बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सेज

भैरहवा सेजमा उद्योगी तान्न सकस : क्षमताको एक चौथाइ मात्र उद्योग स्थापना

सोमबार, ०८ असोज २०८०, ०६ : १२
सोमबार, ०८ असोज २०८०

बुटवल । भैरहवास्थित सेज स्थापना भएको वर्षौँ भए पनि अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । स्थापनाकालदेखि अहिलेसम्म राज्यले  झन्डै ७५ करोड सेजमा खर्चे पनि उपर्युक्त नीति ल्याउन नसक्दा यहाँ उद्योगी आकर्षित हुन सकेका छैनन्। न त यहाँ भएको उद्योगले पूर्ण क्षमतामा आफ्नो उत्पादन गर्न सकेका छन् । 

सेजमा ५२ बिघा जग्गामा ६८ वटा प्लटमध्ये अहिले ७ वटा उद्योग मात्र सञ्चालनमा छन् भने ३ वटा निर्माणाधीन अवस्थामा छन् । २०७३ सालदेखि उद्योग निर्माण भएको सेजमा  २०७६ वाट शक्ति मिनिरल्स प्रालिले आफ्नो उत्पादन बाहिर लैजान थालेको हो । अन्य उद्योगहरू त्यसपछि  सुरु भएका हुन् । यहाँ अझै करिब  ३० वटा उद्योग स्थापना हुने क्षमता राख्छन् । 

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले सेजमा अझै पनि उद्योगीहरू आकर्षण गर्न नसक्नुमा नीतिगत समस्या रहेको बताए । 

अर्कोतिर सेजमा सम्झौता गर्न उद्योग स्थापना गर्नको लागि ‘पर्ख र हेर’को अवस्थामा बसेकाले उद्योगी आकर्षित हुन नसकेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले रातोपाटीलाई बताए । 

कस्ता कस्ता छन् समस्या ?

कुनै बेला उद्योगहरूले यहाँको  सेजप्रति निकै लालायित थिए । जब सेज निर्माणमा ढिलाइ भयो, त्यसपछि सेजमा दिने सुविधाप्रति  एकपछि अर्को गर्दै सरकार तर्किन थाल्यो । अनि  सेजमा  प्लट लिएका उद्योगीहरूले समेत उद्योग स्थापनाको लागि  रुचि देखाएनन् ।

त्यस कारण वर्षौँदेखि उद्योगको नाममा जग्गा राख्ने तर उत्पादन नगर्ने दुई दर्जन उद्योगसँग सेजले सम्झौता भंग गर्नु परेको छ । 

सेजमा उद्योग स्थापना गरेको पञ्चकन्याका  प्रबन्ध निर्देशक देवेन्द्र साहुले रातोपाटीसँग भने, ‘यहाँ स्थापना भएका उद्योगलाई सुरुमा दिने भनेका सुविधा नै दिइएको छैन  । यहाँ सरकारले तोकिएको पूर्वाधार पनि बनाई दिँदैन । अनेक झमेला छन् । त्यसैले, हामी उत्पादन पनि पूर्ण रूपमा गर्न कठिन अवस्थामा छौँ । ’

सेजमा सरकारले  डेडिकेटेड लाइन दिने, यहाँ उत्पादन भएको बस्तुको भन्सारको कागजपत्र  यहीँबाट गर्ने, बैङ्क, बिमा आदिको लागि सम्झौता गरेको थियो ।  तर, पूरा भएन । पछि  पछि बेला बेला लाइन जाने समस्या उद्योगीहरूले झेल्नु परेको निर्देशक साहुले बताए । 

सेजको भाडादर महँगो त छँदैछ । यहाँ उत्पादन भएको वस्तुहरू अनिवार्य  ६० प्रतिशत बाहिर विक्री गर्नुपर्ने पनि हुन्छ । विश्व बजार निकै प्रतिस्पर्धात्मक भएको बेलामा  यस्ता नीतिगत कारणले पनि उद्योगीहरू उत्साहित भन्दा पनि हतोत्साहित भएको सेजमा प्लट लिएका उद्योगी राजेन्द्र गुप्ताले गुनासो गरे । 

विभिन्न झन्झट बेहोरेर भए पनि  तीन वर्ष अघिबाट सेजमा स्थापना भएका  ७ उद्योगले उत्पादन सुरु गरेका त छन् । तर, राम्रो परिणाम दिने वातावरण नभएको गुप्ताको आरोप छ । 

सेजमा ऊर्जामूलक, उत्पादनमूलक, कृषि जन्य, वनपैदवारसँग सम्बन्धित उद्योग, खानी, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग र सेवामूलक उद्योग खोल्न सकिने प्रावधान छ ।

सेज परिसरमै बैङ्क, इन्सुरेन्स कम्पनी, उत्पादित वस्तुको प्रदर्शनी हल, सेमिनार हल, चाइल्ड केयर सेन्टर, विद्यालय, हुलाक, स्वास्थ्य चौकी, मनोरञ्जन स्थललगायत सुविधा हुने बताइए पनि बैङ्क, हुलाक र बिमा कम्पनीको शाखा मात्र सञ्चालनमा आएका छन् । 

के भन्छन् सेज अधिकारी ?

सेजका इन्जिनियर सबुत डुम्रेका अनुसार  सेजको केही व्यवहारिक र नीतिगत समस्याका कारण  पूर्ण रूपमा सञ्चालन हुन  ढिलाइ  भएको छ । उनी अहिले सम्झौता गरेका प्लटमा उद्योगहरू खुल्ने विश्वस्त छन् । 

अहिले नयाँ तीनवटा उद्योग निर्माणको क्रममा छन् । अरू पनि दर्ता या बैङ्किङ प्रक्रिया होलान् । डुम्रेले यहाँ उद्योगीहरूले उठाएको भाडादर संशोधनको प्रक्रियामा रहेको बताए । 

त्यस्तै, निर्यातको प्रतिशत घटाएको अवस्था छ । अर्थमन्त्री डा प्रकाशशरण महतले  बजेट भाषणमा समेत सेजमा उद्योगीहरूको  निर्यातको  अहिले ६० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा लैजाने  घोषणा गरेकोले  त्यो लागू हुने चरणमा रहेको उनले बताए ।

उनले सेजमा उद्योगीहरूलाई राख्न राज्यले धेरै लगानी गरेको भन्दै विद्युत् र भन्सारको समस्या दसैँ तिहारसम्म सम्बोधन हुने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप