बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : पहिलो खेलमै पराजित भए टेनिस खेलाडी माहिका र अभिलाषा

आइतबार, ०७ असोज २०८०, १४ : ४५
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालका टेनिस खेलाडी माहिका राणा र अभिलाषा बिष्ट पराजित भएका छन् । महिला एकलतर्फको शुक्रबार भएको खेलमा माहिकालाई दक्षिण कोरियाकी सोह्युन पार्कले हराएकी हुन् । 

दक्षिण कोरियाली प्रतिद्वन्द्वीविरुद्घको खेलमा माहिकाले एक अंकमात्र जोड्न सकिन् । पहिलो सेटको खेलमा कोरियाली खेलाडी पार्क ६—० ले विजयी भइन् । उनले दोस्रो सेटको नतिजालाई भने ६—१ ले आफ्नो पक्षमा पारेकी थिइन् । 

महिला एकलतर्फकै अर्को खेलमा नेपालकी अभिलाषालाई थाइल्यान्डकी मनानचाया सामनकावेले हराएकी हुन् । उक्त खेलमा अभिलाषाले एक अंक पनि बटुल्न सकिनन् । थाल्यान्डकी खेलाडीले ६—०, ६—० ले नतिजालाई आफ्नो पक्षमा पारेकी थिइन् । 

यसैगरी पुरुष डबल्सतर्फ पनि नेपाली खेलाडी पहिलो चरणमै पराजित भएका छन् । पुरुष डबल्सतर्फ भारतले नेपाललाई ६—२, ६—३ अंकले हराएको हो । पुरुष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदिप खड्काले प्रतिस्पर्धा गरेका थिए । भारतको तर्फबाट सकेथ साई माइनेनी र रामकुमार रामानाथनले प्रतिस्पर्धा गरेका थिए । 

यसअघि टेनिसको पुरुष एकलतर्फ नेपाली खेलाडी प्रदिप खड्का दोस्रो चरणमा प्रवेश गरेका थिए । उनले पहिलो चरणको खेलमा टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई हराएका हुन् । प्रदिपले पहिलो सेटको खेलमा एन्टोनियोलाई ६—० अंकले हराएका थिए । दोस्रो सेटको खेलमा पनि प्रदिप ६—० ले नै विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप