सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

कोशी प्रदेशमा एमालेले देखेको १५ चुनौती : रास्वपासँग डर, कांग्रेस मुख्य प्रतिस्पर्धी

‘केन्द्रीय सत्ता र सरकारका कारण प्रदेश संरचनामा प्रश्न उठ्यो’
शनिबार, १३ असोज २०८०, १३ : ३७
शनिबार, १३ असोज २०८०

विराटनगर । कोशी प्रदेशमा चलिरहेको नेकपा एमालेको प्रथम अधिवेशनमा प्रस्तुत कोशी प्रदेशको आर्थिक सामाजिक रूपान्तरण र समृद्धिको प्रस्तावमा एमालेले आफूलाई १५ वटा चुनौती रहेको उल्लेख गरेको छ । पार्टीका नेता शेरधन राई संयोजक तथा हिक्मत कार्की र सुबोधराज प्याकुरेल सदस्य रहेको आर्थिक सामाजिक रूपान्तरण र प्रस्ताव मस्यौदा कार्यदलले यस्ता चुनौती उल्लेख गरेको हो । 

जसमा केन्द्रीय राजनीतिको प्रभाव प्रत्यक्ष रूपमा प्रदेश र स्थानीय तहहरुमा देखा परिरहेको उल्लेख छ । यस्तै राजनीतिक अस्थिरताका कारण जनतामा निराशाको अवस्था भएकोले जनमत स्विङ हुने अवस्था रहेको, संघीयता कार्यान्वयनको पक्ष कमजोर रहेको, प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने अधिकारहरू अहिलेसम्म हस्तान्तरण नभएको लगायतका चुनौती उल्लेख छन् । 

यस्तै निजामती सेवा ऐन नबन्दा प्रदेशको हातमा कर्मचारी संरचना नभएको पनि उल्लेख गरेको छ । केन्द्रको खटनपटनले संघीयतामाथि प्रश्न उठेको प्रतिवेदनमा उल्लेख छ । ‘केन्द्रीय खटनपटनका रहेका कर्मचारीहरूको असहयोग छ । कानुनी प्रबन्धहरू नै बाधक छन् । प्रहरी समायोजन हुन नसकेको अवस्था छ । केन्द्रीय सत्ता र सरकारको प्रत्यक्ष प्रभाव, दबाब, छाया र आदेशमा प्रदेश सरकारहरू चलिरहेको अवस्थामा प्रदेश संरचनाकै औचित्य माथि प्रश्न उठ्न थालेको अवस्था छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘विकास र समृद्धिको अभियानलाई रोक्ने कार्य गठबन्धनको नामबाट जारी छ ।’

एमालेले आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी भइरहेको पनि जनाएको छ । ‘नेकपा (एमाले)लाई लगातार चौतर्फी घेराबन्दी गर्ने कार्यजारी छ । जनतामा व्यापक निराशा र असन्तुष्टिको अवस्था छ, निराश र असन्तुष्ट युवा पङ्क्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आकर्षित गरिरहेको अवस्था छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘जातीय, धार्मिक तथा सामाजिक सद्भाव भड्काउने प्रयासहरू भइरहेको अवस्था छ ।’ प्रतिवेदनमा पहाडी जिल्लाहरूमा जनसङ्ख्या निरन्तर घट्दो अवस्था रहेको र केन्द्रीकृत र नियन्त्रित सार्वजनिक प्रशासनमा सुधार परिवर्तन ल्याउन नसकिएको उल्लेख छ ।

Amale Pratibedan (3)

प्रधानशत्रु छैनन्, योगेन्द्र मण्डल आफ्ना कार्यकर्ता

यस्तै ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नाराका साथ एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् । ४८ पृष्ठ लामो उक्त प्रतिवेदनमा हाल राजनीतिक रूपमा क्रियाशील कुनै दलसँगको अन्तर्विरोध प्रधान नरहेको उल्लेख छ । ‘हाल राजनीतिक रूपमा क्रियाशील कुनै पनि दलसँगको हाम्रो अन्तर्विरोध प्रधान होइन । राजनीतिक परिवर्तनमा कुनै न कुनै रूपमा भूमिका खेलेका साथै विभिन्न मुद्दामा सहकार्य र प्रतिस्पर्धाको अवस्था विद्यमान रहेको हुनाले कुनै पनि दल विशेषलाई प्रधानशत्रु घोषणा गर्नु कम्युनिस्ट आन्दोलनमा अतिवादी गल्ती हुन जान्छ,’ प्रतिवेदनमा भनिएको छ । तर प्रतिवेदनमा नेपाली कांग्रेसलाई मुख्य प्रतिस्पर्धी पार्टी मानिएको छ ।

Amale Pratibedan (1)

प्रतिवेदनमा कोशी प्रदेश नामकरणमा पार्टीले खेलेको भूमिका ऐतिहासिक महत्वको रहेको दाबी गरेको छ । यद्यपि पहिचानको नामको विषयलाई लिएर एमालेविरुद्ध अनेकौँ भ्रामक प्रचार गर्ने, पहिचानविरोधी बिल्ला भिराउने प्रयास गर्ने काम भएको प्रतिवेदनमा उल्लेख छ । ‘चौतर्फी घेराबन्दी गर्ने/गराउने, एमालेका श्रद्धेय अध्यक्ष केपी ओलीमाथि साङ्घातिक आक्रमण प्रयास गर्ने, एमालेका नेता, मन्त्री, माननीयलगायतमाथि ढुंगामुढा गर्ने, दुर्व्यवहार गर्ने जस्ता क्रियाकलापहरूमा कोशी नामकरणका पक्षमा उभिएका कतिपय राजनीतिक दलहरू नै लागिपरेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो राजनीतिक बेइमानीको परकाष्ठा, सामाजिक सद्भाव खलबल्याउने प्रपञ्च र सत्तास्वार्थको छुद्र रूपबाहेक अरू केही होइन भन्ने सच्चाइलाई आमरुपमा उजागर गर्नुपर्ने भएको छ ।’

यस्तै एमालेले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र रूपमा निर्वाचित सांसद योगेन्द्र मण्डल आफ्ना कार्यकर्ता रहेको प्रतिवेदनमा जनाएको छ । ‘जसपा–एमाले चुनावी तालमेल गरिएको मोरङ ५ बाट एमाले कार्यकर्ता योगेन्द्र मण्डल स्वतन्त्र उम्मेदवारको रूपमा उठेर विजयी भएका छन्,’ प्रतिवेदनमा भनिएको छ । यसअघि मण्डललाई कारबाही गरेको एमालेले जनाएको थियो ।

संगठनात्मक गतिविधि तीव्र बनाउने, इलामको निर्वाचनको तयारी गर्ने

एमालेले २०८० पुस र माघ महिनाभरमा जिल्ला अधिवेशन गर्ने, फागुनमा पालिका अधिवेशन र चैतभरमा वडा तथा टोल अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेको छ । यस्तै एमालेले बिनाकारण ३ वटा बैठकमा नआउने कमिटी सदस्यलाई निष्कासन गर्ने, ८० सालभरिमा जनसंगठनका सबै तहमा अधिवेशन सम्मेलन गर्ने, पार्टी प्रवेश अभियान चलाउने, जनप्रतिनिधिलाई जबाफदेही बनाउने, राजनीतिक ध्रुवीकरणलाई तीव्र बनाउने प्रतिवेदनमा उल्लेख छ ।

२०८० फागुन र चैत महिनाभित्रमा २०८१ सालको पार्टी सदस्यता नवीकरण गर्ने, पार्टीको स्थापनाको ७५ औँ वर्ष हीरक महोत्सव मनाउने, सेल्टरदाताको विवरण तयार गर्ने प्रतिवेदनमा उल्लेख छ । एमालेले वैचारिक राजनीतिक कामलाई पनि तीव्र पार्ने भएको छ । प्रतिवेदनमा २ हजार प्रशिक्षक तयार पारेर प्रदेश समितिले हरेक १० दिनमा एउटाका दरले महिनामा तीनवटा प्रशिक्षण कार्यक्रम गर्ने र प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा ५६ जना गरेर प्रदेशभरि वर्षमा २०१६ जनालाई प्रशिक्षित गर्ने भएको छ ।

एमालेले इलामको निर्वाचन क्षेत्र २ मा हुने उपनिर्वाचनको तयारी सुरु गर्ने पनि उल्लेख गरेको छ । ‘इलाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको छ । उक्त पदमा आगामी ६ महिनाभित्र उपनिर्वाचन हुने भएकोले त्यसको तयारी थाल्नुपर्ने छ,’ प्रतिवेदनमा भनिएको छ । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप