘नआउन पनि सक्ने देखें, के गर्ने होला ?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनुभएको रहेछ । उहाँलाई मैले तपाईँ ३ गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ ।

हुन पनि संविधान जारी भएपछि नाकाबन्दी भयो । हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप