विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
सारांश
- कोलकाता विश्व फुटबलको मानचित्रमा नपरे पनि फिफा विश्वकप २०२६ को फाइनलअघि अर्जेन्टिनाको रंगमा रङगिएको छ ।
- गल्ली-गल्लीमा अर्जेन्टिनाका झण्डा, भित्ताभरि मेसीका चित्र र चारैतिर 'मेसी ! मेसी !' को नाराले कोलकातालाई ब्युनस आयर्सजस्तै बनाएको छ ।
- कोलकाताका लागि मेसी केवल महान् खेलाडी होइनन्, उनी फुटबलका सन्तसरह हुन् र उनको खेल भावनाले समर्थकलाई झनै आकर्षित गरेको छ ।
काठमाडौँ । भारतको कोलकाता विश्व फुटबलको मानचित्रमा नपरे पनि फुटबलप्रतिको आशक्तिका कारण संसारभर परिचित छ । फिफा विश्वकप– २०२६ को फाइनलअघि यो सहर फेरि एक पटक अर्जेन्टिनाको निलो–सेतो रङमा रङि्गएको छ ।
गल्ली–गल्लीमा अर्जेन्टिनाका झण्डा, भित्ताभरि लियोनल मेसीका चित्र, चिया पसलदेखि पार्कसम्म नम्बर १० को जर्सी लगाएका समर्थक र चारैतिर गुन्जिने ‘मेसी ! मेसी !’ को नाराले कोलकातालाई मानौँ ब्युनस आयर्सकै अर्को संस्करण बनाइदिएको छ ।
विश्वकपका क्रममा अर्जेन्टिनाको प्रत्येक खेल यहाँ उत्सवसरह मनाइन्छ । जुलाई ४ मा केप भर्डेविरुद्धको खेल हेर्न बिहान साढे तीन बजेदेखि सयौँ समर्थक अमर्त्य सेन उद्यानमा भेला भएका थिए । रातभर पानी परे पनि उनीहरूको उत्साह घटेको थिएन । अतिरिक्त समयमा लिसान्द्रो मार्टिनेजले गोल गरेपछि समर्थकहरू खुसीले उफ्रिए, एक अर्कालाई अंकमाल गरे र मोबाइलमा त्यो क्षण कैद गर्न व्यस्त भए ।
कोलकाताका लागि मेसी केवल महान् खेलाडी होइनन्, उनी फुटबलका सन्तसरह हुन् । ३९ वर्षको उमेरमा पनि टोलीलाई कठिन परिस्थितिबाट निकाल्ने उनको क्षमताले यहाँका समर्थकलाई झन् आकर्षित गरेको छ । धेरैको विश्वास छ, यो मेसीको अन्तिम विश्वकप हुन सक्छ, त्यसैले उनीहरूले हरेक खेललाई विशेष सम्झनाका रूपमा बाँचिरहेका छन् ।
मेसीप्रतिको मोह कति गहिरो छ भन्ने कुरा स्थानीय समर्थक देबजोय विश्वासको अनुभवले झनै प्रस्ट पार्छ । उत्तर अमेरिकामा अर्जेन्टिनाको खेल प्रत्यक्ष हेरेर फर्किएका खेल फोटोग्राफर विश्वास भन्छन्, ‘टेलिभिजनमा मेसीको गोल र बलसँगको खेल देखिन्छ । तर मैदानमा पुगेर हेर्दा बलबिनाको उनको चलायमान शैली, खाली स्थान बुझ्ने क्षमता र खेल पढ्ने अद्भुत कला देखिन्छ । त्यो अनुभव मेरो लागि फुटबलको स्वर्ग पुगेजस्तै थियो ।’
कोलकाताको नवाबगञ्जमा बस्ने शिव शङ्कर पात्राको जीवन नै मेसी र अर्जेन्टिनाको वरिपरि घुम्छ । उनले आफ्नो घरलाई अर्जेन्टिनाको निलो–सेतो रङले रङ्गाएका छन् भने चिया पसलको नाम नै ‘अर्जेन्टिना टी स्टल’ राखेका छन् । मेसीको ३९औँ जन्मदिनमा उनले १८ किलोको केक काटे, स्थानीयलाई बाँडे र बालबालिकालाई अर्जेन्टिनाको जर्सी उपहार दिए ।
उनकी पत्नी सपना पात्रा हाँस्दै भन्छिन्, ‘पहिला मेरो श्रीमान् मेसीका ठुलो समर्थक मात्र थिए । तर गत वर्ष मेसीसँग भेट्ने अवसर पाएपछि अहिले त उनलाई आफ्नै भाइजस्तो सम्झन्छन् ।’ उनले अर्को रोचक कुरा पनि सुनाइन्, ‘हाम्रो छोरी पनि मेसीकी उत्तिकै ठुलो समर्थक हुन् । उनले आफ्नै छोराको नाम ‘लियो’ राखेकी छन् । कहिलेकाहीँ उनी मलाई सोध्छिन्— मलाई नृत्य विद्यालयमा किन पठाउनुभयो, फुटबल खेल्न किन पठाउनुभएन ?’
कोलकाताको फुटबल संस्कृति भने आजको होइन । १९औँ शताब्दीदेखि मोहन बागान, इस्ट बंगाल र मोहम्मडन स्पोर्टिङजस्ता क्लबहरूले यहाँ फुटबललाई जीवनशैली बनाएका छन् । साहित्य, कला र सामाजिक जीवनसँग फुटबल यति गहिरोसँग जोडिएको छ कि यहाँ समर्थक हुनु आफैंमा एउटा पहिचान हो ।
फुटबल विश्लेषक देबाञ्जन बनर्जीका अनुसार कोलकाताको फुटबल संस्कृतिलाई मोहन बागान र इस्ट बंगालबीचको शताब्दी पुरानो प्रतिस्पर्धाले विशेष बनाएको छ । ‘भारतका अन्य भागमा पनि फुटबल लोकप्रिय छ । तर कोलकातामा दुई ठूला क्लबबिचको प्रतिस्पर्धाले समर्थकलाई खेल बुझ्ने अलग बौद्धिक क्षमता दिएको छ । यहाँ फुटबल वर्षभरि गम्भीर बहसको विषय बन्छ र पुस्तादेखि पुस्तासम्म सम्बन्ध जोड्ने माध्यम पनि हो,’ उनी भन्छन् ।
एक समय कोलकाता ब्राजिल र पेलेको प्रभावमा थियो । तर सन् १९८६ मा डिएगो म्याराडोनाको जादुमय प्रदर्शनले अर्जेन्टिनाप्रतिको मोह सुरु गरायो । त्यसलाई मेसीले अझ उचाइमा पुर्याए । विशेषगरी २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएपछि नयाँ पुस्ताका अधिकांश समर्थक मेसी र अर्जेन्टिनातर्फ आकर्षित भएका छन् ।
यद्यपि पुरानो ब्राजिली परम्परा पूर्ण रूपमा समाप्त भएको छैन । पार्क स्ट्रिटमा काम गर्ने ३४ वर्षीय ब्राजिल समर्थक सुधांशु सिंह भन्छन्, ‘नेयमारबिना ब्राजिल उस्तै टोली रहेन । तर टोली जुनसुकै होस्, फुटबल हेर्नुभन्दा खेल्न पाउँदा अझ बढी आनन्द लाग्छ ।’
२०२६ विश्वकपले फेरि प्रमाणित गरेको छ कि भारत विश्वकपमा खेल्न नसके पनि कोलकाताको मुटु भने विश्व फुटबलसँगै धड्किन्छ । यहाँ मेसी केवल एउटा खेलाडी होइनन्, एउटा भावना, एउटा पुस्ताको सपना र फुटबल संस्कृतिको प्रतीक बनेका छन् । त्यसैले विश्वकप आउँदा कोलकाता केवल एउटा भारतीय सहर रहँदैन, अर्जेन्टिनाको अर्को कुनै टोलमा रूपान्तरण हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण