बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

अभिनाश बोहराको ६ विकेट सामु निरीह बन्यो माल्दिभ्स

आइतबार, १४ असोज २०८०, ०९ : ५४
आइतबार, १४ असोज २०८०

काठमाडौँ । अभिनाश बोहराले ६ विकेट लिएपछि चीनमा जारी एसियाली खेलकुदमा नेपालले मल्दिभ्सले १ सय ३८ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा मात्र ७४ रनमा अलआउट हुन पुगको हो ।

नेपालको जीतमा नायक बनेका अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ६ विकेट लिए । 

सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए । माल्दिभ्सका मात्र तीन खेलाडीले दोहोरो अंकमा रन बनाए । मुभियाथ गानीले ३६ रन बनाए भने रसिद रासमले १२ रन तथा फरिद सिउसले १० रनको योगदान दिए । माल्दिभ्सका ६ जना खेलाडीले खाता पनि खोल्न सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए । 

मंगोलियाविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्ल ४७ रनमा नटआउट रहे । उनले आक्रामक पारी खेल्दै २० बलमा ३ चौका र २ छक्का हिर्काए । 

यसअघि, ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ५ चौका र १ छक्का हिर्काए । गुल्शन झाले पनि समान ३५ रन बनाए । उनले २१ बलको सामना गर्दै १ चौका र तीन छक्का हिर्काए ।

माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा मंगोलियालाई हराएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप