सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा मधेसमा ६ महिनामा २४ करोडको सामान बरामद

सोमबार, २२ असोज २०८०, १४ : ५८
सोमबार, २२ असोज २०८०

धनुषा । सशस्त्र प्रहरीले मधेस प्रदेशमा तस्करी नियन्त्रणमा सक्रियता देखाएको छ । तराईका जिल्लाका नेपाल–भारत सिमानाकाबाट सशस्त्रले पछिल्लो ६ महिनाको अवधिमा २४ करोड बढीको सामान नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नम्बर–२ छिन्नमस्ता बाहिनी र मातहतका इकाईहरूले भन्सार छलेर नेपालतर्फ ल्याएर लुकाएर राखेको र ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरेको हो । २०७९ चैत्र देखि २०८० भदौ १५ सम्ममा २० करोड ७७ लाख मूल्य बराबरको किराना सामान, लत्ताकपडा र सवारी साधन भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

सो अवधिमा १ करोड १ लाख ४४ हजार ३ सय ९३ रुपैयाँ बराबरको पशुचौपाया, श्रोत नखुलेको नेपाली रुपैयाँ ९९ लाख र २८ लाख १७ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । पछिल्लो ६ महिनामा ७९ लाख ४२ हजार ६ सय ५० रुपैयाँ बराबरको काठ र ८ लाख ४८ हजार मूल्यको सुनचाँदीका गहना बरामद गरिएको छ ।

पछिल्लो ६ महिनामा सशस्त्र प्रहरीले तराईका जिल्लाबाट १ हजार ३ के.जी. गाँजा, ३७ केजी चरेस र ५ हजार ट्याब्लेट नुर्फिन, फेनारगन र डाइजेपाम जस्ता लागुऔषध बरामद गरेको छ ।

६ महिनाको अवधिमा ४ नाल हतियार, २० थान गोली, २ वटा म्याग्जिन र १२ वटा कार्टिज बरामद गरिएको छ । भारतमा बेचबिखन गर्न लैजाँदै गरेको अवस्थामा २० जना नेपाली चेलीबेटीलाई तराइका जिल्लाबाट उद्धार गरिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । किशोरी र महिलालाई बेचबिखन गर्न लिएर जाँदै गरेका १ सय १० जनालाई सशस्त्रले पक्राउ गरेर स्थानीय प्रहरीलाई बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप