बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – बाबर आजम (पाकिस्तान)

शुक्रबार, १२ असोज २०८०, १९ : ४४
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । पाकिस्तानी टोलीका कप्तान हुन्, बाबर आजम । उनले आईसीसी एकदिवसीय विश्वकपमा पहिलो पटक पाकिस्तानी टोलीको कप्तानी गर्दैछन् । पछिल्लो समय विश्वभरका लाखौँ क्रिकेट प्रेमी उनको उत्कृष्ट ब्याटिङ प्रदर्शनबाट कायल बनेका छन् ।

अलराउन्डर खेलाडी भए पनि उनको पहिचान भने आक्रामक ब्याट्सम्यानकै रूपमा बनेको छ । दायाँ हाते यी ब्याट्सम्यानले पाकिस्तानी टोलीका लागि हालसम्म एक सय आठवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ५८.१६ को औसतले कुल पाँच हजार चार सय नौ रन बनाएका छन् । 

एकदिवसीय क्रिकेटमा उनले १९ शतक र २८ वटा अर्धसतक पनि बनाएका छन् । यसबाट पनि उनको ब्याटिङ क्षमता सहजै बुझ्न सकिन्छ । २९औँ वर्ष प्रवेशको संघारमा रहेका बाबर आजमले एकदिवसीय क्रिकेटको एउटै पालीमा एक सय ५८ रन बनाएका छन् । 

बाबर आजमले सन् २०१५ को मे ३१ मा जिम्बाबेविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले पाकिस्तानका लागि हालसम्म ४९ वटा टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ४७.७४ को औसतमा कुल तीन हजार सात सय ७२ रन बनाएका छन् ।

टेस्ट क्रिकेटमा उनले नौ शतक र २६ वटा अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय ९६ रन हो । यसका अतिरिक्त यी अनुभवी खेलाडीले देशका लागि एक सय चारवटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । 

टी—२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले ४१.४८ को औसतले कुल तीन हजार चार सय ८५ रन बनाएका छन् । टी—२० प्रतियोगितामा उनले तीन शतक र ३० वटा अर्धशतक प्रहार गरेका छन् । टी—२० प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन एक सय २२ रन हो । 

सन् २०१६ मा उनले केवल २२ वर्षको उमेरमा वेस्ट इन्डिजविरुद्ध लगातार तीन खेलमा शतक हिर्काएका आफ्नो क्षमताको परिचय दिएका थिए । बाबर आजम आईसीसीद्वारा घोषित एकदिवसीय ब्याट्सम्यानहरूको पछिल्लो वरीयतामा पनि पहिलो स्थानमा रहेका छन् ।

यसपटक पाकिस्तानी टोली बाबर आजमकै कप्तानीमा एकदिवसीय विश्वकपको उपाधि चुम्ने योजनामा देखिएको छ । पाकिस्तानी टोलीले सन् १९९२ मा पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । त्यसयता पाकिस्तानले एकदिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप