आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रमा क्रियाशील संघ–संगठनको संजालले अघि सार्‍यो चार बुँदे माग

बिहीबार, ११ असोज २०८०, १६ : ५३
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघ–संगठनहरुको संजालले सरकारसँग चार बुँदे माग अघि सारेको छ ।

केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की, चितवन, बुटवल, मोरङ, पाटन लगायतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको भन्दै संजालले पेसागत सुरक्षाका लागि चार बुँदे माग अघि सारेको हो ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सुरक्षाका लागि नेपाल सरकारबाट हालसम्म गरिएका प्रतिबद्धतालाई व्यावहारत कार्यान्वयन नगर्ने हो भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको दायित्व र कर्तव्यनिष्ठाले मात्र नेपालको स्वास्थ्य सेवालाई न्याय गर्न नसक्ने भन्दै संजालले आफ्ना माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (संशोधन सहित) को अक्षरस पालना गरी हालै पोखरा र हेटौंडा लगायत अन्य ठाउँका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएको सांघातिक आक्रमणकारीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही हुनु पर्ने र भावी दिनमा देशका कुनै पनि स्वास्थ्य संस्थामा यस्ता घटनामा संलग्न दोषीलाई तत्कालै पक्राउ गरी सोही ऐन बमोजिमको सजाय हुनु पर्ने संजालको माग छ ।

यस्तै, हाल आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका सबै मागलाई तत्काल पूरा गर्नुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई अझ सशक्त र प्रभावकारी बनाउनका लागि कानुन परिमार्जन तथा कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने माग पनि संजालले अघि सारेको छ ।

संजालका संयोजक डा. अनिल विक्रम कार्की र सदस्यसचिव माइकल देवकोटाले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघ संगठनहरूको संजालसँग विगतमा भएका सबै सम्झौताहरूको अक्षरस पालना हुनुपर्ने माग पनि अघि सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप