बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मकवानपुर प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना : इन्सपेक्टरको कमाण्डमा विशेष फोर्स

आइतबार, २१ असोज २०८०, १७ : ५०
आइतबार, २१ असोज २०८०

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विजया दशमीलाई लक्षित गर्दै चाडपर्व विशेष सुरक्षा योजना निर्माण गरेको छ । कार्यालयले चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत प्रहरी निरिक्षक (इन्सपेक्टर) को कमाण्डमा विशेष फोर्स परिचालन गर्ने भएको छ ।

यातायात व्यवस्थापन, यात्रु तथा आम नागरिकको सहायता, दुर्घटना र अपराधजन्य तथा गैरकानुनी कामहरु नियन्त्रणका लागि सो विषेश फोर्सले काम गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उनका अनुसार १५ जना प्रहरी कर्मचारी संमिलित सो विषेश फोर्सले जिल्लाभरको सुरक्षाको प्रवन्धसहित आवश्यकता अनुसार थप सहयोग माग गरी कानुन विपरित हुने अपराधिक कामहरुको निगरानी गर्ने छन् । घटना हुन नदिने, तत्काल उद्धार तथा व्यवस्थापन र प्रहरी परिचालनका लागि आवश्यक सामग्रीसहित उक्त फोर्स २४ घण्टा खटाइने उनले बताए ।

जिल्लामा प्रदेशको राजधानी रहेकाले प्रदेशस्तरीय मन्त्रालय, कार्यालय, निवास र भीआइपी र भीभीआइपीहरुको समेत सुरक्षा व्यवस्था मिलाउनुपर्ने, हेटौँडासँग ५ वटा राजमार्ग जोडिएको र सेवाग्राहीहरुको समेत चाप हुने भएकाले सो सुरक्षा चुनौतीलाई समाधान गर्न योजना बनाएर कार्यान्वयन गरिएको उनले बताए । चाडपर्वमा आवतजावत गर्ने यात्रु तथा सवारी साधनहरुको सुरक्षा व्यवस्थापन, उद्योग कलकारखाना, आर्थिक कारोवार हुने स्थानहरुमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि योजना अनुसार काम सुरु गरिएको उनको भनाई छ ।

प्रहरीले चाडपर्वमा हुने झै–झगडा, मादक पदार्थ तथा लागुपदार्थ सेवन, ओसार पसार, जुवातास खेल्ने र खेलाउने जस्ता घटनालाई न्यूनीकरण गर्ने योजना तयार पारेको उनले बताए । प्रहरी सो सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाभरमा ८१७ जना प्रहरी कर्मचारी परिचालन गरिने उनको भनाइ छ ।

जिल्लामा भएका प्रहरी कर्मचारी अपुग हुने भएकाले मातहतका निकायहरुबाट थप कर्मचारी माग गरि सुरक्षा योजनाअनुसार कार्यान्वयनमा खटाइने उनले बताए । उनकाअनुसार जिल्लामा चाडपर्व सुरक्षा योजनाअनुसार २१५ प्रहरी कर्मचारी अपुग हुने र सो प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशबाट सहयोग प्राप्त हुने उनले बताए ।

अपराधिक गतिविधिहरुलाई नियन्त्रण तथा निरुत्साहित गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिने उनले बताए । धार्मिक सार्वजनिक स्थलहरु लगायतमा हुनसक्ने घटनाहरुको निगरानी गर्ने, राजमार्गमा नियमित दिवा तथा रात्री गस्ती÷पट्रोलिङ, पैदल गस्ती समेत बढाउने योजना रहेको उनले बताए ।

सो योजनाअनुसार नाका तथा चेक प्वाईन्टहरुमा कडाईका साथ ट्राफिक सहितको चेकजाँच गर्ने, प्रदेश प्रहरी कार्यालय हेटौडासँग समन्वय गरी प्रशिक्षित कुकुर समेतको संयुक्त टोलीद्धारा विभिन्न स्थानहरुमा चेकिङको व्यवस्था मिलाउने, सरोकारवाला निकायहरुसँग समन्वय गरी बजार अनुगमन गर्ने र कृतिम अभाव र कालोबजारी गर्ने उपर कारबाहीका लागि पहल गर्ने, सामुदायिक प्रहरी सेवा केन्द्र र स्थानीय टोल विकास समितिहरुसँग समन्वय गरी अपराध न्युनीकरणको लागि जनचेतनामुलक कार्यक्रमहरु गर्ने उनले बताए ।

उनका अनुसार चाडपर्वलक्षित सुरक्षाका लागि प्रहरी उपरिक्षकको कमाण्डमा १० जना प्रहरी कर्मचारी, प्रहरी नायव उपरीक्षकको नेतृत्वमा २० जना रिजर्भ टोली खटाइने छ ।

४ स्थानमा नागरिक सहायता कक्ष स्थापना

नागरिक तथा यात्रुहरुलाई आवतजावतमा सहजताका लागि हेटौंडा बजारको ४ वटा स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।  यात्रुहरुलाई ठगिन नदिन हेटौँडा उपमहानगरपालिका क्षेत्रको बसपार्क, पिपल बोट,  रातमाटे चेकपोष्ट र थानाभर्याङमा ट्राफिक प्रहरी सहितको नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ ।

प्रहरीले हेटौंडा–११ स्थित थानाभ¥याङको सहायता कक्षमा अस्थायी शौचालयसहित रिफ्रेसमेन्ट सेन्टरको स्थापना गरी यात्रुहरुलाई सहजीकरण गर्ने योजना बनाएको छ । सामूदायिक प्रहरी सेवा केन्द्रसँगको सहकार्यमा उक्त सहायता कक्ष सञ्चालन गरिएको हो ।

सो सहायता कक्षबाट यात्रुबाहक सवारी साधनहरुले बढी भाडा असुल्ने कार्यलाई निरुत्साहित गर्ने र सादा पोशाकमा प्रहरी परिचालन गरि सूचना संकलन र कानूनी कारबाही गर्ने प्रहरीको योजना रहेको छ । सहायता कक्षबाट सवारी साधनहरुले यात्रुसँग गर्ने व्यवहार, सिट क्षमताको कार्यान्वयन, आरक्षण सिटको कार्यान्वयन, चालक परिवर्तन, भाडा असुली, सवारीको सामान्य मेकानिकल अवस्था लगातयको अनुगमनका साथै सवारी दुर्घट्ना न्युनीकरणमा काम गर्ने प्रहरीको तयारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप