तीज पर्वको परम्परा जोगाउनै गाह्रो
काठमाडौँ । आज व्रत बसेर तीज पर्व मनाइरहेकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिना दिनदेखि तीज लागिरहेको छ ।
तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । “भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो”, उनले हाँस्दै सुनाइन्, “दर खाने दिनसम्म नै यो क्रम चल्यो ।”
भदौ लागेदेखि नै प्रत्येक शनिबार र बिदाको दिन दरखाने कार्यक्रम हुँदै आए पनि आफू भने ती कार्यक्रममा सहभागी नभएको कौशलटारकी दुर्गा सत्यालले बताइन् । तीज आउनु एक महिना अघिदेखि नै यस्ता दरखाने कार्यक्रम राख्नुलाई उनी राम्रो ठान्दिनन् । उनले भनिन्, “तीज भनेको त सांस्कृतिक चाड हो, महिलाहरुको विशिष्ट चाड भएकाले यसलाई सोहीअनुरुप मनाउन सकिएन भने एक दिन यो पर्वले विकृत रुप लिनसक्छ । त्यसैले हाम्रो संस्कृति हामीले नै बचाउने हो, अरुलाई दोष दिएर हुँदैन ।”
अघिल्ला वर्षहरुमा आफू केही कार्यक्रममा गएको अनुभव सुनाउँदै उनले त्यस्ता दर खाने कार्यक्रमको ‘मेनु’ हेर्दा आफू चकित परेको बताइन् । मदिरा र मासुका परिकार खाँदै विदेशी गीतमा नाच्नुमा तीजको रौनक नआउने उनको अनुभव छ । उतिबेला आफूले गाउने गरेको तीज गीत सत्यालले यसरी सम्झँदै भनिन्:
‘हे... बाबा लिन आउनुभयो वर्ष दिनको तीजलाई पठाइदिनुस् स्वामी राजा दुई दिनलाई’
“दरखाने अघिल्लो दिन माइतीबाट दाजुभाइ लिन जाने चलन थियो । घरबाट श्रीमान्, सासू, ससुराले बिदा दिए त माइत गइन्थ्यो, नदिए घरमै रुँदै बस्नुको विकल्प हुँदैनथ्यो”, ती दिन सम्झँदै मीनाले भनिन्, “साथीसङ्गी र आफन्तसँग बसेर सबै पीडा, दुःख मेट्ने यो जत्तिको उपयुक्त चाड महिलाका लागि अरू छैन ।” उनको पुख्र्यौली घर अर्घाखाँची हो ।
तीजमा गाउने गीतको भाका र विशेषता अलग्गै भएको बताउने उनले उतिबेलाको तीज गीतलाई यसरी स्मरण गरिन् ।
‘छोरी मान्छे भएर बस्नु घरै स्याहारी
दिदीबहिनी आउँछन् मेरा नजाऊ पियारी’
‘दुई दिन माइत जान पाइन तीजका बेलामा
म चेलीको आँसु झर्यो दैलो ठेलामा ।’
गोरखाको मैलुङमा बाल्यकाल बिताएकी मध्यपुरथिमीकी राधिका देवकोटा पन्त २०४२ तिरको तीज सम्झँदै पुलकित छिन् । श्रीकृष्ण जन्माष्टमीको रातदेखि नै आमा दिदीबहिनी जम्मा भएर हरेक रात खानापछि हातले दाम्लो बाट्दै, मकै छोडाउँदै घन्टौँसम्म गीत गाएर बसेको स्मरण उनीसँग छ । बारीमै पाकेका काँक्राको अचार हाल्ने, घ्यू र मसलाको जोहो गर्ने मात्र होइन तीज भरिलाई पुग्ने दाउरा, घाँसको व्यवस्था गरेर महिला तीज मनाउन माइत जाने उनको अनुभव छ ।
“दर खाने दिन माइत पुगेपछि राति १२ बजे उठेर घ्यू, भात, तरकारी टन्न खाइन्थ्यो, तीजको दिन निराहार व्रत बसेर विभिन्न मठ, मन्दिरमा दर्शन गर्दै गीत गाउने र नाच्ने गरिन्थ्यो”, विगत सम्झँदै राधिकाले भनिन्, “भोलिपल्ट पञ्चमीको पूजा लगाएर बा, आमा, दाजुभाइ, साथीसङ्गी सबैलाई छोडेर माइतीबाट गह्रौँ मन बनाएर पुनःघर फर्किनुहुन्थ्यो आमाहरु ।”
राधिका, दुर्गा र मीनालाई अहिलेको तीज मनाउने प्रचलन पटक्कै मन परेको छैन । यो बीचमा आएका निकै उतारचढावले संस्कृतिमा पारेको प्रभावबारे जानकारहरु चिन्ता गर्छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न, लाइक गर्न र कमेन्ट हेर्न रुचाउनेको भीडले संस्कृति जोगाउन नसकेको उनीहरुको तर्क छ ।
वाल्मीकि क्याम्पसकी उपप्राध्यापक तनुजा दाहालले तीज मनाउने तरिका वा समय लामो देखिए पनि आफन्तको बीचमा हुने भेटघाट र मनोरञ्जन आदानप्रदानबाट मानसिक तनाव न्यूनीकरण गर्न मद्दत गरेको बताइन् । तीज मनाउने प्रचलनमा देखिएको भिन्नताबारे उनले भनिन्, “परिवारको विस्तृतीकरण, आर्थिक सम्पन्नता, नारीहरुको कार्यव्यस्तता आदि कारणले तीज प्रचलनमा फरकपना देखिएको हो ।” धर्म र पर्वको सही प्रयोग गर्नसके संस्कार र संस्कृतिको वास्तविक सम्मान, संरक्षण र संवर्द्धन हुनसक्ने दाहालको भनाइ छ ।
तीज र यस्तै हाम्रा धार्मिक सांस्कृतिक पर्वहरुका आफ्नै मूल्य मान्यताहरु रहेका छन् । तिनको अनुसरण गर्न सक्यौँ भने मात्र हाम्रा परम्पराहरु पनि आगामी पुस्तामा पुस्तान्तरण हुँदै जानेछन् । अन्यथा खानपिन र रङ्ग रमाइलो मात्र गर्ने क्रम पुस्तान्तरण हुने तर खास परम्पार र संस्कार भने लोप हुने खतरा रहेन देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण