शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अभिभावकका केही कुराले बच्चाको मनमा नराम्रो छाप पार्न सक्छ, के हुन् ती कुरा ?

मङ्गलबार, २३ असोज २०८०, १५ : ०६
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ ।  अभिभावकको भूमिका निकै मुस्किल मानिन्छ । बच्चालाई प्रेम गर्दै, अनुशासन सिकाउँदै अन्य विभिन्न कुरामा अभिभावकले ध्यान दिनुपर्ने हुन्छ ।

त्यसो त, अभिभावकले आसपासको माहोलको गलत प्रभाव आफ्ना बालबालिकामा नपरोस् भन्ने कुरामा ध्यान दिने गरेकै हुन्छन् । तर पनि कहिलेकाहीँ अभिभावक आफैँले नजानिँदो गरी केही गल्ती गर्छन्, जसको नराम्रो प्रभाव बालबालिकाको मानसिक स्वास्थ्यमा पर्न जान्छ ।

अभिभावक कहिलेकाहीँ विभिन्न कारणले रिसाएको वा दिक्क मानेको पनि हुन सक्छ । तर यस्तो अवस्थामा पनि केही कुरा आफ्ना बालबालिकासामु प्रकट हुन दिनु हुँदैन । किनकि बालबालिकाको मनमा त्यस्ता कुरा गहिरो छाप बनेर बस्न सक्छ र भविष्यमा त्यसले ठुलो असर पार्न सक्छ ।

‘तिमीलाई केही थाहा छैन’

तपाईं आफ्नो बालबालिकाको सोचलाई प्रोत्साहन गर्न चाहनुहुन्छ भने उनीहरुलाई आफ्नो राय प्रकट गर्न दिनुहोस् । जुन बच्चालाई आफ्नो सोच प्रकट गर्न र अरुका सामुन्ने आफ्नो राय प्रकट गर्ने मौका मिल्छ, उनीहरुमा आत्मविश्वास बढ्छ ।

‘तिमीलाई केही थाहा छैन’ वा ‘तिमीले भनेको केही पनि बुझ्न सकिनँ’ भन्नेजस्ता तपाईंका प्रतिक्रियाले बच्चाहरु हतोत्साही हुन सक्छन् । जसले गर्दा उनीहरु आफ्नो कुराको अर्थ नरहने महसुस गर्न थाल्छन् ।

‘तिमी रुन्छौ’

अभिभावकहरु आफ्ना बच्चा सानोतिनो कुरामा रुन थालेको खण्डमा ‘रुन्चे’ भनेर पनि टिप्पणी गर्दछन् । त्यसो त, आफ्नो बच्चाको मन दुखाउनका लागि भनेर उनीहरुले त्यसो भनेका हुँदैनन् । तर तपाईको यस्तो टिप्पणीले उनीहरुको भावनाको सम्मान नगरेको सन्देश दिन्छ ।

बच्चा जब कुनै मुस्किलमा छ भने उसलाई आफ्नो समस्याको बारेमा भन्न सक्ने माहोल बनाइदिनुपर्छ । तपाईं आफ्नो बच्चाको भावनाको सम्मान गर्नुहुन्छ भन्ने भरोसा दिलाउनु अभिभावकको कर्तव्य हो । यसो भएको खण्डमा बच्चाले आफ्नो हरेक समस्या अभिभावकलाई भन्ने गर्दछन् । अभिभावकले यो बुझ्नु पर्दछ कि जब भन्नका लागि शब्दको अभाव भयो भने बच्चाहरु आफ्नो भावना व्यक्त गर्नका लागि रुने गर्दछन् ।

‘तिमी आफ्नो दाजु/भाइ वा दिदी/बहिनीजस्तो बन्न सक्दैनौ’

यो यस्तो वाक्य हो जसले कुनै पनि बच्चालाई चोट पुर्‍याउँछ । जसले गर्दा उनीहरुको मानसिक स्वास्थ्यमा समेत असर गर्न सक्छ । तपाईले आफ्नो कुनै बच्चाको तुलना उसको दाजु/भाइ वा दिदी/बहिनी अथवा उसका कुनै साथीसँग गर्नुभयो भने उसलाई साह्रै नराम्रो लाग्छ । यहाँसम्म कि, तपाईंको रोजाइमा आफू नपरेको ठानेर गुम्सिन्छन् । आमाबुबाले आफ्नो कुनै पनि सन्तानबिच भेदभाव वा तुलना नगरी उनीहरुलाई सही बाटो देखाउनु पर्छ ।

‘म ठुलो हुँ, म सही छु’

बच्चाको तुलनामा तपाईंले दुनियाँलाई धेरै देख्नुभएको छ, राम्रो र नराम्रोको सुझबुझ पनि तपाईंमा बढी हुन्छ तर तपाईं उसको अभिभावक भएकै कारण हमेसा सही नहुन पनि सक्नुहुन्छ । त्यसैले बच्चालाई ‘तिमीभन्दा म ठुलो हुँ, म नै सही छु’ भन्नु हुँदैन । यस्ता कुराले बच्चालाई तपाईंसँग उसले कुनै कुरा भनिरहन जरुरी नरहेको सन्देश दिन्छ । आफूले भनेको कुराको कुनै महत्त्व नै रहँदैन भनेर उनीहरु टाढिन खोज्छन् । आमाबुबा नै हमेसा सही हुने रहेछन्, बच्चा त हमेशा गलत हुन्छन् भन्ने सन्देश दिनेगरी त्यस्ता कुरा बच्चासँग गर्नु हुँदैन ।

‘छोरीले यस्तो गर्नु हुँदैन’

कयौँ अभिभावक अहिले पनि छोरा र छोरीमा भेदभाव गर्दछन् । तर लिङ्गका आधारमा यसरी भेदभाव गर्नु राम्रो होइन । उनीहरुको क्षमतालाई लिङ्गको आधारमा कम आँक्नु हुँदैन । छोरीले यस्तो गर्नु हुँदैन वा छोरीले यस्तो गर्न सक्दैनन् भनेर कहिल्यै आफ्नो छोरीलाई हतोत्साही बनाउनु हुँदैन । यस्ता कुराले उनीहरुमा आत्मविश्वास घटाउँछ ।

‘यस्तो खाना नखाऊ, मोटो भइन्छ’

बच्चालाई जङ्क फुड निकै मन पर्छ तर यस्ता खानेकुरा स्वास्थ्यका लागि राम्रो मानिँदैन । यही कुरा तपार्ईं आफ्नो बच्चालाई सम्झाउन चाहनुहुन्छ र तपाईंले आफ्नो शब्दमा ध्यान दिनुभएन भने त्यसले गलत सन्देश दिन सक्छ ।

‘जङ्क फुड नखाऊ, मोछो हुन्छौ’ भनेर तपाईंले भन्नुभयो भने उनीहरु आफ्नो शारीरिक अवस्थाप्रति बढी केन्द्रित हुन थाल्छन् । बरु जङ्क फुडले स्वास्थ्यमा पार्ने असरबारे तपाईंले भन्नुभयो भने उनीहरु आफ्नो स्वास्थ्यप्रति जागरुक हुन सक्छन् ।

नवभारत टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप