सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–अस्ट्रेलिया सीधा उडान सुरु गर्न अस्ट्रेलियाका सभामुखलाई अध्यक्ष तिमिल्सिनाको आग्रह

बुधबार, १७ असोज २०८०, १३ : ४७
बुधबार, १७ असोज २०८०

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अस्ट्रेलियाका सभामुख मिल्टन डिकबिच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेका सभामुख डिकबिच सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो । 

भेटघाटमा अध्यक्ष तिमिल्सिनाले सभामुख मिल्टनको नेपाल भ्रमणले नेपाल र अस्ट्रेलियाबिच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको बताए । नेपाल र अस्ट्रेलियाबिच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र अस्ट्रेलियाबिच सुमधुर र सहयोगात्मक सम्बन्ध रही आएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरूमा अझ फराकिलो  र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गरे । 

अध्यक्ष तिमिल्सिनाले नेपाल र अस्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएकाले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्नु आवश्यक रहेको बताउँदै दुवै देशको संसद्मा मैत्री समूहहरूले दुई देशका संसद्हरूबिचको सम्बन्धलाई थप गतिशील बनाउने अपेक्षा गरेको जिकिर गरे । 

अस्ट्रेलियाले नेपालको सामाजिक–आर्थिक विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अस्ट्रेलियाको सहयोग अझ वृद्धि हुने विश्वास पनि व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले अस्ट्रेलियामा ६० हजार भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको र अस्ट्रेलियामा १ लाख २२ हजारभन्दा बढी नेपालीहरू बस्दै आएका कारण नेपाल र अस्ट्रेलियाबिच सिधा हवाई उडानका लागि पनि दुवै देशबाट प्रयास गर्न आवश्यक रहेकोमा जोड दिए । 

भेटमा अस्ट्रेलियाका सभामुख मिल्टनले नेपालका प्रदेश सभाका सभामुख र उपसभामुख अस्ट्रेलियामा संघीयताको  अभ्यास र अनुभवको लागि अध्ययन भ्रमणमा आउन लागेकोमा खुसी व्यक्त गरे । उनले अस्ट्रेलियाले संघीयता कार्यान्वयनका क्रममा हासिल गरेको अनुभव नेपालका लागि पनि उपयुक्त हुनेछ भन्ने विश्वास व्यक्त गरे । सभामुख डिकले नेपालसँग रहेको सुमधुर सम्बन्धलाई अझै उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै संसदीय अनुभव आदानप्रदानबाट नेपालको संघीयतालाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप