शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सडकको दुरावस्था

बुटवल–नारायणगढ सडक : दसैँमा पनि यात्रुलाई सास्ती

बिहीबार, ०२ कात्तिक २०८०, १० : ५७
बिहीबार, ०२ कात्तिक २०८०

बुटवल । गुल्मीको धुर्कोट घर भएका रमेश भण्डारी मंगबार साँझ काठमाडौँबाट दसैँका लागि घर आउँदै थिए । काठमाडौँबाट बुटवल आउन उनलाई १५ घण्टा समय लाग्यो । बुधबार दिउँसो बुटवलको बसपार्कमा भेटिएका भण्डारी नारायणगढ–बुटवल सडक निर्माणका क्रममा खाल्टाखुल्टी, ठाउँठाउँमा बनाइएको ‘वान वे’जस्ता कारणले यात्रामा ढिला भएको बताउँछन् ।

सामान्यतः काठमाडौँबाट ६÷८ घण्टामा बुटवल आउने यात्रु अहिले १५ घण्टासम्म लगाएर यात्रा गर्न बाध्य छन् । काठमाडौँको आर.आर. क्याम्पस पढ्ने भण्डारीले दसैँमा घरमा आउँदा बुटवल–नारायणगढ सडकमा खाल्टाखुल्टीका कारण शरीरका विभिन्न भाग दुखेको रातोपाटीलाई बताए । उनलाई बुटवलबाट गुल्मी जान अझै ५ घण्टा लाग्छ ।

बुटवल–नारायणगढ सडक निर्माण समयमा नहुँदा यात्रीले सास्ती व्यहोर्नु परेको हो । दुम्कीबासमा सडक छेउछाउमा गिट्टी र बालुवा तथा पर्खाल उठाउने कार्य भइरहेकोले गाडी पास गर्न कठिन भएको बुटवल–काठमाडौँ चल्ने लु१ख १६८६ नम्बरको बसका चालक भोजराज आचार्यले रातोपाटीलाई बताए ।

उनले बुटवल–काठमाडौँ रुटमा गाडी चलाउन थालेको ६ वर्ष भयो । उनलाई बुटवल–नारायणगढ सडकको दुरावस्थाले कहिलेकाहीँ दिक्क बनाउँछ । बर्खा लगिसकेपछि ठाउँठाउँमा पहिरोको समस्या त छँदैछ, त्यसमाथि निर्माणाधीन सडक समयमै नबन्दा सास्ती खेप्नुपरेको छ । उनलाई अहिले दुम्कीबास क्षेत्रको यात्रा सबैभन्दा झन्झटिलो लाग्ने गरेको छ ।

4

चालक आचार्यले काठमाडौँबाट बुटवल आउनेभन्दा अझै महेन्द्रनगर, धनगढी चल्ने लामो दुरीका चालकलाई बढी समस्या हुने गरेको बताए । उनले भने, ‘हामीलाई नै १५ घण्टा लाग्ने भयो अझै धनगढी, महेन्द्रनगर, सुर्खेत जानेहरु झन् समस्यामा छन् ।’

निर्माणाधीन अवस्थामा रहेको बुटवल–नारायणगढ सडकखण्डमा सवारी गुड्न त्यति सहज छैन ।

चालक आचार्यजस्तै भैरहवादेखि काठमाडौँ गाडी चलाउँदै आएका नारायण खनालले पनि सडकको अवस्थाले गर्दा हैरानी खेप्नुपरेको बताए । ‘ठाउँ ठाउँमा खाल्टाखुल्टी छ । प्यासेन्जरहरू उफ्रियो, ढिला भयो भनेर रिसाउनुहुन्छ,’ उनले भने, ‘सडक साँघुरो छ । त्यहीमाथि धुलो र हिलो, हैरानी छ नि हजुर । नयाँ गाडी बिग्रिसक्यो ।’

नारायणबाट–बुटवल सडकबाट दिनमा हजारौँ निजी तथा भाडााका सवारी साधन गुड्ने गर्दछन् । यही राजमार्ग हुँदै राजधानी तथा पूर्व पश्चिम क्षेत्रमा यात्रुहरू हिँड्नुपर्ने बाध्यता छ ।

दुर्घटनाको त्रास पनि उस्तै

यही असोज ४ गते बुटवल–नारायणगढ खण्डमा पर्ने बर्दघाटमा हाइस, ट्रक र माइक्रो बस एकै पटक दुर्घटना भए । एकतर्फी बाटो भएका कारणले हाईस र ट्रक ठोक्किँदा त्यसको असर माइक्रो बसलाई पनि परेको थियो । उक्त दुर्घटनामा मानवीय क्षति नभए पनि सवारी साधनमा क्षति पुगेको छ ।

3

असोज ७ गते नवलपरासीको ज्यामिरेमा सडकका कारणले नै लु१ख ७६४३ नम्बरको बस पल्टियो । साँघुरो सडकमा निर्माण सामग्री राखिएको थियो । अर्को सवारीलाई साइड दिँदा बस दुर्घटना भएको पश्चिम नेपाल बस प्रालिका सञ्चालक समिति सदस्य एवं दुर्घटना एकाइ संयोजक नारायण घिमिरे रातोपाटीलाई बताए ।

उनले निर्माणाधीन सडकका कारणले असोज १ गते सुनौलामा लु१ख ५४२१ नम्बरको बस र भदौ २१ गते खैरेनीमा लु१ख ९९६५ नम्बरको बस दुर्घटना भएको बताए ।

घिमिरेले भने, ‘पछिल्ला दिन यहाँ सडकका कारणले धेरै दुर्घटना भएको हामीले महसुस गरेका छौँ ।’ यहाँ निर्माण सामग्री, ठाउँठाउँमा पर्खाल लगाउँदा साइड दिन अप्ठ्यारो, खाल्टाखुल्टी आदि कारण दुर्घटना हुने गरेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख एसपी कृष्ण पछाईले दाउन्ने तथा दुम्कीबासलगायत ठाउँमा सडक त्यसै पनि अप्ठ्यारो र अहिले निर्माणाधीन हुँदा दुर्घटना हुने गरेको बताए ।

सडककै कारण गाडी बिग्रिन थाले

6

बुटवल–नारायणगढ सडक विस्तार गर्न थालेपछि यहाँ यात्रु, चालक सबैले दुःख पाएका छन् भने गाडी धनीहरूले सडकका कारण आफ्ना गाडी धेरै बिग्रिएको गुनासो गर्दछन् । यो रुटमा गाडीको टायरदेखि अन्य पार्टपुर्जा छिटो छिटो बिग्रने गरेको पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेलले रातोपाटीलाई बताए । उनले भने, ‘सडकको कारण गाडी खर्च ५० प्रतिशत वृद्धि भएको छ, महँगो तेल, पार्टपुर्जा उस्तै बिग्रने गरेका छन्, जसले गर्दा हामी मारमा छौँ ।’

उनले २ घण्टामा सरर जाने ठाउँमा ५÷६ घण्टा समय लाग्दा त्यसै तेल धेरै खाने र  पार्टपुर्जा टिकाउन पनि गाह्रो हुने गरेको सुनाए ।

२०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्ड विस्तार आयोजनाको काम अगाडि बढेको हो । ११४ किलोमिटर सडक साढे ३ वर्षमा निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो । तर समयमा निर्माण पूरा नभएपछि म्याद थपेर काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप