आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कारबाहीमा परेका नेता–कार्यकर्ताप्रति एमालेको ‘उदार’ नीति

बिहीबार, ०२ कात्तिक २०८०, २३ : १५
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । विभिन्न समय र प्रकरणमा कारबाहीमा परेका नेता तथा कार्यकर्ताप्रति नेकपा एमालेले उदार नीति लिने भएको छ । नेकपा एमाले संगठन विभागको हालै सम्पन्न बैठकले सम्बन्धित पार्टी कमिटीको कारबाहीमा परेका तर कमजोरी स्वीकार गर्दै लिखित आत्मालोचना गरे पार्टीमा उपयुक्त जिम्मेवारी दिने निर्णय भएको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए ।

‘विभिन्न कारणले सम्बन्धित कमिटीको कारबाहीमा परेका तर आफ्नो कमजोरी आत्मसात् गरी लिखित आत्मालोचना गरेका र व्यवहारबाट विश्वास जितेका कमरेडहरूलाई उपयुक्त जिम्मेवारी दिएर परिचालन गर्न उदारता अपनाउन निर्देशन गर्ने निर्णय गरिएको छ’, अधिकारीले बैठकको निर्णय उद्धृत गर्दै रातोपाटीसँग भने, ‘आत्मालोचना गर्नेलाई पार्टीले पुनः अवसर दिन्छ भन्ने यसको सन्देश हो ।’

खासगरी एमालेले गत २०७९ को निर्वाचनमा अन्तर्घात गर्ने तथा बागी–विद्रोही उम्मेदवारी दिनेलाई कारबाही गरेको थियो । तर कति सदस्यलाई कारबाही भएको छ भन्ने विवरण एमालेले गोप्य नै राखेको छ । अनुशासन विभाग प्रमुख केशव बडालले कारबाहीको विषय आन्तरिक कुरा भएकाले सार्वजनिक गर्न नमिल्ने बताए ।

‘यो हाम्रो आन्तरिक कुरा हो । त्यो पनि टेलिफोनमा बताउन मिल्दैन’, बडालले रातोपाटीको प्रश्नमा भने, ‘पछि कुरा गरौँला ।’ एमालेले एक ठाउँबाट अर्को ठाउँमा पार्टी सदस्यता स्थानान्तरण गर्ने बाटो पनि खुला गरेको छ । गत साउनदेखि एमालेमा सदस्यता स्थानान्तरण कार्यक्रम बन्द थियो । ‘कुनै पनि सदस्यले आफ्नो सदस्यता स्थानान्तरण गर्न चाहे सम्बन्धित जिल्लाको अधिवेशन मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न सक्ने निर्णय गरेको छ’, संगठन विभागका सचिव माधव ढुंगेलले भने ।

एमालेको पछिल्लो तथ्याङ्क अनुसार हाल साढे पाँच लाख प्रमाणित पार्टी सदस्य छन् । आगामी १ वर्षमा साढे सात लाख कार्यकर्ता पुग्ने एमाले नेताहरुको भनाइ छ ।

‘२०८० मा पाँच लाख सदस्यता बनाउने टार्गेट थियो, त्यो पूरा भयो’, सचिव ढुंगेलले रातोपाटीसँग भने, ‘यो संख्या भारत–प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यहरू बाहेक देशभित्रका सदस्यहरूमात्रै हो ।’

असोज महिनामा प्रदेश अधिवेशन सम्पन्न गरेको एमालेले जिल्ला र पालिका तहका पार्टी अधिवेशन प्राथमिकतामा राखेको छ । एमालेले आगामी माघसम्म जिल्ला र पालिका अधिवेशन सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन र २०८० चैतमा सदस्यता नवीकरण अभियान सँगसँगै वडा तथा टोल तहका पार्टी अधिवेशन सम्पन्न गर्नेगरी मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ ।

केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गरिएका नवीकृत सदस्यहरूको सूचीमा रहेका पार्टी सदस्यहरूले मात्र स्थानीय पार्टी अधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ । पार्टी आबद्ध जनसंगठनहरूको प्रदेश तथा जिल्ला अधिवेशनहरू आगामी मंसिरभित्र गरिसक्ने एमालेले जनाएको छ ।

असोज ३० मा बसेको संगठन विभागको बैठकले गरेको निर्णयहरुलाई एकीकृत गर्दै पार्टी मातहत सर्कुलर पठाउने एमालेले जनाएको छ । ‘मिसन–८४ अभियान’ चलाएको एमालेले ०८४ को निर्वाचनमा एक्लै ५१ प्रतिशत मत ल्याउने दाबी गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप