शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बुढो हुँदै जापानको जनसङ्ख्या : १० प्रतिशतभन्दा बढी ८० वर्षमाथि

मङ्गलबार, ०२ असोज २०८०, ११ : २२
मङ्गलबार, ०२ असोज २०८०

टोकियो । जापानको १० प्रतिशतभन्दा बढी जनसङ्ख्या ८० वर्ष वा सोभन्दा बढी उमेरको रहेको सरकारले सोमबार जानकारी दिएको छ । प्रौढ जनसङ्ख्याको समस्या झेलिरहेको जापानको लागि यो अर्को चिन्ता थप्ने तथ्याङ्क हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार जापानको प्रौढ जनसङ्ख्या, जसलाई ६५ वर्षभन्दा माथि भनेर परिभाषित गरिएको छ, पनि कूल जनसङ्ख्याको २९.१ प्रतिशत पुगेको छ । यो दर विश्वमै सबैभन्दा उच्च हो ।

सार्वजनिक बिदा दिइने ‘रेस्पेक्ट फर एज्ड डे’ को अवसरमा मन्त्रालयले यो तथ्याङ्क सार्वजनिक गरेको बताइएको छ । घट्दो जन्मदर र काम गर्ने जनशक्तिको कमीको समस्या झेलिरहेको जापानले बढ्दो प्रौढ जनसङ्ख्याका कारण पेन्सन र स्वास्थ्यमा ठुलो रकम खर्चनु पर्ने देखिएको छ ।

सन् १९८० ताकाको आर्थिक विकासपछि जापानको जनसङ्ख्या निरन्तर रूपमा ओरालो लागिरहेको छ । त्यहाँको प्रजनन दर १.३ रहेको छ जबकि आप्रवासीको आवागमन नहुँदा स्थिर जनसङ्ख्या राख्न यो दर २.१ आवश्यक रहेको बताइन्छ ।

जापानमा नयाँ जन्मभन्दा मृत्यु हुनेको सङ्ख्या बढी हुन थालेको एक दशकभन्दा बढी भइसकेको छ । यसले विश्वको तेस्रो ठुलो अर्थतन्त्रको नेतृत्वलाई ठुलो समस्या खडा रहेको छ । –सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप