बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चीनलाई दुई सयभन्दा बढी स्वर्ण पदक जिताउँदै आज सकिँदैछ १९ औँ एसियाली खेलकुद

आइतबार, २१ असोज २०८०, १३ : १८
आइतबार, २१ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता आइतबार सकिँदैछ । पदक तालिकामा आयोजक राष्ट्र चीनलाई पहिलो बनाउँदै एसियाली खेलकुद सम्पन्न हुन लागेको हो । प्रतियोगिताको अन्तिम दिन आइतबारसम्म चीनले दुई सय एक स्वर्ण पदक जितिसकेको छ ।

प्रतियोगिताको समापन समारोह चीनका प्रधानमन्त्री ली छ्याङको प्रमुख आतिथ्यमा हुनेछ । समापन समारोहमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु पनि अतिथिको रुपमा सहभागी हुने समाचारमा जनाइएको छ । 

प्रतियोगिताको समापन समारोहपछि चिनिया प्रधानमन्त्रीले विदेशी अथितिहरुको सम्मानमा रात्री भोजको समेत आयोजना गर्नेछन् । यसका अतिरिक्त उनले विदेशी पाहुनाहरुसँग दुईपक्षीय भेटघाट पनि गर्ने समाचारमा जनाइएको छ ।  प्रतियोगिताको समापन समारोह हाङ्झोउ ओलम्पिक स्पोर्टस सेन्ट स्टेडियममा आयोजना हुनेछ । समापन समारोहलाई उल्लासमय बनाउने विशेष कार्यक्रम आयोजना गरिने भएको छ । एसियाली खेलकुदको समापन समारोह नेपाली समयअनुसार, साँझ ५ः४५ बजे सुरु हुने बताइएको छ । 

प्रतियोगिताको अन्तिम दिन आइतबार दिउँसोसम्म अधिकांश पदकको छिनोफानो भइसकेको छ । पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले हालसम्म ५२ वटा स्वर्ण पदक जितिसकेको छ । नेपालले पनि एसियाली खेलकुदको यो संस्करणमा एक रजत र एक कांस्य पदक जितेको छ । 

नेपालका लागि कराँते खेलाडी एरिका गुरुङले रजत पदक जितेकी हुन् । पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको नेपालले जितेको यो तेस्रो कांस्य पदक हो । यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

सविताले जितेको त्यो पदक एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा नेपालले जितेको पहिलो रजत पदक थियो । यसका अतिरिक्त २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा नेपालका लागि प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो ।

त्यसपछि कराँते एसियाली खेलकुदमा देशका लागि रजत पदक जित्ने तेस्रो खेल बनेको छ । एसियाली खेलकुदमा नेपाली कराँते खेलाडीले यसअघि कांस्य पदकमात्र जित्न सकेका थिए । त्यसैले यो पदक नेपालका लागि ऐतिहासिक बन्न पुगेको छ । 

यसैगरी चीनमा जारी एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुद प्रतियोगिताको पहिलो सहभागितामै कांस्य पदक जितेको हो ।

जारी एसियाली खेलकुद प्रतियोगिताको पदक तालिकामा छिमेकी राष्ट्र भारत पनि २८ वटा स्वणर् पदक जित्दै चौथो स्थानमा आसिन छ । प्रतियोगिताको अन्तिम दिन आइतबार दिउँसोसम्म ३८ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिति दर्ता गराएका छन् । 

सहभागी ४५ मध्ये २७ राष्ट्रले स्वणर् पदक जितेका छन् । स्वणर् पदक जित्ने २७औँ राष्ट्र म्यानमार हो । ३१ राष्ट्रले रजत पदक हात पारेका छन् । नेपालसहित सातवटा राष्ट्रले भने हालसम्म कांस्य पदकमात्र जित्न सकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप