सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बजार

दसैँको मुखमा भित्रियो २ अर्ब ४३ करोडको विद्युतीय गाडी

२ हजार युनिट बढीको माग : डेलिभरीको चिन्ता !
शनिबार, १३ असोज २०८०, ०७ : ४०
शनिबार, १३ असोज २०८०

काठमाडौँ । दसैँ, तिहार तथा छठको मुखैमा नेपाली बजारमा करिब अढाइ अर्बको विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी २ अर्ब ४३ करोड १५ लाख ९५ हजार रुपैयाँ बराबरका ८ सय ९८ युनिट विद्युतीय गाडी (कार, भ्यान र जिप) नेपाल भित्रिएको हो । 

जसबाट १ अर्ब १५ करोड ८२ लाख १२ हजार रुपैयाँ बराबरको राजस्वसमेत संकलन भएको विभागको भनाइ छ । समीक्षा अवधिमा ५० किलोवाट ब्याट्री क्षमतासम्मका २ सय ५५ वटा कार, भ्यान, जिप आयात भएका छन् भने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६ सय ३१ वटा आयात भएका छन् । 

यस्तै, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ९ वटा गाडी आयात भएकोमा सोही अवधिमा २०१ किलोवाट माथिका जम्मा ३ वटा विद्युतीय कार, भ्यान र जिप आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । 

यसको अतिरिक्त तीनपाङ्ग्रेमा १ हजार ४९४ वटा विद्युतीय रिक्सा समेत आयात भएको विभागले जनाएको छ । 

२ हजार युनिट बढीको माग !
उसो त वर्ष भरीको कूल व्यापारको झण्डै ४० प्रतिशत सवारी साधनको व्यापार यही भदौ, असोज र कात्तिकमा हुनेगर्छ । दसैँ–तिहार, छठ जस्ता ठूला चाडको अवसरमा हुनेगरेको यस्तो सवारी साधनको व्यापारमा यसपटकको नाडा अटो शो, २०२३ ले थप रौनक थपेको व्यवसायीको भनाइ छ । 

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल’ ले झण्डै ४ वर्षपछि यस वर्ष १५औं संस्करणको अटो शो आयोजना गर्यो । 

भदौ २६ गतेदेखि ३१ गतेसम्म जम्मा ६ दिन राजधानीमा चलेको अटो शोमा २ हजार बढी चारपाङ्ग्रे सवारी साधन कार, भ्यान, जिप बुकिङ भएको आयोजक नाडाको भनाइ छ । पछिल्लो समय विद्युतीय गाडीप्रतिको बढ्दो क्रेज सानादेखि ठूला सबैजसो सवारी ब्राण्डको विद्युतीय गाडीकै बुकिङ भएको छ । 

अटो शोमा टाटा, हुण्डाई, सुजुकी, बीवाईडी, एमजी, नेटा, निसान, सेरेस, विलियन ब्राण्डका विद्युतीय गाडी बढी बुकिङ भएका छन् ।  अटो शोमा टाटा ब्राण्डको ६५० वटा गाडी बुकिङ भएको जानकारी प्राप्त भएको छ ।

electric_vehicles

त्यस्तै, चिनियाँ ब्राण्ड बियुल्ट योस् ड्रिम (बीवाईडी) को ४०० बढी र सेरेसको ३३४ युनिट विद्युतीय गाडी बुकिङ भएको कम्पनीको भनाइ छ । टाटा र बीवाईडी लामो समयदेखि नेपाली बजारमा सवारी साधनको व्यापार गरिरहेको प्रसिद्ध कम्पनी हो भने सेरेस हालैमात्र नेपाल प्रवेश गरेको नयाँ ब्राण्ड हो । 

नाडा अटो शोको अवसर पारेर दुई वटा मोडल ‘सेरेस–३’ र सेरेस ई–१ सार्वजनिक गरेको कम्पनीले १३ लाख ९९ हजार रुपैयाँमा नै मिनी ईभी (विद्युतीय गाडी) उपलब्ध गराएको छ । 

यस्तै, अटो शोमार्फत् हुन्डाईका १५० वटा गाडी बुकिङ भएको छ भने एमजीको एक सय बढीको बुकिङ भएको कम्पनीले बताएको छ । यसको अतिरिक्त अटो शोमा निसान, सुजुकी, नेटा भी, विलियन गरी थप १५० युनिट गाडी बुकिङ भएको समेत नाडाले जनाएको छ । 

उसो त हालसम्म गाडी भित्रिन नसकेको तर ब्राण्डमात्र सार्वजनिक भएको जी–मोर्टसले समेत अटो शोमार्फत् आफ्नो एटी–५ विद्युतीय गाडीका लागि १५ वटा बुकिङ लिइसकेको बताएको छ । 

दसैँअघि गाडी डेलिभरीको दबाब
बजारको मागअनुसार गाडी आयात नहुँदा यता दसैँअघि नै बुकिङ भएको गाडी डेलिभरी (उपलब्ध) नहुने प्रायः निश्चित छ । आयोजक नाडाकै अनुसार अटो शोमा २ हजार बढी चारपाङ्ग्रे कार, भ्यान, जिपको बुकिङ भइसकेको छ । 

तर, दसैँ, तिहार र अटो शोलाई नै टार्गेट गरी एलसी लिएका कम्पनीहरुले भदौसम्ममा जम्मा ८९८ वटा मात्र विद्युतीय गाडी भित्र्याएका छन् । थप असोजमा भित्रिने केही गाडीले अहिलेको माग फूलफिल गर्न नसक्ने देखिएको नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन् । 

‘व्यवसायी साथीहरुलाई सहज होस् भनेर नै यस पटक हामीले दसैँ, तिहारभन्दा डेढ महिना अगावै अटो शोको आयोजना गरेका हौं । यसअघि एक महिनाअघि जस्तो मात्र अटो शो आयोजना गर्नेगरिएको थियो । यसो गर्दा बुकिङ दिन गाह्रो हुने र धेरै बुकिङ फिर्ता जाने सम्मका घटनालाई दोहोरिन नदिन यसपटक १५ दिनअघि नै अटो शो लगाएका हौं’ अध्यक्ष थापाले भने, ‘तर, बजारको उत्साह विद्युतीय गाडीको मागमा आएको गतिले यस वर्ष पनि समयमै गाडी डेलिभरी नहुने देखिएको छ । 

दसैँ, तिहारका लागि भनेर खोलिएको एलसीअनुसार प्रायः गाडी भित्रिई सकेका छन् । हालैमात्र खोलिएको एलसीले दसैँअघि गाडी भित्र्याउन मुस्किल छ,’ थापाले रातोपाटीसँग भने । 

यतिबेला भन्सार नाकामा पनि गाडीको स्टक प्रायः शुन्य छ । केही कमर्सियल गाडीबाहेक प्यासेन्जर सेग्मेन्टका गाडी भन्सार पास भइसकेको अध्यक्ष थापाको भनाइ छ । 
यथापि, नाडा अटो शोमार्फत् नै ६ सय बढी गाडीको बुकिङ लिएको टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पहिलो प्राथमिकतामा राखेर गाडी डेलिभरी गरिरहेको जनाएको छ । 

nada_auto_show

कम्पनीले विहीवारदेखि ‘डेलिभरी जोन’ नै खडा गरेर बुकिङ भएको गाडी धमाधम डेलिभरी सुरु गरेको सिप्रदी ट्रेडिङकी मार्केटिङ म्यानेजर अभिरुचि गिरीले रातोपाटीलाई जानकारी दिइन् । 

‘कम्पनीले सकभर सबै बुकिङको दसैँअघि नै डेलिभरी दिने प्रयास गरिरहेको छ । टियागो ईभीको मात्र ५५० वटा बुकिङ भएकोमा आउने सबैलाई गाडी उपलब्ध गराउनेगरी कम्पनी लागेको छ । अहिले भटाभट गाडी डेलिभरी दिइरहेका छौं’ गिरीले रातोपाटीसँग भनिन् । 

यस्तै, हुन्डाई, निसान, एमजी, सेरेस, बीवाईडीले पनि आफ्नो बुकिङको सकेसम्म दसैँ अगावै सबै डेलिभरी दिनेगरी गाडी उपलब्ध गराइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप