बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
एमाले कोशी प्रदेश अधिवेशन

संकटमा साथ दिने ढकाललाई ओलीबाट धोका !

ढकाल–ओली सम्बन्ध कसरी बिग्रियो ?
बुधबार, १७ असोज २०८०, १० : ४०
बुधबार, १७ असोज २०८०

विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको लाइनमा विनोद ढकाल सुरुवातदेखि नै नजिक थिए । एमालेमा सीपी मैनाली र झलनाथ खनालको फरक गुट हुँदा पनि ढकाल भने ओली र माधवकुमार नेपालकै लाइनमा थिए ।

एमाले विभाजनपछि पार्टीमा केपी र माधव नेपालको फरकफरक लाइन बन्यो । त्यसबेला पनि ढकालले ओलीलाई नै साथ दिए । २०७१ साल असार १९ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए । तर, आठौँ महाधिवेशनबाटै विनोद ढकाल ओली लाइनबाट मोरङको अध्यक्ष बनेका थिए ।

ओलीका लागि ०५८ सालपछिका १० वर्ष पार्टीभित्रै संकटपूर्ण थियो । त्यसबेला उनलाई देशभरका कुनै पनि पार्टी कमिटीले कार्यक्रममा बोलाउँदैन थिए । पार्टीमा माधवकुमार नेपाल लाइनको दबदबा थियो । त्यस्तो संकटको बेलामा पनि ७५ जिल्लामध्ये ओली लाइनका विनोद ढकाल मोरङबाट र गोकुल बास्कोटाले काभ्रेबाट जिल्ला अध्यक्षमा जितेका थिए । त्यसपछि भने ओलीलाई दुई जिल्लाले स्पेश दिन थाले । खुम्चिएर बसेका ओलीलाई दुई जिल्लाले राहत दियो ।

अध्यक्षमा निर्वाचित बास्कोटा र ढकाल केपी ओलीका लागि ज्यान दिन तयार हुने खालका थिए । ०७१ सालको महाधिवेशनमा ओलीले झलनाथ खनाल गुटबाट आएका ईश्वर पोरखेललाई महासचिव बनाए । ईश्वर पोखरेलले आफ्नो टिमबाट साविकको कोशी अञ्चलबाट केन्द्रीय सदस्यको उम्मेदवार राजेन्द्र गौतमलाई बनाए । आफ्नो समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने ढकालको चाहनामा ओलीले ‘ब्रेक’ लगाइदिए ।

ओलीले आफ्नो गुटबाट गौतमलाई उम्मेदवार बनाए र ढकाललाई वैकल्पिक केन्द्रीय सदस्य बन्न सुझाव दिइयो । ढकालले त्यसबेला उम्मेदवारी दिएनन् । ढकालले अस्वीकार गरेपछि तेह्रथुमका किशोरचन्द्र दुलाल उम्मेदवार बने । तर निर्वाचनमा दुलाललाई पराजित गर्दै धर्म गौतम निर्वाचित भए ।

यस्तै ओली लाइनबाट केन्द्रीय सदस्यमा उठेका राजेन्द्र गौतमलाई विराटनगरका जीवन घिमिरेले पराजित गरे । त्यतिबेलादेखि ओलीसँग ढकालको सम्बन्धमा दरार सुरु भयो । त्यही बिन्दुबाट ढकालका प्रतिस्पर्धीहरुले ओलीसमक्ष नकारात्मक कुरा सुनाउँदै गए ।

नवौँ महाधिवेशनमा सुरु भएको टसललाई त्यागेर मोरङ अध्यक्ष बन्नका लागि ढकालले ओलीसँग सम्बन्ध सुधार गरे । तर, चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनबाट ढकाल पोलिटब्यूरो सदस्यमा जान चाहेका थिए । ओलीले त्यसबेला उनलाई केन्द्रीय सदस्यमात्रै बनाए । त्यहाँबाट पुनः उनीहरुको सम्बन्धमा दरार आयो । त्यही दरार र विवादका कारण कोशी प्रदेशको प्रथम अधिवेशनमा ओलीले ढकाललाई साथ दिएनन् । यद्यपि प्रदेश अध्यक्षमा ढकालले हारे र अर्का प्रतिस्पर्धी घनश्याम खतिवडाले जिते ।

खतिवडा पहिलेदेखि नै राजेन्द्र गौतमसँग नजिक थिए । जतिबेला राजेन्द्र गौतम मोरङमा कार्यक्षेत्र बनाउँथे, त्यसबेला खतिवडालाई नै उनले चेप्ने गर्दथे । खतिवडा पनि पोखरेल लाइनबाटै आएका हुन् । त्यससँगै स्थायी समिति सदस्यहरु हिक्मत कार्की, भानुभक्त ढकालहरु विनोद ढकालको क्षमताबाट डराइरहेका थिए ।

‘विनोद ढकालले हामीले भनेको मान्दैन भनेर कार्की, ढकाल, गौतमलगायत नेताहरु ओलीसमक्ष गएर रोक्न लागेपछि अहिले समस्या प¥यो,’ ढकाल निकट एक नेता भन्छन् ।

त्यही सन्दर्भमा पार्टीमा लामो समयसम्म काम गरेका खतिवडालाई पनि ठाउँ दिनुपर्ने ओलीको चाहना थियो । खतिवडाले पनि अध्यक्ष ओलीले भनेको मान्दै आए । निर्वाचन क्षेत्र पनि ओलीको झापा ५ र खतिवडाको मोरङ १ आपसमा जोडिएका छन् । जसले गर्दा निर्वाचनमा सहकार्यको स्थिति पनि बन्यो ।

तर, खतिवडा एमाले विभाजन हुँदा केही महिना मालेमा गएका थिए । पुनः फर्किएर एमालेमै आएका खतिवडा पछिल्लो १०÷१२ वर्षदेखि भने ओलीसँगै थिए । त्यसैबेला उनले ओलीलाई गुनासो गर्दथे । ‘मदन भण्डारीसँगै काम गरेको मान्छे, पुरानो हुँ, मैले केही पाइनँ’ भन्ने उनको गुनासो सम्बोधन गर्नका लागि पनि ओलीले उनैलाई दिएका हुन् ।

ढकाललाई ओलीले छेक्नुको कारण ओलीको आदेशको पालना नगर्नु नै हो । ‘केपी ओलीलाई संकटको बेलामा भरथेग गरेको कारण ढकाल अलिक बढी अपेक्षा गर्छन् । तर, ओली खटाएर दिन्छन्,’ ढकालका एक समर्थक भन्छन् ।

पछिल्लो समय ओलीसँग भन्दा बढी ढकालको सम्बन्ध पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भयो । भण्डारी एमाले राजनीतिमा आउन सक्ने सम्भावना देखिरहेको बेला ढकाललाई सघाउँदा भविष्यमा असहयोग हुने ओलीले ठाने । ‘त्यो कुराले उनी सशंकित बनेका हुनसक्छन् । त्यो मिडियामार्फत पनि आयो । आफ्नो प्रदेशमा आफूलाई भरथेग गर्ने भरपर्दो मान्छेको रुपमा खतिवडालाई ओलीले अगाडि सारेका हुन्,’ एमालेका एक नेता बताउँछन् ।

ओलीलाई लागेको थियो होला, दशौँ महाधिवेशनमा जस्तै मलाई समर्थन छ । तर, त्यो भ्रम अहिले चिरिएको छ । कोशी प्रदेशको निर्वाचनले तेस्रो नेताहरुको प्रतिस्पर्धाबाट ओलीका विरुद्धमा मैदानमा टिम आउँदा उनीहरुको अवस्था के हुन्छ भन्ने अनुमान पनि सो टिमलाई भएको छ । दोस्रो तहबाटै ओलीसँग प्रतिस्पर्धा गर्न सकिन्छ कि विद्या भण्डारी ल्याउने भन्ने विषयमा पनि आवश्यक रणनीति बनाउन ओली विरोधी तप्कालाई सन्देश गएको छ ।

‘ओलीले सबैलाई रोक्न खोजेका थिए । मेरा विरुद्धमा जानेहरु खरानी हुन्छन्, होस गर है भनेर सन्देश दिन खोजेका थिए,’ ती एमाले नेताले भने, ‘तर, ओलीको त्यो सन्देश आफैँ खण्डित हुन पुगेको छ ।’

अर्कोतिर विनोद ढकालको विषयमा ओलीलाई अतिरञ्जित ढंगले तेस्रो तहका नेताहरुले नै कुरा सुनाइदिएका छन् । उनी मन्त्री नभए पनि गाडी–घोडा, सुख, सुविधा छ । त्यसलाई पनि अरु समकक्षीहरुले देखिसहेका थिएनन् । त्यसबाहेक प्रदेशमा प्रतिस्पर्धामा रहेका नेताहरुले पनि ढकाललाई आउट गर्न चाहेका थिए । निर्वाचनमा टिकट वितरणदेखि जिल्ला सम्मेलन लगायतका विषयमा ढकाल हावी हुने प्रतिस्पर्धीहरुलाई डर थियो ।

प्रदेशबाट ढकालले ‘होल्ड’ गरेको खण्डमा पदाधिकारीमा जान चाहने नेताहरुको पनि चाहना पूरा नहुने अवस्था थियो । अर्को कुरा, आफूले भनेको नहुने र आफ्नो कुरा नसुन्देला भन्ने डर पनि ओलीपछिका कोशी प्रदेशका नेताहरुलाई थियो । त्यसकारण उनीहरुलाई ‘यस म्यान’ नै चाहिएको थियो । त्यो चाहना ढकाल विरोधीहरुले पूरा गरेका छन् ।

‘प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेता भानुभक्त ढकालहरु नेतामुखी भए । उनीहरु फिल्डको कुरा लगेर नेतालाई सुनाउने मात्रै गर्छन् । विनोद ढकाल कार्यकर्तामा पकड जमाएर विराटनगर बसेका हुन् । उनले कार्यकर्तालाई फकाउन, थर्काउन र संरक्षण गर्न जानेका छन्,’ ढकाल निकट एमाले कार्यकर्ता भन्छन््, ‘ढकालले केपी ओलीले भनेको मात्रै गर्दैनन् । उनीसँग आँखा जुधाएर चित्त नबुझेको कुरामा कुरा गर्न सक्छन् । अर्को कुरा, अन्यको तुलनामा ओलीसँग खर्च मागेर चुनाव लड्नुपर्ने अवस्था पनि विनोद ढकालसँगै छैन ।’

नेतृत्वको अनिच्छा र आग्रह विपरीत कार्यकर्ता र प्रतिनिधिको चाहना अनुसार नेतृत्व चयनको विषय निर्वाचनमार्फत भएको छ । अध्यक्षमा विजयी घनश्याम खतिवडा शीर्ष नेताहरु (संस्थापन पक्ष)को लाइन पाएर चुनावमा होमिएका थिए । पराजित उम्मेदवार विनोद ढकाल भने आफ्नै बलबुतामा उम्मेदवार बनेका थिए ।

पार्टी अध्यक्ष पदमा खतिवडा विजयी भए पनि ढकालले कम मत ल्याएनन् । यसले निर्वाचनमा मतको हिसावले खतिवडाले जिते पनि राजनीतिक हिसावले ढकालले जितेको धेरैले बताइरहेका छन् । यस्तै आसन्न जिल्ला सम्मेलनमा पनि ढकालको प्यानल १४ जिल्लामै बन्ने बाटो खुलेको उनी समर्थकहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप