आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उद्योग वाणिज्य संघ अधिवेशन : अर्याल  र श्रेष्ठको नेतृत्वमा छुट्टाछुट्टै प्यानल घोषणा

शनिबार, १३ असोज २०८०, १२ : ०२
शनिबार, १३ असोज २०८०

बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ७० औ वार्षिक साधारण तथा २५ औ अधिवेशनमा असोज १९ गतेदेखि सुरु हुँदैछ । संघको चुनावलाई यस क्षेत्रका उद्योगी व्यापारीहरूले चासोका साथ हेरेका छन् । चुनावमा नयाँ नेतृत्वको लागि अहिले दुई समूह बनाएर  मैदान जाने तयारी भएको छ । त्यसका लागि उम्मेदवारहरुले पनि पत्रकार सम्मेलनमार्फत दुई प्यानल घोषणा गरेका छन् ।

व्यवसायीहरू दुई छुट्टाछुट्टै समूह बनाएर आन्तरिक प्रचारप्रसार तथा भेटघाटमा जुटिरहेका छन् । संघका पूर्व वाणिज्य उपाध्यक्ष तथा यस अघिका अध्यक्षका प्रत्याशी हरिप्रसाद अर्याल र वरिष्ठ उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले छुट्टाछुट्टै समूह बनाएर आफूलाई जिताउन आग्रह गर्दै प्रचार प्रसार अगाडि बढाइरहेका छन् ।  
तीन वर्षे कार्यकालको नयाँ नेतृत्वका लागि शुक्रबार श्रेष्ठले प्यानल घोषणा गरेका थिए भने शनिबार  अर्याल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । अर्यालको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा टकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई श्रेष्ठ , महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा भेषराज गैरे तथा सह–कोषाध्यक्षमा धनाकुमारी खनाल रहने गरी उम्मेदवारी घोषणा गरिएको छ ।

त्यस्तै श्रेष्ठ नेतृत्वको प्यानल अन्तर्गत वरिष्ठ उपाध्यक्षमा टक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ र सचिवमा प्रतीक पौडेललाई अघि सारेर चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरिएको छ । वरिष्ठ उपाध्यक्षको उम्मेदवार रूपमा खुलेका गैरे र वाणिज्य उपाध्यक्षमा खुलेका भट्टराईलाई अर्याल नेतृत्वको प्यानलले  पनि आफ्नो समूहमा राखेको छ । 

अध्यक्ष पदका उम्मेदवार अर्यालले  बुटवलको बजारलाई थप चलायमान बनाई आर्थिक सहरको रूपमा विकास गरिने उल्लेख गरेका छन् ।  त्यस्तै श्रेष्ठले  कर तथा व्यवसायीका समस्याहरुलाई सम्बोधन गर्ने बताएका छन् । संघमा एक हजार ७ सय ७८ व्यवसायी आवद्ध छन् । १९ गते उद्घाटन हुने संघको अधिवेशनमा २० गते मनोनयन र  २३  गते मतदान हुने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप