बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

‘मेरा दुई फिल्म हिट भएकाले ‘परदेशी २’ पनि अवश्य हिट हुनेछ’

‘अब एउटा गीति नाटक बनाउन मन लागेको छः’ नारायण रायमाझी
बुधबार, १७ असोज २०८०, १० : ५७
बुधबार, १७ असोज २०८०

काठमाडौँ । लोकगीत, संगीत क्षेत्रमा लोकप्रिय स्रष्टा हुन् नारायण रायमाझी । मौलिक गीत गाएरै पृथक् छवि बनाएका छन् उनले । सम्झी रेलिमै, फुलबुट्टे चोलीमा, राम्दी पुल तर्ने बित्तिकै, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत उनका थुप्रै गीतले दर्शक, श्रोताको मनमा गहिरो गरी डेरा जमाएको छ ।

पछिल्लो समय गीतसंगीतको अलावा फिल्म निर्माण, निर्देशनमा पनि सक्रिय छन् रायमाझी । ‘गोर्खा पल्टन’बाट निर्देशनमा होमिएका रायमाझी निर्देशित दोस्रो फिल्म ‘परदेशी’ हो । यी दुवै फिल्म बक्सअफिसमा हिट मानिन्छ । रायमाझी निर्देशित तेस्रो फिल्म ‘परदेशी २’ असोज २६ बाट प्रदर्शनमा आउँदैछ । प्रस्तुत छ, यतिबेला ‘परदेशी २’को प्रचार प्रसारको धपेडीमा रहेका निर्देशक रायमाझीसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः 

‘परदेशी २’को प्रचार प्रसार कस्तो भइरहेको छ ?

फिल्मको प्रचार प्रसारको क्रममा देशभर नाटक, प्रेसमिट लगायत विभिन्न कार्यक्रमहरू गरिरहेका छौ । हामीले जानेका र सके जति गरिरहेका छौ । राम्रो प्रचार भइरहेको लागेको छ ।

फिल्मको प्रचारका लागि देशका विभिन्न जिल्ला पुग्नुभयो, फिल्मप्रति दर्शकको चासो कस्तो पाउनु भयो ?

फिल्म कहिले हेर्न पाइएला भनेर दर्शक प्रतीक्षामा रहेका छन् । प्रचारको क्रममा जहाँ जहाँ पुग्यौ, जस–जसलाई भेट्यौँ, सबैबाट राम्रो प्रतिक्रिया मिलेको छ । सबैबाट सपोर्ट, माया पाइएको छ । एकदमै उत्साहित छु ।

फिल्मको प्रचारका लागि नाटक पनि बनाउनु भयो, किन ?

प्रचार प्रसारको उद्देश्य भनेको दर्शकलाई त्यसको जानकारी गराएर हलमा बोलाउनु हो । प्रचारको क्रममा फिल्मभित्र के छ, किन हेर्ने, कसको लागि बनेको फिल्म हो भनेर देखाउन र बुझाउन सकियो भने हलमा दर्शक आउँछन् । 

यही क्रममा प्रचारका लागि भन्दा ड्रामा (नाटक) मार्फत् बुझाउँदा सजिलो र बढी प्रभावकारी हुने देखेर हामीले नाटक बनाएका हौं । नाटकमार्फत् बुझाउँदा उनीहरूलाई मनोरञ्जनसमेत मिल्छ ।

‘परदेशी २’ फिल्मको कथा बस्तु के हो ?

फिल्म समाजको एउटा दर्पण बन्न सक्नुपर्छ भनेर मैले सुरु देखि नै भन्दै आएको छु । फिल्मले समाज बोल्नुपर्छ भन्नेमा म सचेत छु । यस अगाडि मैले ‘परदेशी’ बनाएको थिएँ, जसमा आर्थिक अभावको कारण विदेशिन बाध्य भएकाको कथा थियो । 

उच्च शिक्षा अध्ययनको चाहनामा सुनौलो भविष्यको कल्पना गर्दै विदेशिने जुन लहर छ अहिले देशमा । ‘परदेशी २’मा त्यो कथा उठाएको छु । यो कथासँग जोडिएर विभिन्न उपकथा पनि आएको छ । 

एउटा युवा अध्ययनका लागि बिदेसिँदा त्यसबाट गाउँ, परिवार, साथीभाइ र उसलाई पर्ने प्रभाव फिल्ममा देखाइएको छ । विद्यार्थीले स्वदेशमा सोचेजस्तै परदेशमा पाउँछन् कि पाउँदैनन् ? यो प्रश्नको उत्तर हो ‘परदेशी २’ ।

फिल्ममार्फत किन भन्न मन लाग्यो विदेशिने विद्यार्थीको कथा ?

अहिले उच्च शिक्षाका लागि विदेशिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । फिल्मले विदेशिनेलाई सचेत गराउनुको साथै देशमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन्छ । कुनै पनि कुरा बुझाउन फिल्म सजिलो माध्यम रहेको मेरो बुझाइ हो ।

व्यावसायिक अपेक्षा त ठुलै होला नि ?

मेरो यस अगाडिका दुई फिल्म सफल छन् । त्यो हिसाबले पनि यो तेस्रो फिल्म पनि सफल हुन्छ भन्ने विश्वास छ । पहिलेको भन्दा यो फिल्म झन् राम्रो बनेकोले पनि व्यावसायिक अपेक्षा त छ नि ।

फिल्मको बलियो पक्ष के देख्नु भएको छ ?

फिल्मको कथा सबैभन्दा राम्रो छ । मलाई लाग्छ, यो कथामा अहिलेसम्म नेपालमा फिल्म बनेको छैन । प्राविधिकको मेहनत, कलाकारको अभिनय र गीतसंगीतका हिसाबले पनि ‘परदेशी २’ बलियो छ । 

मैले यस अघिको फिल्मका कमी कमजोरीसमेत यसमा सुधारेको छु । त्यसैले, यो फिल्म हरेक दृष्टिकोणबाट उत्कृष्ट रहेको छ ।

करिब ६ वर्षको अन्तरालमा नयाँ फिल्म ल्याउँदै हुनुहुन्छ । त्यतिबेला र अहिलेमा के भिन्नता पाउनुभयो ?

पहिले र अहिलेमा धेरै फरक छ । फिल्म हेर्ने ट्रेण्ड, हलको गुणस्तरदेखि दर्शकसम्म । पहिलेको तुलनामा अहिले राम्रो थिएटरहरू खुलेका छन् । राम्रो फिल्म निर्माण हुन थालेका छन् । हलमा फिल्म हेर्ने माहौल छ । राम्रो फिल्म बन्यो भने दर्शक हुन्छन् । अहिले विभिन्न माध्यमका प्रचार प्रसारले पनि दर्शक हलसम्म तान्न सकिन्छ ।

फिल्म एकल प्रदर्शन गर्ने भन्दै एक साता अगाडि सार्नुभयो । तर यो मितिमा अन्य दुई फिल्म भिड्न आए नि ?

हामीले सकेसम्म कोहीसँग न भिडौँ भन्ने कोसिस गरेको हो । दसैँको समय भएकोले असोज २६ फिल्म रिलिजका लागि राम्रो डेट हो । यो मितिमा सबैलाई फिल्म रिलिज गर्ने चाहना हुन्छ । त्यसैले, हामीसँग कसैलाई नआऊ भन्न सकिन्न । जति फिल्म आए पनि दर्शकले राम्रो फिल्म छानेर हेर्छन् ।

गीतसंगीतदेखि फिल्ममा पनि तपाईंको राम्रो परिचय बन्यो । अब गर्न मन लागेको अन्य रुचिको विषय के छ ?

गायन र ड्रामा (नाटक)मा मेरो पहिले देखिनै रुचि रहँदै आएको छ । पछिल्लो समय फिल्म निर्माणमा पनि सक्रिय रहँदै आएको छु । अझै मनमा धेरै कुरो गर्ने चाहना छ । अहिले तत्कालै गर्न मन लागेको काम भने गीति नाटक हो ।

तेस्रो फिल्म ल्याउँदै गर्दा अन्यबाट सहयोग के कति मिलेको छ ?

फिल्मका लागि मैले सबैबाट राम्रो साथ, सपोर्ट र माया पाएको छु । मेरा साथी, फ्यानलगायत सबैले मेरो फिल्मका लागि आ–आफ्नो तरिकाले प्रचारप्रसार गर्दिरहनु भएको छ । यस हिसाबले पनि आफूलाई भाग्यमानी पनि सम्झन्छु ।

फिल्मको व्यवसायमा नाफै हुन्छ भन्न सकिने अवस्था छैन । ‘परदेशी २’को व्यवसायसँग आगामी दिनको निरन्तरता जोडिएको छ कि छैन ?

म आफ्ना मनमा लागेका कथा भन्न र दर्शकका लागि राम्रो फिल्म दिन निर्देशनमा होमिएको हो । फिल्मको व्यवसाय कुन बेला कस्तो हुन्छ भन्न सकिने अवस्था छैन, त्यो मैले राम्ररी बुझेको छु । मलाई ‘परदेशी २’ले राम्रो व्यवसाय गर्छ भन्ने विश्वास छ । फिल्मको व्यवसाय जे भए पनि फिल्ममा निरन्तरता कायम नै रहन्छ ।

अन्तमा, दर्शकलाई भन्नु छ कि ?

मैले हाम्रो समाजको यथार्थ घटना, सामाजिक, पारिवारिक कथामा ‘परदेशी २’ निर्माण गरेको छु । कथा, गीतसंगीतदेखि कलाकारसम्मको हिसाबले यो फिल्म बलियो छ । हरेक नेपालीले एक पटक हेर्ने फिल्म बनेको छ । हेरेर राम्रो, नराम्रो के छ, सुझाव दिनु होला । त्यसले अगामी दिनमा मलाई अगाडि बढ्न मद्दत मिल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप