बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

स्थानीय तहका कर्मचारीको आन्दोलन लुम्बिनी प्रदेशमा पनि तात्दै

शुक्रबार, १९ असोज २०८०, १८ : ३६
शुक्रबार, १९ असोज २०८०

बुटवल । देशभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरू आजदेखि आन्दोलनमा उत्रिएका छन् । सोही अनुसार लुम्बिनी प्रदेशमा पनि आन्दोलन सुरु भएको छ ।  

लुम्बिनीका स्थानीय तहका कर्मचारीहरूले संघर्ष समिति गठन गर्ने, पेन डाउन गर्ने, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएर आन्दोलन थालेका हुन् ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका, देवदह नगरपालिका, सैनमैना नगरपालिका, तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहमा आन्दोलन सुरु भएको छ ।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखेर उनीहरुले आन्दोलन गरेका हुन् ।

सैनामैनाका कर्मचारी गणेश खनालले प्रमुख प्रशासकीय अधिकृत तथा मेयर र उपमेयरलाई ज्ञापनपत्र बुझाएपछि पेन डाउन गरिएको जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाका कर्मचारी तुलसी राम मरासिनीले पनि ज्ञापन पत्र बुझाउनका साथै ‘पेन डाउन’ गरेको रातोपाटीलाई बताए । उनले अत्यावश्यक कामबाहेक अरू काम छाडेर आन्दोलनमा उत्रिएको जानकारी दिए ।

देवदह नगरपालिकामा पनि स्थानीय तहका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै पेन डाउन गरेका छन् ।

बुटवल उपमहानगरपालिकामा भने आन्दोलन सुरु भइसकेको छैन । उपमहानगरका कर्मचारीले संघर्ष समितिको बनाउने विषयमा छलफल गरेको तर आन्दोलन नभएको नगरपालिकाका इन्जिनियर हरि कार्कीले रातोपाटीलाई बताए ।

दाङ जिल्लामा पनि आन्दोलन सुरु भइसकेको छैन । लमही नगरपालिकाका अधिकृत महेश थापा क्षेत्रीका अनुसार जिल्लामा आइतबारदेखि आन्दोलन गर्ने तयारी छ ।

सेवाग्राहीलाई सामान्य समस्या

देशभर आन्दोलन गर्नका लागि केन्द्रबाट आएको सर्कुलेशन अनुसार लुम्बिनी प्रदेशका अधिकांश स्थानीय तहमा ज्ञापनपत्र बुझाउने र पेनडाउन गर्ने कार्यक्रम भएको छ । स्थानीय तहका कर्मचारीहरूले आन्दोलन गर्दा वडा कार्यालयमा भने काम जारी राखेका छन् । जनताको धेरैजसो काम वडाबाट हुने गरेको छ । जसका कारण सिधै सेवाग्राहीहरूलाई आन्दोलनको असर कम परेको छ ।

सिद्धार्थनगर नगरपालिकामा भने भुक्तानीको काम रोकिएको प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले रातोपाटीलाई बताए ।

स्थानीय तहका कर्मचारीहरुले काठमाडौँ केन्द्रित आन्दोलन थालेको छैटौँ दिनदेखि देशभरका स्थानीय तहमा आन्दोलन विस्तार गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप