बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

मोडल अनिता : मोडलिङबाट कमाउने, समाजसेवामा लगाउने

शुक्रबार, १२ असोज २०८०, ११ : ०४
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । मोडलिङमा ‘जम्प’ गर्नेहरूको प्रायःको उद्देश्य हुन्छ नाम, दाम र चर्चा । तर, यी सबैबाट भिन्न छिन् अनिता यादव । अनिता अन्य कारणले भन्दा समाजसेवाका लागि यो पेसामा छिन् । मोडलिङबाट जति कमाउँछिन्, सबै समाजसेवामा लगाउँछिन् ।

मोडलिङबाट आएको आम्दानी आफूले अहिलेसम्म व्यक्तिगत खर्चमा प्रयोग नगरेको उनी बताउँछिन्, ‘म मोडलिङबाट जे जति कमाउँछु । त्यो सबै वृद्धाश्रम, अनाथाश्रम लगायतमा दिँदै आएकी छु ।’ 

हल्ला गरेर गर्ने समाजसेवा आफूलाई मन नपर्ने उनी सुनाउँछिन् । भन्छिन्, ‘सानैदेखि असहाय र बृद्धबृद्धालाई सहयोग गर्दा आनन्द लाग्छ ।’

जनकपुरकी स्थायी बासिन्दा उनी पछिल्लो समय इमाडोल बस्दै आएकी छन् । धार्मिक स्वभावकी उनी जहिले ‘स्याड’ हुन्छिन्, पाटनको कृष्ण मन्दिरमा पुगिहाल्छिन् । मन्दिरमा राधाकृष्णको दर्शनको अलावा त्यहाँका बृद्धबृद्धा भेट्न उनी त्यहाँ पुग्ने गरेकी छन् । ‘मन्दिरमा धेरै माग्न बसेका हुन्छन्, जो कमाउन नसक्ने देख्छु । तिनीहरूलाई केही दिएर फर्किन्छु’, उनी थप्छिन् ।

अनिता मोडलिङमा सन् २०१८ बाट होमिएकी हुन् । त्यो समय उनी सामाजिक सञ्जालमा धेरै ‘एक्टिभ’ थिइन् । फ्रान्सका एक महिला मोडल उनको फेसबुक साथी थिइन् । जससँग उनी लामो समय च्याटमा रहन्थिन् । नियमितझैँ एक दिन च्याटको क्रममा ती मोडलले उनलाई फेस राम्रो भएकोले मोडलिङमा लाग्न सुझाइन् । 

मोडल साथीको सुझावपछि उनी मोडलिङको लागि प्लेटफर्मको खोजीमा लागिन् । त्यो समय उनको ध्यान ‘मिसेस ग्ल्याम नेपाल २०१८’मा पर्‍यो । जसको आवेदन खुल्ला थियो । उनले प्रतियोगिताका लागि आवेदन भरिन् । 

324769936_1235464240511752_7572345426697753222_n

प्रतियोगितामा उनको पोल्टामा फस्ट रनर अप उपाधि पर्‍यो । त्यो उपाधिले उनलाई मोडलिङमा लाग्न सजिलो भयो ।

‘विदेशी मोडल साथीको कुराले म मोडलिङमा होमिएँ’, अनिताले भनिन्, ‘सौन्दर्य प्रतियोगितामा सिकेको कुरा र अनुभव मोडलिङका लागि काम लाग्यो ।’ 

उनको मोडलिङको सुरुवात विभिन्न ब्रान्डका घडीको विज्ञापनबाट भयो । घडीपछि उनले चस्माको विज्ञापनमा काम गरिन् । त्यसपछि कुमकुम ज्वेलर्सको हीरा र सुनका विभिन्न गहनाको भिडियो र पोस्टर विज्ञापन गरिन् । 

यी विज्ञापनपछि उनलाई यो क्षेत्रमा पछाडि फर्किएर हेर्नु परेको छैन । एकपछि अर्को काम लगातार हात परिरहेको उनी बताउँछिन् । 

अहिले उनीसँग नेपाल बैंक, इनर्जी ड्रिंक्स लगायतका केही विज्ञापनको अफर छ । उनी पछिल्लो समय ‘द मिसेस नेशनल २०२३’ को ब्रान्ड एम्बेसडर पनि छिन् । 

डाक्टर बन्ने सपना

अनिताको सानोमा डाक्टर बन्ने सपना थियो । पहिले नाम, दाम र चर्चाका लागि डाक्टर, इन्जिनियर भन्ने थियो । अहिले मोडलिङ पनि राम्रो भएको उनको जिकिर छ ।

‘अहिले जुन फिल्डमा पनि अगाडि बढ्न सकिन्छ । सबैमा ट्यालेन्ट देखाउने हो’, उनी अगाडि भन्छिन्, ‘डाक्टर लगायतका पेसा रोज्नपर्छ भन्ने छैन ।’ उनी रुचि र क्षमता भएकालाई मोडलिङमा लाग्न सुझाउँछिन् ।

थुप्रै विज्ञापनमा अभिनय गरेकी अनितालाई फिल्म तथा म्युजिक भिडियोको अफर नमिल्ने त कुरै भएन । तर, हालसम्म यस्ता अफर उनले नकार्दै आएकी छिन् । अहिले फिल्म अनि म्युजिक भिडियोमा रुचि नभएकोले अफर रिजेक्ट गरेको उनको भनाइ छ ।

त्यसो त हिन्दी फिल्म ‘बागी ३’ को एउटा भूमिकाको लागि पनि अफर थियो उनलाई । ‘मेरो भूमिकामा नेपालमै खिच्ने भन्थे’, अनिता थप्छिन्, ‘तर, फिल्ममा रुचि नभएकोले रिजेक्ट गर्दिएँ ।’ 

कतिपय अवस्थामा साथीभाइले फिल्म तथा म्युजिक भिडियो खेल्न उनलाई सुझाउने गरेका छन् । उनलाई भने हालसम्म विज्ञापनै ठिक लाग्ने गरेको छ ।

अचेल त अनिता विज्ञापनमा पनि ‘चुजी’ भएकी छिन् । अफर आएका विज्ञापन पनि उनी छानेर गर्छिन् । उनका अनुसार त्यसरी छनौटको उद्देश्य राम्रो र उत्कृष्ट गर्ने नै हो । 

मोडलिङमा ठगिएको घटना हरेक दिनजसो बाहिरिन्छ । उनी आफू भने सजग भएको हालसम्म कारण ठगिनबाट जोगिँदै आएको बताउँछिन् ।

मोडलिङबाटै राष्ट्र र समाजको एउटा उदाहरणीय पात्र बन्ने उनको सोच छ । मोडल भएपछि फेसनमा रुचि नहुने त कुरै भएन । फेसन ट्रेन फलो गर्छिन् उनी । ठाउँ, मौसमअनुसार पहिरन लगाउन रुचाउँछिन् । 

मधेस प्रदेशमा रहँदा त्यहाँको महिलाले प्रयोग गर्ने फेसन गर्ने उनी काठमाडौँमा हरेक प्रकारको पहिरन प्रयोग गर्छिन् । साथीहरूले उनलाई तिमी जुनै पहिरनले पनि राम्रो देखिन्छ्यौ भन्दा उनी दङ्ग पर्छिन् ।

367464760_1996380307385158_2797032810388485573_n

राजनीतिमा रुचि 

विवाहितलाई मोडलिङमा अगाडि बढ्न गाह्रो छ भन्ने गरिन्छ । अनिता विवाहित हुन् । तर, उनको अनुभव भने फरक छ । उनी विवाहपछि अगाडि बढ्न झन् सहज भएको बताउँछिन् ।

‘विवाहपछि महिलाको जीवनको दोस्रो पाटो सुरु हुन्छ । यो जीवन नयाँ तरिकाले अगाडि बढाउन सकिन्छ’, उनी अनुभव राख्छिन् ‘पहिलो पार्टमा गर्न नसकिएको धेरै काम गर्न सकिन्छ ।’ विवाहित महिला घरमै अल्झिनु भन्दा केही गरेर अगाडि बढ्दा आफैलाई सजिलो हुने उनको धारणा छ ।

मोडलिङको अलावा अनितालाई राजनीतिमा पनि रुचि छ । त्यसो त गत स्थानीय चुनावमा उनलाई विभिन्न पार्टीबाट मेयरको उम्मेदवारको लागि अफर आएको थियो । तर तुरुन्तै मुड बनेन । त्यसैले, अस्वीकार गरिन् । मोडलिङमा अझै धेरै गर्न बाँकी रहेको उनी बताउँछिन् ।  

‘राजनीतिमा अलि पछि आउँछु । राजनीतिबाट राष्ट्र र जनताको लागि केही गर्न मन छ’, उनले भनिन्, ‘अहिले नेताहरूले देश र जनताको लागि केही गरिरहेको जस्तो लागेको छैन । म केही गरेर देखाउन चाहन्छु ।’

राजनीतिक कुन पार्टीबाट गर्ने त ? जवाफसँगै उनले कुराकानीको बिट मारिन्, ‘अहिले पार्टीको कमी छ र ? जुन पार्टीमा अवसर राम्रो देख्छु , त्यसमै आउनेछु ।’ 

               

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप