बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

‘जीवन जसरी चलायो, त्यसरी चल्ने रहेछ’

अहिले अभिनय र करियरमै फोकस गरेकी छु : वर्षा शिवाकोटी
मङ्गलबार, १६ असोज २०८०, १० : ५७
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । यतिबेला अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘परदेशी २’ को प्रचारमा व्यस्त छिन् । आगामी असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ यो फिल्म । लोकप्रिय गायक नारायण रायमाझी निर्देशित फिल्मको अहिले जोडतोडले प्रचारप्रसार चलिरहेको छ । 

निर्माण पक्षले कलाकारलाई २ युनिटमा विभाजन गरेर उपत्यका र उपत्यका बाहिर एकसाथ प्रचार प्रसार गरिरहेको छ । फिल्मको मोफसल प्रचारमा कलाकार प्रकाश सपुत, केकी अधिकारी, निर्देशक रायमाझीलगायत छन् भने उपत्यकामा अभिनेत्री वर्षा शिवाकोटी, निर्माता राजेश बंशललगायत छन् ।

‘परदेशी २’ हिट फिल्म ‘परदेशी’को सिक्वेल हो । ‘परदेशी’ले  वैदेशिक रोजगारीको कथामा उठाएको थियो । यो फिल्म सिक्वेल भएकोले त्यही कथामा हुन सक्ने धेरैले अनुमान लगाएछन् । फिल्म प्रचारकै क्रममा रातोपाटीसँग ठोकिएकी अभिनेत्री वर्षाले भने अध्ययनका सिलसिलामा विदेशका राम्रो मुलुकमा जान चाहने युवाको कथा फिल्मले उठाएको रहस्य खोलिन् ।

‘अध्ययनका लागि परदेश जाँदै गर्दा परिवार, साथीहरू लगायतसँग उसको इमोसनको कुरा हुन्छ, त्यो पनि फिल्ममा छ’, वर्षाले भनिन्, ‘विदेश गएपछिको संघर्षकथा झन् मार्मिक छ ।’ एउटा नेपाली विद्यार्थीले राम्रो देशमा अध्ययनको सिलसिलामा के–के स्ट्रगल गर्नुपर्छ भन्ने फिल्मले मार्मिक ढंगले देखाउन खोजेको वर्षाको भनाई छ । 

फिल्ममा अध्ययनका लागि विदेशिने युवकको भुमिकामा प्रकाश सपुत छन् । गायकको रूपमा चर्चित सपुतले यसैबाट फिल्ममा डेब्यु गरेका हुन् । वर्षा सपुतको विदेशी प्रेमिकाको भूमिकामा छिन् ।

barsha siwakoti (3)

‘मेरो भूमिका सबै विदेशकै स्थानको छ । अध्ययनका लागि विदेशिएका प्रकाशको विदेश यात्रामा म जोडिएको छु’, वर्षा भन्छिन्, ‘यस अगाडि भनियो भने फिल्मको कथा खुल्छ । कथा अहिल्यै खुल्यो भने फिल्म हेर्न मज्जा आउँदैन ।’

वर्षाको यो वर्ष रिलिज हुने यो दोस्रो फिल्म हो । उनको केही अगाडि ‘ए साथी सुन’ रिलिज भएको थियो । यो फिल्म रिलिज भएको र उत्रिएको दर्शकले मात्र हैन, उनले पनि पत्तै पाइनन् । 

त्यसैले, ‘परदेशी २’ फिल्मबाट उनले धेरै आस गरेकी छन् । फिल्मको अहिले सम्मको प्रचार सामग्रीबारे दर्शकले दिएको प्रतिक्रिया हेर्दा फिल्म सफल हुनेमा आफु ढुक्क रहेको वर्षाले बताइन् ।

‘फिल्मको सकारात्मक प्रतिक्रिया र निर्देशक रायमाझीको क्रेजले पनि फिल्म सफल हुन्छ भन्ने लाग्छ,’ यसरी उनी ढुक्क देखिइन् ।

‘परदेशी २’को एक सातापछि ‘पशुपति प्रसाद २ ः भष्मे डन’ पनि रिलिज हुँदैछ । त्यसमा पनि वर्षाको भूमिका रहेको छ । यस अर्थमा वर्षात्को मौसम सकिए पनि फिल्मी वर्षा जारी छ भन्दा हुन्छ ।

‘पशुपति प्रसाद २ : भष्मे डन’ को प्रचारमा भने उनले हिँड्नु परेको छैन । कारण खोलिन्, ‘फिल्ममा मेरो केमियो भूमिका ।’ अर्थात् अतिथिको रूपमा छोटो भूमिकाले त्यो टिममा प्रचारका लागि टायम दिनु परेको छैन । 

फिल्म प्रचारको लागि यो समय वर्षालाई सजिलो हुनुको अर्काे कारण पनि छ, त्यो हो फिल्म ‘काली’ । ‘काली’को लागि उनले दिएको छायाङ्कन समय थियो यो । संजोगले फिल्मको छायाङ्कन तिहारपछि सर्दा फिल्मको प्रचार प्रसारमा लागि आफूसँग प्रशस्तै समय भएको उनी सुनाउँछिन् ।

barsha siwakoti (2)

युनिटसँग केको मनमुटाव ?

‘परदेशी २’ फिल्म २०१९ मा छायाङ्कन भएको हो । कोरोनाको कहर र त्यसपछि रिलिज फिल्मको ताँतीले गर्दा सर्दै सर्दै यो फिल्म अहिले बल्ल आएको हो । छायाङ्कन भएको हिसाबले यो फिल्मको रिलिज धेरै ढिलो भइसक्यो ।

विषयवस्तु कहिल्यै पुरानो नहुने र दसैँ फेस्टिभल प्रसङ्ग भएकोले पनि अहिले फिल्म रिलिजको उपयुक्त समय भएको उनी सुनाउँछिन् ।

फिल्ममा प्रकाश सपुतसँगको सहकार्य कस्तो रह्यो ? ‘गायनमा स्थापित सपुतको यो क्षेत्र प्रतिको लगाव, इनर्जी, सहकार्य देख्दा निकै प्रभावित छु’, उनले भन्दै गइन्, ‘दिग्गज व्यक्तित्व नारायण रायमाझीको कामको त म फ्यान हो ।’  

रायमाझीको फिल्ममा जोडिएदेखि नै फिल्मप्रति आफूलाई पोजेटिभ भाइव आएको उनी सुनाउँछिन् । त्यसैले, फिल्म सफल हुने उनी दाबी गर्छिन् ।

हुन त केही अगाडिसम्म फिल्मको प्रचार प्रसारमा वर्षा जोडिएको थिइनन् । कतिले वर्षाको फिल्म युनिटसँग मनमुटाब छ । त्यसैले  समय नदिएको हो जस्ता अनुमान लगाए । तर, निर्माण युनिटको प्रचार प्लानिङअनुसार अहिलेमात्र देखिएको उनी बताउँछिन् ।

‘हामी पुरै युनिटलाई एकसाथ नदेख्दा विभिन्न अनुमान हुनु स्वाभाविक हो । तर हाम्रो टिममा कसैको पनि कोहीसँग मनमुटाब छैन’, उनले स्पष्ट पारिन्, ‘टिम र कामदेखि खुसी छु । चरित्रको हिसाबले केकी र मेरो भूमिका अलिकति धेरै थोरै होला । तर दुवैको भूमिका आफ्नो ठाउँमा महत्त्वपूर्ण छ ।’ 

केकीको गाउँले केटीको भूमिका र आफ्नो सहरिया केटीको भएको रहेको उनले जानकारी गराइन् । थपिन्, ‘दुवै भूमिकाको महत्त्व फिल्म हेर्दा मात्र बुझ्न सकिन्छ । हामी सबै युनिट बसेर केही अगाडि फिल्म हेरेका थियौ । मेरो चरित्रलाई लिएर सबैको प्रतिक्रिया राम्रो थियो ।’

फिल्म हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावकको साथ चाहिने चलचित्र सेन्सर बोर्डले तोकेको छ । फिल्ममा दुई नायिका छन् । भरपुर ग्ल्यामर भएको कारण सेन्सरले केही अंकुस लगाएको अनुमान धेरैले गरेका छन् । 

वर्षा भने फिल्मका केही एक्सन दृश्य र त्यो दृश्यमा देखाइएको रगतको कारण बालबालिकाका लागि अभिभावक अनिवार्य भएको बताउँछिन् । 

barsha siwakoti (1)

‘फिल्ममा अभिनेता प्रशान्त तामाङको क्यारी पहिलो पार्टबाट देशभक्तको रूपमा गरिएको छ । उहाँको भूमिकामा एक्सन छ’, उनले अगाडि भनिन्, ‘त्यो ठुलो इस्यु त होइन । किनभने १६ वर्षका मुनिका बच्चाले फिल्म हेर्ने भनेकै अभिभावकसँग हो । त्यसले केही फरक पर्दैन ।’

अर्काे घरजमको सोच छैन

पछिल्लो समय वर्षाको फिल्म क्षेत्रमा क्रियाशीलता घटेको छ । निरन्तर फिल्म अभिनयमा रहने उनको हातमा अहिले खासै फिल्म देखिन्न । उनको रिलिज हुन बाँकी फिल्म पनि खासै देखिन्न । अभिनय गरेको फिल्म केही थुप्रिएकाले रिलिजपछि मात्र नयाँ गर्ने आफ्ना रणनीतिको कारण ग्याप देखिएको वर्षा बताउँछिन् । 

‘परदेशी २’पछि पनि मैले ४ फिल्म अभिनय गरे । कुनै फिल्मको लामो समय सुटिङ चल्यो । त्यसले केही ग्याप पनि गरायो’, उनले थपिन्, ‘अभिनय अफर नभएको भने होइन ।’

अमेरिका बसोबास गर्ने आशिष् गेलालसँग वर्षाको प्रेम  विवाह भएको थियो । तर, विवाह एक वर्ष पनि टिक्न सकेन । विवाह, डिभोर्सलगायत केही पारिवारिक उतारचढाव झेलेकी वर्षाले फिल्म क्षेत्र छोड्न लागेको आशङ्का पनि भयो । 

पारिवारिक पिडाले जीवनमा अलिकति उतार चढाव दिए पनि अभिनय करियरमा भने खासै असर नगरेको वर्षाको भनाई छ ।

‘मेरो जीवनको यो इन्सिडेन्ट सानो उतार चढाव हो । त्यसले अभिनयमा धेरै असर पर्न दिएको छैन’, वर्षाले सुनाइन्, ‘अहिलेको फोकस अभिनय करियरमै गरेको छु ।’ जीवनमा यस्तो घटनाले केही गाह्रो भने भएको उनको अनुभव छ । 

त्यसो भए नयाँ घरजमको विषयमा केही सोचिएको छ कि ? प्रश्न गर्न नपाउँदै उनले उत्तर फर्काइन्, ‘जीवन जसरी चलायो, त्यसरी चल्ने रहेछ । अहिल्यै नयाँ घरजमको विषयमा सोचेकी छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप