बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
चिकित्सकमाथि हातपात घटना

हेटौँडामा चिकित्सक कुटपिट: प्रहरी समक्ष चिकित्सक संघद्वारा उजुरी

हातपात गर्ने माथि के छ कारबाहीको व्यवस्था ?
बिहीबार, २८ भदौ २०८०, २३ : ०१
बिहीबार, २८ भदौ २०८०

मकवानपुर । हेटौँडाको सञ्चो अस्पतालमा चिकित्सकमाथि भएको हातपातको विषयमा नेपाल चिकित्सक संघले प्रहरी समक्ष उजुरी दिएको छ । घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी पठाएको हो ।

संघले पठाएको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल समक्ष पेस भएको र औपचारिक रूपमा शुक्रबार मात्र उजुरी दर्ता हुने भएको छ । सार्वजनिक बिदा र साँझ अबेर गरी संघको उजुरी प्राप्त भएकाले शुक्रबार मात्र उजुरी दर्ता हुने प्रहरी उपरीक्षक रिजालले बताए ।

बुधबार सञ्चो अस्पतालमा चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । गत साउन २५ गते उक्त अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय थापा र बिडारी माथि हातपात भएको थियो । उक्त अस्पतालमा प्रारम्भिक उपचार पछि प्रधानलाई थप उपचारका लागि चितवन पठाएको र उपचारका क्रममा मृत्यु भएको थियो ।

उक्त घटनाका विषयलाई लिएर कुटपिट भएका चिकित्सकहरूलाई उजुरी दर्तामा सुरक्षा थ्रेट आएपछि संघले संस्थागत रूपमा उजुरी दर्ता गराएको हो । जिल्लामा कार्यरत स्वाथ्यकर्मीहरुको सुरक्षा चुनौतीको विषयलाई मध्यनजर गर्दै घटनाबारे अनुसन्धान गर्न र संलग्नहरूलाई कारबाही गरी माग गर्दै संघले नेतृत्व लिएर काठमाडौँबाट प्रहरी समक्ष उजुरी दर्ताको लागि पठाएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।

उनका अनुसार प्रहरीको सामुन्नेमा नै चिकित्सकहरूलाई काट्छु र मार्छु भन्दा पनि प्रहरी निरीह बनेको र व्यक्तिगत रूपमा उजुरी दर्ता गर्न सक्ने अवस्था नरहेकाले संस्थागत रूपमा अघि बढ्ने तयारी भएको हो । उक्त योजनामा जिल्लामा सक्रिय रहेका स्वास्थ्य क्षेत्रका संघसंस्थाले नेतृत्व गर्ने निर्णय भए पनि राष्ट्रिय रूपमा सो विषयलाई अघि बढाउन संघले उजुरी पठाएको उनले बताए ।

प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा हेटौँडामा रहेका अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि थप सुरक्षा चुनौती देखिएको उनको भनाई छ । उक्त घटनाका विषयमा प्रहरीले ठोस कदम नचालेको भन्दै चिकित्सकहरूले सामूहिक राजीनामाको तयारी समेत गरेका थिए ।

चिकित्सकहरूले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेसु सापकोटालाई समेत बुझाइसकेका छन् । प्रहरीले तत्काल घटनामा संलग्नहरूलाई पक्राउ नगरेको खण्डमा मेसु सापकोटा सहितले राजीनामा पत्रमा हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाउने उनीहरूको तयारी गरेका थिए ।  यद्यपि हालसम्म सो राजीनामा पत्र प्रमुख जिल्ला अधिकारी समक्ष पुगेको छैन ।

त्यस्तै घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील मकवानपुरका संघसंस्थाले समेत प्रहरी समक्ष निवेदन दिएका छन् । नेपाल चिकित्सक संघ मकवानपुर, नेपाल औषधी व्यवसायी संघ मकवानपुर, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुर, नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुर, प्रगतिशील जनस्वास्थयकर्मी महासंघ मकवानपुर, एकीकृत राष्ट्रिय स्वास्थ्यकर्मी संघ मकवानपुर, मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपाल मकवानपुर, नर्सिङ संघ मकवानपुर, नेपाल डेन्टल एसोसिएसन अफिन एसोसिएट मकवानपुर लगायतले सामूहिक रूपमा प्रहरी समक्ष निवेदन दर्ता गराएका हुन् ।

४ जना पक्राउ

चिकित्सक माथि हातपात गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सिसिटिभी फुटेजको आधारमा प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।  

उनका अनुसार घटनामा संलग्न भएका अन्य व्यक्तिहरू पनि पक्राउ पर्ने र हालका लागि उजुरी दर्ता गरी प्रक्रियागत रूपमा अघि बढ्ने प्रहरीको तयारी रहेको छ । प्रहरीले घटनामा संलग्ननहरुको पहिचानका लागि सिसिटिभी फुटेज अनुसन्धान गरी रहेको उनले बताए । प्रक्रियागत रूपमा अघि बढी चिकित्सक माथि हातपात गर्ने र सो विषयमा संलग्न जाृे कोहीलाई पनि पक्राउ गरी कारबाहीको दायरामा ल्याइने उनको भनाई छ ।

काठमाडौँ पुगे डा. थापा

घटना पश्चात् सञ्चो हस्पिटलका जनरल फिजिसियन डा. थापाले काठमाडौँ पुगेका छन् । उनी उपचारका लागि काठमाडौँ पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ । डा. थापा बिहीबार बिहान ८ बजे परिवारसहित काठमाडौँ हिँडेका थिए ।

साङ्घातिक आक्रमणमा परी घाइते हुनुभएका डा. थापाले थप उपचारका लागि भन्दै हेटौँडा अस्पतालबाट रेफर लिएर काठमाडौँ पुगेका हुन् । सञ्चो अस्पतालको वार्डमा भर्ना भएका बिरामीको उपचारमा व्यस्त रहेका बखत डा. थापा र डा. बिडारी माथि साङ्घातिक आक्रमण भएको थियो ।

गण्डकी प्रदेशको कास्की जिल्ला घर भएका डा. थापा ९ वर्षदेखि हेटौँडामा कार्यरत रहेका थिए । करिब ५ वर्ष हेटौँडा–११ चुरेहिल हस्पिटलमा काम गरेका डा. थापा सञ्चो हस्पिटल स्थापनाकालदेखि नै प्रमुख चिकित्सकको रूपमा कार्यरत रहेका थिए ।

डा. थापाले तत्काल नियमित काममा फर्कने अवस्था नरहेको बताए । उनले हेटौँडा फर्किने विषयमा परिवारसँग सल्लाह गरेर मात्र निर्णय लिने उनले बताए ।

हेटौँडा नै घर भएका डा. बिडारी पनि हेटौँडा अस्पताल छाड्ने मनस्थितिमा पुगेका छन् । उनले हेटौँडा बसेर काम गर्ने वातावरण नहरेको भन्दै अस्पताल छाडने र काठमाडौँ नै बस्ने सोचमा पुगेको बताए । आफू नै असुरक्षित नहुने ठाउँमा काम गर्न नसक्ने भन्दै साँझ बिहान हिँड्न समेत समस्या हुने गरेको उनको भनाई छ ।

प्रशासन जिम्मेवार बन्नु पर्ने दलहरूको धारणा

घटना पश्चात् बिहीबार हेटौँडा अस्पतालमा चिकित्सकहरूसँग मकवानपुरका राजनीतिक दलहरूले समेत छलफल गरेका थिए । उक्त छलफलमा बुधबार चिकित्सक माथि भएको कुटपिटको घटनाप्रति मकवानपुरका राजनीतिक दलहरूले ध्यानाकर्षण भएको बताएका थिए । दलका प्रतिनिधिहरूले घटनामा संलग्न रहेकाहरू माथि छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, प्रहरी, प्रशासन जिम्मेवार हुनुपर्ने बताए ।

नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले चिकित्सक माथिको आक्रमण निन्दनीय रहेको र प्रशासनले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । घटनाका विषयमा छानबिन गर्न प्रहरी, प्रशासनले ढिलासुस्ती  गरेको प्रति चिन्ता व्यक्त गरे । उनले प्रशासन जिल्लाको शान्ति सुरक्षाका कायम गर्ने विषयमा गम्भीर भएर अघि बढ्न आग्रह गरे ।

त्यस्तै छलफलमा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले चिकित्सक माथि भएका आक्रमण जिल्लाकै बेइज्जतीको विषय भएको बताए । उनले घटनाको विषयमा सबै दलहरू एक भएर प्रहरी प्रशासनलाई सघाउन उनले आग्रह गरे । उनले घटनाका संलग्न दोषीलाई बचाउन दलहरू लाग्ने अवस्था हुन नहुने बताए ।

बागमती प्रदेशसभाका सदस्य एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामीले डाक्टरमाथि भएको आक्रमणले हेटौँडाको स्वास्थ्य क्षेत्रमा थप समस्या थप्ने बताए । यस्ता घटनाले चिकित्सकहरू हेटौँडामा बस्ने अवस्था बन्न नसक्ने र हेटौँडाको स्वास्थ्य क्षेत्र तहसनहस हुने उनको धारणा थियो ।

हातपात गर्ने माथि यस्तो हुनसक्छ कारबाही

चिकित्सक माथि हातपात गर्ने माथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन (पहिलो संशोधन) २०७९ अनुसार कैदसहित नगद जरिवाना समेत हुन सक्ने व्यवस्था रहेको छ । ऐनको दफा १५ को उपदफा २ (ख) अनुसार स्वास्थ्यकर्मी माथि आक्रमण गर्नेलाई कैद र नगद जरिवानासम्मको व्यवस्था गरिएको छ ।

‘एनेको दफा ३ को (ख) वा (ग) अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गरे ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।’ ऐनको दफा १५ को (ख)मा भनिएको छ ।

ऐनको दफा १५ क अनुसार घटनामा प्राप्त प्रमाणका आधारमा कसुरदारलाई तत्काल मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था समेत गरिएको छ । ऐनको दफा १५ क मा भनिएको छ, ‘ प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि ऐनको दफा १५ को उपदफा २ को खण्ड क वा ख अनुसारको सजाय हुने मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिए वा कसुरदार हो भन्ने विश्वास गर्ने आधार भएमा मुद्दा हेर्ने अधिकारीले पुर्पक्षका लागि थुनामा राख्न सक्ने व्यवस्था छ ।’

त्यस्तै ऐनको दफा १६ अनुसार दफा १५ बमोजिमको कसुर सम्बन्धी मुद्दा सरकारवादी हुने र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को अनुसूची १ अनुसार हुने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप