मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश सरकार

कोशीमा माओवादीलाई नेतृत्व छाड्ने कांग्रेसको सङ्केत

माओवादी आए सघाउन सजिलो हुने प्रधानमन्त्रीलाई राप्रपाको जवाफ
बिहीबार, २५ असोज २०८०, १२ : ३१
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले कोशी प्रदेशको नेतृत्व माओवादी केन्द्रलाई छोड्ने सङ्केत गरेको छ । कोशी प्रदेशको नेतृत्वका लागि पार्टीभित्र लफडा हुने देखेपछि सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रलाई छाड्ने सङ्केत गरेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् ।

सभापति देउवा र नेता कृष्णप्रसाद सिटौला माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिन्छन् । दलको नेता बाहेकलाई मुख्यमन्त्री बनाउन देउवा तयार नभएपछि माओवादीले मुख्यमन्त्री पाउने परिस्थिति बनेको कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई बताए ।

गठबन्धन सरकारमा मधेस प्रदेशको नेतृत्व जसपाले गरेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार छ । बागमती र कर्णालीमा सरकारको नेतृत्व गरेको माओवादीले अब कोशीमा पनि मुख्यमन्त्री पाउने भएको हो । ती पदाधिकारी अनुसार बिहीबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकमा माओवादीले मुख्यमन्त्री पाउने गरी कोशी प्रदेशबारे निर्णय हुनेछ । ‘कोशी प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने गरी परिस्थिति अगाडि बढेको छ । बैठकबाट पनि त्यही खालको निर्देशन दलका नेताहरूलाई जान्छ,’ उनी भन्छन् ।

‘अस्ति राजेन्द्र लिङ्देनजीले पनि माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्दा सहकार्यका लागि सजिलो हुन्छ भन्ने कुरा गर्नुभएछ ।’

सभापति देउवाले कोशी प्रदेशबारे समन्वय गर्न जिम्मेवारी दिएका नेता ज्ञानेन्द्र कार्कीले पनि प्रदेशलाई मध्यावधिमा जान नदिन कांग्रेस उदार रहेको बताए । उनले भने, ‘कांग्रेसको दाबी छ । तर, प्रदेशलाई मध्यावधितिर धकेल्नु हुँदैन । यो गठबन्धन निरन्तर जानुपर्छ,’ उनी भन्छन्, ‘अहिलेको सबै परिस्थितिलाई विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्ने कुरामा कांग्रेस उदार छ ।’

गठबन्धनकै नेतृत्वमा सरकार बनाएर जाने भन्दै माओवादीले मुख्यमन्त्री पाउने कार्कीले सङ्केत गरे । ‘गठबन्धनको सबैभन्दा ठुलो दल भएकाले सरकार बनाउन कांग्रेस उदार पनि छ ,’ उनी भन्छन्, ‘गठबन्धनको स्थायित्व कांग्रेसको पहिलो प्राथमिकता हो ।’

कोशी प्रदेशमा सरकार बनाउनु मात्र ठूलो कुरा नभएको भन्दै विकास र समृद्धि साथमा लिएर जानुपर्ने कार्कीको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिएपछि कांग्रेसले दाबी छाडेको कांग्रेसका नेताहरु बताउँछन् ।

‘अस्ति राजेन्द्र लिङ्देनजीले माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्दा सहकार्यका लागि सजिलो हुन्छ भन्ने कुरा गर्नुभएछ । अहिलेलाई माओवादीलाई छाड्नुपर्ने परिस्थिति बन्यो,’ देउवा निकट स्रोतले भन्यो ।

कोशी प्रदेशमा समर्थन दिनुपर्ने सर्तमा माओवादी केन्द्रले अन्तिममा संघीय संसद्को विकास समितिको नेतृत्व राप्रपालाई दिएको थियो । त्यसले पनि राप्रपाको माओवादीप्रति बढी झुकाव देखिएको कांग्रेस नेताहरूको बुझाइ छ । कोशी सरकारबारे निर्णय गर्न राप्रपाले भोलि पार्टीको औपचारिक बैठक नै बोलाएको छ ।

अहिलेसम्मको परिस्थिति हेर्दा माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारको नेतृत्व परिस्थिति बनेको देखिन्छ । तर, माओवादी केन्द्रले मुख्यमन्त्रीमा अगाडि सार्ने पात्रबारे टुङ्गो लगाएको छैन ।

माओवादीमा दलका नेता इन्द्रबहादुर आङ्बो, निवर्तमान उपसभामुख बाबुराम गौतम र सांसद दुर्गाप्रसाद चापागाईँ मुख्यमन्त्रीका आकाङ्क्षी देखिएका छन् । उनीहरू मध्यबाटै माओवादीले एक जनालाई अगाडि बढाउने नेताहरू बताउँछन् ।

यता कांग्रेस नेता शेखर कोइरालाले भने केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान छोडेका छैनन् । कोशी प्रदेशको नेतृत्व माओवादी केन्द्रलाई  छाडिए एमालेसँग मिलेर कार्कीलाई मुख्यमन्त्रीमा अगाडि बढाउने कोइरालाको चेतावनी छ ।

कोइरालानिकट स्रोतका मुख्यमन्त्रीमा कार्की अगाडि आए एमाले समर्थन गर्न सकारात्मक छ । कार्कीलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्दा राप्रपाले पनि सहजै समर्थन गर्ने कोइराला पक्षको दाबी छ । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । ती २९ मध्ये देउवा समूहका सांसद १९ र कोइराला समूहका १० जना छन् ।

कोशी प्रदेशमा कांग्रेसको कोइराला समूह र एमाले मिल्दा सरकार बन्ने सम्भावना देखिन्छ । एमालेसँग (उपसभामुख बाहेक) ३९ सांसद छन् । कोइराला पक्षका १० जना सांसद विद्रोह गर्न तयार भए एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बन्ने सम्भावना छ ।

यद्यपि कांग्रेस संस्थापन इतरमै महामन्त्री गगन थापा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन नहुने पक्षमा छन् । कार्कीले पछिल्लो समय महामन्त्री थापाविरुद्ध चर्को भाषण गर्दै आएका थिए । कोशी प्रदेशमा महामन्त्री थापासँग दुई जना सांसद छन् । त्यसो हुँदा केदारलाई साथ दिने सांसदको सङ्ख्या ८ मात्र हुने छ ।

‘उपधारा ५ अनुसार सांसदलाई ह्विप लाग्दैन भन्ने नजिर बसेको छ । शेरबहादुर दाइलाई प्रधानमन्त्री बनाउँदा समर्थन गरेका माधव नेपाल पक्षका सांसदलाई कारबाही भएन । केन्द्रका नेताहरूले भने मान्नुपर्छ भन्ने छैन,’ एक नेताले भने ।

कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले भने फ्लोरक्रसको पक्षमा दुई–तीन जना मात्र देखिएको बताए । ‘संविधानमा उपधारा ५ काे सरकार बनाउन फ्लोरक्रस गर्ने छुट छ भन्दैमा पार्टीबाट कारबाही नहुने भन्ने हुँदैन । तर, साथीहरु फ्लोरक्रस गर्छन् जस्तो लाग्दैन,’ पराजुलीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप