मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०३४ को फिफा विश्वकप आयोजनाका लागि साउदीलाई एन्फाको समर्थन

सोमबार, २२ असोज २०८०, १२ : ०५
सोमबार, २२ असोज २०८०

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०३४ को फिफा विश्वकप आयोजनाका लागि साउदी अरेबियालाई सघाउने भएको छ । सन् २०३४ को पुरुष विश्वकप आयोजनाका लागि साउदी अरेबियाले दाबी प्रस्तुत गरिसकेको छ । 

‘सन् २०३४ को फिफा विश्वकप आयोजनाका लागि दाबी गर्ने साउदी अरेबियाको अभियानमा अखिल नेपाल फुटबल संघको पूणर् समर्थन रहेको छ । १२ वर्षपछि पुनः दोस्रो पटक एसियामा विश्वकप आयोजना गर्ने साउदी अरेबियाको अभियानलाई हामी स्वागत पनि गर्न चाहन्छौं,’ एन्फाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

यसअघि सन् २०२२ को पुरुष विश्वकप एसियाली राष्ट्रय कतारले आयोजना गरेको थियो । सन् २०२६ को विश्वकप भने अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् । त्यसपछि सन् २०३० को विश्वकप तीन महादेशका ६ वटा देशमा आयोजना हुने विश्व फुटबल महासंघ (फिफा) ले जनाएको छ । 

सन् २०३० को विश्वकपको सुरुको तीन खेल दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा खेलाइने छ । बाँकी खेल स्पेन, पोर्चुगल र मोरोक्कोमा खेलाइने छ । स्पेन र पोर्चुगल युरोपेली राष्ट्र हुन भने मोरक्को उत्तर अफ्रिकी राष्ट्र हो । 

फिफा विश्वकप सुरु भएको एक सय वर्ष पुगेको अवसरमा सुरुका तीनवटा खेल दक्षिण अमेरिकी राष्ट्रमा खेलाउन लागिएको फिफाले जनाएको हो । फिफा विश्वकपको पहिलो संस्करण सन् १९३० मा उरुग्वेमा आयोजना भएको थियो । 

सन् २०३४ को विश्वकप आयोजनाका लागि एसिया र ओसेनियाका फुटबल महासंघअन्तर्गतका सदस्य राष्ट्रहरुले मात्र दाबी गर्न पाउने छन् । सोही प्रावधानअन्तर्गत रहेर साउदी अरेबियाको फुटबल संघले विश्वकप आयोजनाको दाबी गरेको हो । 

सन् २०३४ को विश्वकप आयोजनाका लागि चीनले पनि चासो देखाएको छ । अस्ट्रेलिया र न्युजिल्यान्डले पनि संयुक्त रुपमा विश्वकप आयोजना गर्ने चाहना राखेका छन् । कजाकस्तान र उज्बेकिस्तानले पनि संयुक्त रुपमा सन् २०३४ को फिफा विश्वकप आयोजना गर्न चाहेका छन् ।   

यसका अतिरिक्त दक्षिण—पूर्वी एसियाली राष्ट्रहरु (आसियान) ले पनि संयुक्त रुपमा सन् २०३४ को विश्वकप आयोजनाका लागि दाबी गर्ने सम्भावना छ । एन्फाले भने उक्त अभियानमा साउदी अरेबियालाई समर्थन गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप