सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
एमाले कोशी प्रदेश अधिवेशन

गृह प्रदेशमै एमाले अध्यक्ष ओलीलाई चुनौती बढ्दो

मङ्गलबार, १६ असोज २०८०, ११ : १२
मङ्गलबार, १६ असोज २०८०

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश । उनकै दबदबा । अध्यक्ष ओलीसहित शीर्ष नेताको ‘इशारा’, अघोषित चेतावनी, नेताहरुकै घेराबन्दी र असन्तुष्टिकाबिच कोशी प्रदेश एमाले अधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनमा देखिएको विवाद र गुटबन्दीलाई अबको नेतृत्वले कसरी मिलाएर अगाडि बढ्छ, त्यो भने आगामी दिनमा देखिने नै छ ।

नेतृत्वको अनिच्छा र आग्रह विपरीत कार्यकर्ता र प्रतिनिधिको चाहना अनुसार नेतृत्व चयन निर्वाचनमार्फत भएको छ । अध्यक्षमा विजयी घनश्याम खतिवडा शीर्ष नेताहरु (संस्थापन पक्ष)को लाइन पाएर चुनावमा होमिएका थिए । पराजित उम्मेदवार विनोद ढकाल भने आफ्नै बलबुतामा उम्मेदवार बनेका थिए ।

पार्टी अध्यक्ष पदमा खतिवडा विजयी भए पनि ढकालले कम मत ल्याएनन् । मतको प्रारम्भिक रुझान सार्वजनिक भएपछि नै ढकालले आफू हार्ने निश्चित देखे र मतगणनास्थलबाट समर्थकसहित बाहिरिए । त्यसक्रममा उनले भने, ‘राजनीतिमा हारेर पनि जित हुन्छ, यो निर्वाचनमा राजनीतिक हिसावले मैले जितेको छु, यो हार भए पनि मेरो जित हो ।’

उनलाई समर्थकहरूले पनि त्यही भनेर सहानुभूति दिइरहेका छन् । तर, ढकालले हारेर पनि कसरी जिते भन्ने केही दृष्टान्त छन् ।

जस्तैः अध्यक्ष केपी शर्मा ओलीको छेकबारलाई पराजित गर्दैै उम्मेदवार बन्नु र सम्मानजनक मल ल्याउनु उनको जित हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ताको दुरुपयोग गरेर महाधिवेशन प्रभावित पार्नकै लागि मन्त्री नियुक्त गरे । पार्टीका स्थायी समिति सदस्यहरु शेरधन राई, भानुभक्त ढकाल, राजेन्द्र गौतम, तिलकुमार मेन्याङ्बो, शिवमाया तुम्बाहाम्फे, योगेश भट्टराईसम्म ढकालविरुद्ध लागे ।

त्यतिमात्रै होइन, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल दुई दिनसम्म विराटनगर बसेर ढकाललाई रोक्ने रणनीति बनाए । एमालेमा हुन लागेको आसन्न जिल्ला सम्मेलन केन्द्रित पदका आश्वासनहरु बाँडियो । ढकालका कतिपय समर्थकलाई मतदानमा सहभागी हुनै दिइएन । प्यानल नबनाउन शीर्ष नेताबाटै निर्देशन थियो ।

तर, नेताहरुकै समर्थनमा उम्मेदवार बनाएकाहरुले प्यानलको लिस्ट नै बाँडे । प्यानलका लिस्ट बाँडेको थाहा पाएपछि एकले अर्को पक्षलाई रोक्ने र विवाद सिर्जना हुने परिस्थिति नै बन्यो । अर्थात् एमालेका सम्पूर्ण नेताहरुको शक्ति एकातिर र एक जना विनोद ढकालको शक्ति एकातिर हुँदा पनि खतिवडाले ८२ मत अन्तरले मात्रै जित निकाल्न सफल भए ।

विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे । ढकालले ४३० मत प्राप्त गरे । ‘यो परिणामले प्रदेशमा अध्यक्ष ओली पनि सुरक्षित छैनन् भन्ने सन्देश दिएको छ,’ एमालेका एक पुराना कार्यकर्ताले भने, ‘उनका हरेक निर्णय पार्टीभित्र सर्वस्वीकार्य हुन्छन् भन्ने गरी उनले स्थापित गर्न खोजेका भाष्यहरु पनि खण्डित भए ।’

एमालेका स्थायी समिति सदस्य शेरधन राई भने उक्त कुरालाई अस्वीकार गर्छन् । ‘एमालेमा कुनै लाइन छैन, विचार समूह छैन, गुट छैन,’ राईले भने, ‘एमाले एकतबद्ध छ ।’

अधिवेशनमा देखिएका सामान्य तिक्तताहरु विराटनगरमा सेलाएर जाने उनी बताउँछन् । ‘चुनावी परिणामलाई लिएर पार्टीभित्र विभाजन र तिक्तताको कुरा हुनु हुँदैन । यसलाई सम्पूर्ण नेता कार्यकर्ताले स्वाभाविक हिसावले लिनुहुन्छ भन्ने मलाई लागेको छ,’ चुनावी परिणाम आएपछि प्रतिक्रिया दिँदै राईले भने, ‘प्रतिस्पर्धामा भाग लिनु सकारात्मक पक्ष हो । यो परिणामलाई स्वाभाविक मानेर शिरोधार्य गरेर कार्यकर्ताको भावना अनुरुप अगाडि बढ्नुको विकल्प छैन । अधिवेशनमा देखिएको बाछिटा र तिक्ततालाई यहीँ छोडेर जानुपर्दछ ।’

उनले प्रदेश अधिवेशनको क्रममा केही अवाञ्छित गतिविधि भने भएको बताए । ‘कम्पाउण्डभित्र नहुनुपर्ने अवाञ्छित कार्यहरु भए । तर नेतृत्व चयन गर्दा लिस्ट बाँडिएको कुरालाई लिएर नै प्यानल बनाएको अर्थ लगाउनु हुँदैन । २ सय मान्छे छान्नुपर्ने अवस्था छ । त्यस्तो अवस्थामा प्रतिनिधिहरुले मान्छे नचिन्न सक्छन् भनेर उम्मेदवार चिनाउन त्यस्तो लिस्ट प्रयोग भयो होला । तर, त्यसैलाई माथिबाटै प्यानल खडा गर्न लागिएको, ग्रुपिजम बनाइएको भन्ने मलाई लाग्दैन,’ राईले भने ।

आफूहरु मैदानमा उत्रिएको भए परिणाम अर्कै हुन्थ्यो भन्ने राईको दाबी छ । ‘हामी लागेका होइनौँ । कसैले आत्मसन्तुष्टिका लागि भन्नु, चिया गफ गर्नु अर्कै कुरा हो । तर, हामी लागेका छैनौँ,’ उनले भने ।

राईले यसो भनिरहँदा निर्वाचनबाट विजयी हुनेहरूले अविर जात्रा र विजयोत्सव मनाइरहेका थिए । तर, अर्को पक्ष भने अनुपस्थित रह्यो । आफू विजयी भएपछि प्रतिक्रिया दिँदै खतिवडाले आफूहरुको प्रतिस्पर्धा गुट वा समूहको नभएर एमालेबिचमा स्वस्थ प्रतिस्पर्धा भएको बताए ।

‘बुझाइमा फरक नपार्न मिडियालाई आग्रह गर्दछौँ । हामीले जिम्मेवारी प्राप्त गर्नका लागि प्रतिस्पर्धा गरेका हौँ । मेरो स्वार्थ नेकपा एमालेलाई दह्रो बनाउनु बाहेक अर्को छैन । यसलाई लवि र धारको रुपमा नबुझिदिन अनुरोध गर्दछु,’ उनले भने, ‘म नेकपा एमालेको एसमेन हो । एमालेको महाधिवेशनले गरेको फैसलाहरु अनुसार एमालेलाई क्षति नपुग्ने गरी अगाडि बढ्न म प्रतिबद्ध छु ।’

आफू विजयी भएपछि गर्व अनुभूति गरेको उनले बताए । ‘काँधमा गह्रौं भारी बोकेको छु । यो जिम्मेवारीप्रति म गम्भीर छु । मलाई जिम्मेवारी दिने साथीहरुको भावनामा चोट नपुग्ने गरी अगाडि बढ्छु,’ उनले भने, ‘मैले पार्टीको डोको बोकेको छु । इमानको डोको फाल्दिनँ, पार्टीले नारेको जुवा, हलो भाँचेर हिँड्ने मान्छे होइन म । पार्टीले नारेको हलो तान्छु । मसँग कुनै पनि स्वार्थ समूह, गुट हुने छैन ।’

उनले आफूसँग पराजित हुने विनोद ढकाललगायतको टिमसँग पनि सौहाद्रपूर्ण वातावरण रहेको प्रतिक्रिया दिए । ‘विनोदजीले १४ वर्षपछि आमने–सामने भइएछ भन्नुभयो । यस पटक म जित्छु तपाई हार्नु, अर्को पटकको प्रतिस्पर्धामा तपाईलाई छोड्छु भनेर मैले भनेको छु,’ उनले भने ।

खतिवडा र ढकालबिच प्रतिस्पर्धा भएको यो दोस्रोपटक हो । २०६६ मा उनीहरु मोरङ अध्यक्षमा पहिलोपटक प्रतिस्पर्धामा उत्रिएका थिए । त्यसबेला खतिवडा माधवकुमार नेपाल लाइनमा थिए भने ढकाल ओली पक्षका थिए । त्यसबेला ढकालले बाजी मारेका थिए । १४ वर्षपछि खतिवडाले ढकालसँग बदला लिएका छन् । खतिवडाले अब ३ वर्ष प्रदेशमा एमालेको नेतृत्व गर्नेछन् ।

को हुन् खतिवडा र ढकाल ?

२०४३ सालमा लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उम्मेदवारको रुपमा प्रधानपञ्चको रुपमा उम्मेदवार बनेका खतिवडा थोरै मतले पराजित बनेका थिए । त्यसपछि २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङको गाविस अध्यक्षमा खतिवडा निर्वाचित भए ।

त्यसपछि भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका खतिवडा २०७४ सालको निर्वाचनमा माओवादीसमेतको सहयोगमा विजयी भए । २०७९ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार बनेका उनी कांग्रेस नेता डिकबहादुर लिम्बूसँग पराजित भए ।

खतिवडा ४८ वर्षदेखि एमालेको राजनीतिमा निरन्तर लागेका निष्ठावान नेता हुन् । उनी पछिल्लो समय प्रदेश समितिको प्रचार विभागका प्रमुख थिए । प्रदेशको अध्यक्षमा प्रतिस्पर्धा गरेका उनी विजयी भएसँगै अब देशको ठूलो पार्टी एमालेको स्थायी समितिको हैसियतमा रहने भएका छन् ।

ढकाल भने २०४२ सालदेखि विराटनगरको राजनीतिमा निरन्तर सक्रिय छन् । २०४७ सालमा अनेरास्ववियुको मोरङ जिल्ला अध्यक्ष भएका उनले दुई कार्यकाल काम गरे र केन्द्रीय कमिटीको उपाध्यक्ष पनि बने । २०७३ मा पार्टीको मोरङ जिल्ला अध्यक्ष निर्वाचित भएका ढकाल गत वर्ष चितवनमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका हुन् । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको विरोध गरेका कारण उनी ६ महिना जेल परे । २०६५ को संविधानसभा उपनिर्वाचनमा पराजित भएका उनी २०६६ सालमा एमाले मोरङ अध्यक्ष निर्वाचित भए ।

उनी २०७४ सालमा विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका भीम पराजुलीसँग पराजित भए । यस्तै गत मंसिर ४ गते भएको निर्वाचनमा ढकाल मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बने पनि विजयी हुन सकेनन् । यस्तै पार्टीको केन्द्रीय समितिमा रहेका ढकालले प्रदेश अध्यक्षको उम्मेदवार बनेर पराजित बनेसँगै सो पद पनि गुमाउन पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप