बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – कुशल मेन्डिस (श्रीलङ्का)

शनिबार, २० असोज २०८०, १० : ४८
शनिबार, २० असोज २०८०

काठमाडौँ । कुशल मेन्डिस श्रीलङ्काली टोलीका अनुभवी खेलाडी हुन् । श्रीलङ्काली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनी तेहरो भूमिकामा हुन्छन् । २८ वर्षीय मेन्डिस टोलीका विकेटकिपर हुन् । उनी टोलीका आक्रामक ब्याट्सम्यान पनि हुन् ।

यसका अतिरिक्त उनी श्रीलङ्काली टोलीका ‘पार्ट टाइम’ बलर पनि हुन् । मेन्डिसले श्रीलङ्काली टोलीबाट टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी—२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

जारी एकदिवसीय विश्वकपमा पनि उनी श्रीलङ्काले निकै आशा गरेका खेलाडी हुन् । सन् २०१६ को जुन १६ तारिखमा उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । आफ्नो ‘डेब्यू’ खेलमै उनले आयरल्यान्डविरुद्ध ५१ रन बनाएका थिए । उक्त खेलमा श्रीलङ्का विजयी भएको थियो ।

मेन्डिसले हालसम्म श्रीलङ्काका लागि एक सय १२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ३२.१५ को औसतले कुल तीन हजार दुई सय १५ रन बनाएका छन् । उनले दुई शतक र २५ वटा अर्धशतक पनि हिर्काएका छन् ।

एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर एक सय १९ रन हो । उनले देशका लागि ६० टेस्ट खेल्दै ३६.५८ को औसतले कुल तीन हजार नौ सय ८८ रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा नौ शतक र १७ वटा अर्धशतक प्रहार गरेका छन् ।

टेस्ट क्रिकेटमा उनको उच्च स्कोर दुई सय ४५ रन हो । यसका अतिरिक्त उनले ५५ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै २३.९६ को औसतले कुल एक हजार दुई सय ७० रन बनाएका छन् । टी—२० मा उनले १२ वटा अर्धशतक हिर्काएका छन् । टी—२० मा उनको उच्च स्कोर ७९ रन हो ।

 उमेर समूहका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले श्रीलङ्काको सिनियर टोलीमा स्थान बनाएका हुन् । उनी सन् २०२३ को एसिया कपमा श्रीलङ्काली टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । त्यो एसियाकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा भने उनी दोस्रो स्थानमा रहेका थिए । उनले ६ खेल खेल्दै कुल दुई सय ७० रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप