सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करकाे बयान

साढे दुई लाख भारुमा चिनियाँ तस्करलाई भारतमै नेपालको राहदानी डेलिभरी !

सन् २०१९ मै भारतमा सुन तस्करीमा पक्राउ परेका थिए मुख्य योजनाकार पुचेङ्ग
शुक्रबार, २९ भदौ २०८०, १४ : १५
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ परेका मध्येमा मुख्य योजनाकार भनिएका ‘एलेक्स’ भनेर चिनिने चिनियाँ नागरिक याओ पुचेङ्ग ले साढे दुई लाख भारु तिरेर नेपाली राहदानी हासिल गरेको अधिकारप्राप्त अधिकारीसमक्ष बयान दिएका छन् । 

लामो समयदेखि सुन तस्करीमा संलग्न रहँदै आएका ३६ वर्षीय पुचेङ्ग सन् २०१९ सेप्टेम्बर २० तारिखमा नै ४ किलो ९८ ग्राम सुनसहित भारतको दिल्ली एयरपोर्टमा पक्राउ परेका थिए । अदालतमा ५ लाख भारतीय रुपैयाँ धरौटी तिरेर छुटेका उनको राहदानी भने फिर्ता पाएका थिएनन् । 

त्यसपछि नेपालमा रहेका अली भन्ने ली वेन सुङले ‘मैले पनि नेपाली नागरिकता र पासपोर्ट बनाएको छु, १० हजार आरएमबी तिर्नुपर्छ,’ भनेर सुनाएका थिए ।  ली वेन सुङले नै भेटाएका अर्का चिनियाँको सहयोमा पुचेङ्गले नेपालको नागरिकता प्राप्त गरेका थिए । ली वेन सुङ पनि सन् २०२१ मा भारतमा मोल्टन मेटल अपरेसनमा त्यहाँको डाइरेक्टरेट अफ रेभेन्यू इन्टेलिजेन्सबाट ८३.५३ किलो सुन बरामद भएको कसुरमा समातिएर छुटेको पुचेङ्गले आफ्नो बयानमा खुलाएका छन् ।

पुचेङ्गका अनुसार उनले नेपाली राहदानी बनाउन नेपाल पनि आउन परेको थिएन । पैसा तिरेपछि भारतमा हुँदा नै उनले नेपाली राहदानी प्राप्त गरेका छन् । उनले बयानमा भनेका छन् :

‘म भारतमा हुँदा नै मैले नेपाली राहदानी प्राप्त गरेको थिएँ । सन् २०२० जुन महिनामा दिल्लीस्थित चाइनिज रेस्टुरेन्टमा भएको भेटघाटमा ली वेन सुङ पहिलो पटक काठमाडौँ आउँदासँगै बसेका लाओ हु भन्ने हु होईछ्याङ नाम गरेका चिनियाँ नागरिकले ‘तपाईंलाई आवश्यक परेको छ भने मैले नेपाली नागरिकता र पासपोर्ट तपाईँको नाममा बनाइदिन सक्छु भनेका थिए । 

पछि मैले हु होईछ्याङलाई ‘हुन्छ मलाई नागरिकता र पासपोर्ट’ बनाइदिनु पर्‍यो त्यसको लागि कति पैसा लाग्छ भनेकोमा उनले २ लाख ५० हजार भारतीय रुपैयाँ चाहिन्छ भने पछि मैले उनलाई उक्त रकम दिएको थिएँ । मेरो नामको नेपाली नागरिकता प्रमाण पत्र र पासपोर्ट बनाउन उनले मेरो फोटो मोबाइल फोनबाट खिचेर लगेका थिए । 

सन २०२१ अक्टोबर महिनाको अन्तिमतिर दिल्ली गुडगाँउ आएर मलाई होटलमा भेटेर मेरो फोटो टाँसिएको तेन्जिङ सोनम तामाङको नाममा मिति ५ अक्टोबर २०२१ मा जारी भएको नेपाली राहदानी नं. १२४२६०४२ भएको मेसिन रिडेवल नेपाली पासपोर्ट बनाई ल्याएर दिएका हुन् । उनले नेपाली नागरिकता प्रमाण पत्र भने मलाई दिएनन्  । उनले उक्त नेपाली राहदानी काठमाडौँ बौद्ध तिर बस्ने जिम्मी भन्ने कर्मा शेर्पाको सहयोगमा बताएको हो । तर के कहाँबाट बनाएको हो मलाई थाहा छैन । पछि दिल्लीमा एक होटलमा खाना खाने क्रममा हु होईछ्याङले शेर्पालाई चिनाएका थिए । 

पछि म नेपाल आए पछि शेर्पालाई वाल्दो क्यासिनोमा समेत भेटेको थिएँ । नेपाली राहदानी बाहेक भारतमा बस्दा मेरो एलेक्स नाममा सन २०२२ अप्रिल/मे महिनामा भारतीय आधार कार्ड बनाएको थिएँ । उक्त आधार कार्ड प्रयोग गरी नेपाल छिर्दा नेपालगंजमा प्लेनको टिकट काट्न प्रयोग गरेको थिए । 

उक्त आधार कार्ड नेपालमा प्रयोग नहुने हुँदा मलाई खासै मतलब भएन । कता हरायो मलाई थाहै भएन । उक्त आधार कार्डको नं. समेत मलाई याद छैन । मेरो फोटो टाँसिएको नेपाली राहदानी भारत गुडगाँउमा कोठा सर्ने क्रममा हराएको हो । उक्त पासपोर्ट म नेपाल आउने बेलामा धेरै खोजेँ तर भेटिन । उक्त राहदानी मैले नेपालमा ल्याएको छैन र कतै प्रयोग समेत गरेको छैन ।’

उनले आफू सुनको कारोबार गरी पैसा कमाउनकै लागि नेपाल आएको पनि खुलाएका छन् । उनले विभिन्न नामका कम्पनी दर्ता गरेर हङकङबाट ब्रेक प्याड, सेभर, स्मार्ट वाच, इलेक्ट्रोनिक्स मेसिनहरुलगायतमा नेपालमा सुन तस्करी गर्ने गरेको पनि खुलाएका छन् ।’

उनले भनेका छन् :

‘सुरुमा नेपालमा आई काठमाडौँको बौद्धमा रहेको सिचवान होटेलमा बसी पछि चप्पल कारखानामा भारत मणिपुरबाट केटी झिकाई घर भाडा लिई निजहरू सँग सँगै बस्ने गरेकोमा २०२३ जुन महिनाको पहिलो हप्तामा धुम्बाराही स्थित ग्रीन हिल सिटीमा घर भाडामा लिई म र ली वेन सुङसँगै बस्ने गरेकोमा सुन भएको ब्रेक प्याड समातिए पछि मैले उक्त घर पनि छाडी काठमाण्डौका विभिन्न होटलहरुमा लुकी छिपी बसी भागी भागी हिँड्ने क्रममा काठमाडौँ नयाँ बजारबाट पक्राउ परेको हुँ ।

काठमाडौँमा बसी विभिन्न नाम थर भएका नेपाली नागरिकहरूको नाममा पक्राउ परेका प्रतिवादीहरू समेत भई विभिन्न नामका रेडी ट्रेड प्रा.लि. लगायतका कम्पनी दर्ता गरी हङकङबाट ब्रेक प्याड, सेभर, स्मार्ट वाच (घडी), इलेकट्रोनिक्स मेसिनहरू लगायतका मालवस्तुमा सुन लुकाई नेपालमा अवैध पैठारी गरी सुनको अवैध कारोबार गर्ने गरेको थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप