सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित

सोमबार, ०८ असार २०८३, २० : २९
सोमबार, ०८ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको बन्द सत्र प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि स्थगित गरिएको छ ।
  • प्राविधिक कारणले प्रतिनिधिहरूको नामावली रुजु र परिचय पत्र छपाईमा सोचेभन्दा बढी समय लागेकोले आजको कार्यतालिका प्रभावित भएको छ ।
  • प्रतिनिधि कार्ड वितरण गरिएपछि बन्द सत्रको औपचारिक कार्यक्रम सुरु गरिनेछ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत आजका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ । 

महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु गर्ने र परिचय पत्र (कार्ड) छपाई कार्यमा प्राविधिक ढिलाइ भएपछि पार्टीले आज सुरु हुने भनिएको बन्द सत्र रोकेको हो ।
पार्टीको केन्द्रीय निर्वाचन आयोग अन्तर्गतको प्रतिनिधि व्यवस्थापन उपसमितिले एक सूचना जारी गर्दै प्रदेशहरूबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गर्ने र कार्ड प्रिन्ट गर्ने काममा सोचेभन्दा बढी समय लागेको जानकारी दिएको छ । प्राविधिक व्यवस्थापनमा समय लागेका कारण आजको कार्यतालिका प्रभावित हुन पुगेको सूचनामा उल्लेख छ ।

नयाँ तालिका अनुसार, हालसम्म तयार भइसकेका प्रतिनिधि कार्डहरूको वितरण आज साँझ ७ बजेबाट सुरु गरिएको छ । त्यस्तै, प्रक्रियामा रहेका बाँकी कार्डहरू भोलि बिहान ७ बजेदेखि वितरण गरिने र कार्ड वितरणको कार्य सम्पन्न भएलगत्तै बन्द सत्रको औपचारिक कार्यक्रम सुरु गरिने पार्टीले जनाएको छ ।
महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकोले प्रक्रियागत रूपमा कुनै पनि विवाद नआओस् भन्ने हेतुले सुक्ष्म ढंगले काम गर्दा समय लागेको पार्टीको भनाइ छ । 

बन्द सत्रको समय परिवर्तनका कारण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै रास्वपाले सबैलाई धैर्यता र सहयोगका लागि अपिल समेत गरेको छ । रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप