नेपालमा मल कारखाना खोल्न भारतको चासो
काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा मलेसियन कम्पनी रि–निकोला प्रा.लिले लगानी बोर्डसँग सम्झौता गरेसँगै भारतले पनि यसबारे चासो लिन थालेको छ । असोज १० गते बोर्ड र रि–निकोलाबीच सम्झौता भएको हो ।
यसैबिच भारतको रसायन तथा मल मन्त्रालयका प्रतिनिधि आएर नेपालका विभिन्न पक्षसँग छलफल गरेर फर्केका छन् । असोज २४ गते नेपाल आएका उनीहरू कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्लगायत मलसँग सम्बन्धित अन्य सरोकारवालासँग छलफल गरेका छन् ।
नेपालमा कति मल खपत हुन्छन्, कति उत्पादन गर्ने, यहाँ उत्पादित मल भारत निर्यात गर्न सकिन्छ कि सकिँदैन, कारखाना स्थापना गर्ने ठाउँ लगायतका विषयमा उनीहरूले छलफल गरेको बताइएको छ । कृषि मन्त्रालयका एक जना सहसचिवका अनुसार भारतले नेपाल–भारतको सीमा क्षेत्रमा कारखाना खोल्ने चासो देखाएका छन् ।
तराई–मधेस खासगरी मधेस प्रदेशमा सबभन्दा बढी मल खपत हुन्छ । यसको साथै त्यहाँ समथर भूभाग भएका कारणले त्यहाँ कारखाना खोल्न सजिलो हुने र त्यहाँबाट भारत निर्यात गर्न पनि सजिलो हुने भएकाले तराई मधेसमा कारखाना खोल्न चासो लिएको ती अधिकारीले रातोपाटीलाई बताए ।
उत्पादन गरिएको मल नेपालमा खपत गर्न सकिएन भने अन्य देशमा निर्यात गर्ने सम्भावना कति रहेको छ त्यसको बारेमा पनि उनीहरूले चासो लिएका थिए । नेपालमा मल कारखाना खोल्न सके देशभित्र मात्र नभएर बिहार तथा झरखाण्ड राज्यमा पनि यतैबाट मल पठाउने उनीहरूले योजना बनाएको उनको भनाई छ ।
तर यस विषयमा बारेमा नेपाल पक्ष सहमत हुनुपर्ने देखिएको कृषि मन्त्रालयका ती अधिकारीले बताए । मल कारखाना खोल्ने विषयमा दुवै देशले एउटा संयुक्त कार्यदल बनाउने पनि सहमति गरेका छन् । केही दिनमै कार्यदल बनाएर मल कारखाना खोल्ने विषयलाई तीव्र ढङ्गले अगाडि बढाउने कृषि मन्त्रालयले जनाएको छ ।
नेपालमा ग्यासबाट मल उत्पादन गर्ने सम्भावना रहेको छ । तर, सो ग्यास भारतबाट नै ल्याउनुपर्ने हुन्छ । त्यो कसरी ल्याउने त्यसको बारेमा पनि भारत पक्षले छलफल गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भनेका थिए, ‘नेपालसँग आपसी सहकार्यका लागि हामी तयार छौँ, व्यापार पूर्वाधार, पेट्रोलियम पाइपलाइन र नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि आवश्यक सहयोग गर्न भारत तयार छ ।’ सो प्रतिबद्धता अनुसार भारतले प्रक्रिया सुरु गरेको छ ।
यसअघि पनि भारतीय कम्पनीसँग मल कारखाना खोल्ने विषयमा सम्झौता भएको थियो । २०७१ भदौ १८ गते लगानी बोर्डले युरिया मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न आशयपत्र माग गर्दै सूचना प्रकाशित गरेको थियो । त्यसमा चार वटा देशले प्रस्ताव हालेका थिए ।
त्यसमध्ये बोर्डले भारतीय कम्पनी इन्फ्रास्टक्चर डेभलपमेन्ट कर्पोरेसन (आइडेक) कर्नाटकलाई छनोट गरेको थियो । मल कारखाना स्थापनासँग सम्बन्धित प्राविधिक तथा आर्थिक र वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आइडेकसँग २०७२ पुसमा सम्झौता भएको थियो । तर हालसम्म अध्ययन प्रतिवेदन बुझाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण