सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा डेङ्गु : आठ सय भन्दा बढी सङ्क्रमित

मङ्गलबार, ०९ असोज २०८०, २० : ०३
मङ्गलबार, ०९ असोज २०८०

कञ्चनपुर ।  बितेका आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा गरी गरी तीन जनाको मृत्यु भएको जानकारी दिए। “तथ्याङ्कअनुसार यहाँ गत माघयता आठ सय ७७ जनामा सङ्क्रमण देखिसकेको छ ।” जोशीले भने, “तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण हुँदै आएको छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले सङ्क्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लाका स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

 गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा नौ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेङ्गुको सङ्क्रमण यस पटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ । सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हात खुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ ।

त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले डेङ्गु रोकथाम र सचेतना अभियान नौवटै पालिकामा सञ्चालनमा रहेको बताए ।

उनले वडा वडामा माइकिङ गर्ने, जोगिने उपायबारे नागरिकलाई जानकारी गराउनेलगायत काम चलिरहेको बताए । “स्थानीय तहसँग मिलेर ‘लार्भा खोज, नष्ट अभियान’ पनि सबै पालिकामा सञ्चालन गरेका थियौँ”, उनले भने, “पानी पर्ने क्रम चलिरहेकाले अझै यसको जोखिम कायम छ ।” उनले यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट पनि नौवटै पालिकालाई पत्राचार भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप